दार्चुला, साउन १० गते ।
नेपाल विद्युत प्राधिकरणअन्तर्गत दार्चुला वितरण केन्द्रमा सात वर्षमा विद्युत महशुल संकलन तेब्बर पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा २ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको महशुल संकलन आर्थिक वर्ष २०८२–८३ मा ८ करोड १९ लाख ८७ हजार पुगेको छ ।
सातवर्षको अवधिमा २९० प्रतिशत महशुल संकलन वृद्धि भएको वितरण केन्द्र प्रमुख रोशन कुमार ठाकुरले बताउनुभयो । ‘सात वर्षको अवधिमा झण्डै तेब्बर बढी महशुल संकलन भएको छ’ उहाँले भन्नुभयो ।
वितरण केन्द्रका अनुसार हरेक वर्ष विद्युत महशुल संकलन बढ्दैआएको छ । आर्थिक वर्ष २०७७–७८ मा २८ दशमलव ४५ प्रतिशत वृद्धि भएर विद्युत महशुल ३ करोड ६४ लाख ५० हजार पुगेको अभिलेख छ ।
आर्थिक वर्ष २०७८–७९ मा विद्युत महशुल संकलन ३२ दशमलव ७३ प्रतिशत वृद्धि हुँदा ४ करोड ८३ लाख ८३ हजार पुगेको थियो । आर्थिक वर्ष २०७९–८० मा ५ करोड ३८ लाख २६ हजार, आव २०८०–८१ मा ५ करोड ७९ लाख ८० हजार र आव २०८१–८२ मा ६ करोड १२ लाख ४४ हजार रुपैयाँ महशुल संकलन गरिएको छ ।
आर्थिक वर्ष २०७९–८० मा ११ दशमलव २५ प्रतिशत, आव २०८०–८१ मा ७ दशमलव ७१ प्रतित र आव २०८१–८२ मा ५ दशमलव ३३ प्रतिशत विद्युत महशुल संकलन वृद्धि भएको तथ्याङ्क छ ।
गत आव २०८२–८३ मा सातवर्ष यताकै बढी अर्थात ३३ दशमलव ८७ प्रतिशत बढी महशुल संकलन गरिएको छ । त्यसभन्दा अघिल्ला वर्षहरु २०८१–८२ र २०८०–८१ मा भने महशुल संकलन वृद्धि १० प्रतिशतभन्दा न्युन थियो ।
दार्चुला वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०७५–७६ मा ३ करोड ६ लाख १२ हजार रुपैयाँ महशुल संकलन गरिएको थियो । आव २०७६–७७ मा अघिल्लो वर्षको तुलनामा ७ दशमलव ८१ प्रतिशत कम महशुल संकलन गरिएको थियो । आठ वर्षको अवधिमा एक वर्ष मात्रै महशुल संकलन प्रतिशत घटेको केन्द्र प्रमुख ठाकुरले बताउनुभयो ।






