बाढी पहिरो पिडित भेटघाट तथा राहतका लागि सरोकारवालाहरुको टोली नौगाडमा

0
779

दार्चुला, असार २५ गते ।

बुधबार राती आएको बाढी पहिरोका कारण नौगाड गाउँपालिका वडा नं ३ मा जनधनको ब्यापक क्षती भएको छ ।

बाढीले वितण्डमा मच्चाएको नौगाडको उक्त क्षेत्रमा  जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशी लगायतको टोलीले शुक्रबार बाढी पहिरो पिडितहरु संग भेटघाट तथा राहत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाबाट प्राप्त कम्बल लगायतका सामग्री पिडितहरुलाई वितरण गरिएको दार्चुलाका प्रहरी प्रबत्ता एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो । मृतक परिवारका सदस्यहरुलाई उक्त सामग्री राहत स्वरुप वितरण गरिएको उहाँको भनाई छ ।
साथै जिल्लाबाट गएको सरोकारवालाहरुको टोलीले पहिरो खसेको क्षेत्र तथा बाढी पहिरोले गरेको क्षतीबारे अनुगमन गरेको छ ।
बुधबार राती आएको बाढी पहिरोका कारण नौगाड गाउँपालिका ३ चौखुट्टे बस्तीमा माथीबाट पहिरो खस्दा स्थानिय ७२ वर्षीय गेउडी ठगुन्ना, मृतककी ३ महिने नातिनी मन्जरी ठगुन्ना र वर्ष २९ का लक्ष्मण सिंह सितोलीको मृत्यु भएको थियो । बाढी पहिरोले जामिर बगडमा नदी थुनिएको छ । नदी थुनिदा जामिर बगडमा ड्याम भएको स्थानिय पत्रकार अर्जुन सिह ठगुन्नाले जानकारी दिनुभएको छ । बाढीपहिरोले ३२ किलोवाट क्षमताको खार खोला लघुजलविद्युत आयोजनामा समेत क्षती गरेको छ । जामिरबाट नौगाड गाउँपालिकाको केन्द्र तथा खार क्षेत्र जोड्ने झोलुङ्गे पुल बाढीले बगाउदाँ जामिरका स्थानियहरुलाई सिप्टीबाट गाउँपालिकाको केन्द्र तथा खार क्षेत्रमा आवत जावत गर्नुपरिरहेको उहाँको भनाई छ । बुधबार राती आएको बाढी पहिरोले नौगाडमा विभिन्न काठेपुलहरु बगाउनुका साथै विभिन्न खानेपानीका योजनाहरुमा समेत क्षती पुगाउदा प्रमावित क्षेत्रमा खानेपानी अवरुद्ध भएको छ ।
टोलीमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, शसस्त्र प्रहरी बल नम्बर ४४ गण खलंगाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बहादुर बम, नेपाली सेनाका गुल्मपति सेनानी ओम बिक्रम वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, रेडक्रस दार्चुलाका प्रमुख तथा प्रतिनिधि, नौगाड गाउँपालिकाका जनप्रतिनिधी लगायत रहेका थिए ।