बिरा दत्त भट्ट,
मंसिर २२ गते, दार्चुला ।
दार्चुलामा आईतबार राती ट्रक दुर्घटनामा परेको छ । गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बर्ष २४ का शेर सिह कार्कीको परीचय खुलेको छ भने बाकि दुई जनाको परिचय खुल्न बाहि रहेको उहाँको भनाई छ । गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो । प्रहरीले राती साढे १२ बजे तिर ट्रक खोल्सामा खसेको र क्षतविक्षत ट्रक भित्रै तीन जनाको मृत्यु भइसकेको अवस्थामा फेला पारेको थियो । प्रहरी टोलीले स्थानीय युवा क्लबको सहयोगमा विहान तीन बजे सम्म उद्धार गरि जिल्ला अस्पताल पुगाइसकेको डिएसपी विष्टको भनाई छ । “राम्रै बाटोमा ट्रक खसेको देखियो, झण्डै १२० मिटर तल खसेको छ, इन्जीनमा खराब भएको अनुमान छ” उहाँले भन्नुभयो ।
चालकको ड्राइभीङ लाइसेन्सबाट परिचय खुलेको भएपनि बाकि दुई जनाको परिचय खुल्न बाकि रहेको डिएसपी विष्टले जानकारी दिनुभयो । मृतक चालक बैतडीका न्वाले भन्ने ठाउँका हुन । प्रहरीले घटनाबारे जानकारी गराएपछि चालकको घरबाट समेत आफन्त दार्चुला पुगिसकेको उहाँको भनाई छ ।