दार्चुला, बैशाख २९ गते ।
भारतको धार्चुलाका विधायक हरिस धामीले कोरोना विरुद्ध लडाईका लागि आफ्नो विधान सभा क्षेत्रमा २ करोड बजेट खर्च घोषणा गरेका छन् ।
विधायक निधि मार्फत प्राप्त हुने बजेट खर्च गर्नका लागि विधायक धामीले सामाजिक सञ्जाल मार्फत आम जनतासंग सुझाव मागेका थिए । जनताको सुझावका आधारमा वित्तिय बर्ष सन् २०२१–२२ मा विधायक निधिमा आएको २ करोड बजेट आफुले जनताको स्वास्थ्य क्षेत्रमा खर्च गर्न चाहेको उहाँको भनाई छ । जनताको सुझावका आधारमा धार्चुला र मुनस्यारीमा मिनि अक्सीजन प्लान्ट बनाउनका लागि ९० लाख र औषधी, अक्सीमिटर, मास्क, सेनिटाइजर तथा मेडिकल किटका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताएका छन् । मंगलबार जिल्ला मुख्यालय पिथौरागढमा पुगका धामीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला अधिकारी, सिएमओ लगायतका अधिकारीहरु संग समेत छलफल गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विधायक धामीले आफ्नो विधानसभा क्षेत्रका प्रत्येक ग्राम पञ्चायतहरुमा आक्सीमिटर, औषधी, मास्क, सेनिटाजर आदि कोरोना विरुद्धका सामग्रीहरु स्वास्थ्य संस्थाहरुलाई छिट्टै उपलब्ध गरिने बताएका छन् ।