दार्चुला, असार ३१ गते ।
प्रदेश गौरवको योजना रहेको खलंगा–खार सडकअन्तर्गत खलंगा–काँटै–झुस्कुमोडसम्मको साढे ८ किलोमिटर लामो सडक ६ वर्षदेखि निर्माणाधिन छ । २०७७ सालदेखि निर्माण थालिएको यो सडक २०७९ भदौंको वाढीपहिरोले क्षतिग्रस्त भएपछि हालसम्म पनि निर्माणाधिन अवस्थामै छ ।
खलंगादेखि झुस्कुमोडसम्मको साढे ८ किलोमिटर लामो सडक खण्ड कालोपत्रे गर्न २०७७ असार २२ मा सम्झौता गरिएको थियो । ग्वाल्लेक निर्माण सेवाले अधिकांश ठाउँमा सडक निर्माण गरी सडक कालोपत्रेको तयारी गरिरहेको अवस्थामा २०७९ भदौं वाढीपहिरोले सडक ठाउँ–ठाउँमा क्षतिग्रस्त भयो । त्यसपछि ३ वर्षसम्म कुनै काम हुन नसकेको यो सडकमा चालू वर्षमा मात्रै निर्माण कार्य सुचारु भएको छ ।
प्रदेश सरकारले ठेक्का सम्झौतामा भेरिएसन (थप मूल्यांकन) गरेपछि सडक निर्माणको कार्य गत मंसिरदेखि पुनः सञ्चालन गरिएको ग्वाल्लेक निर्माण सेवाका इन्जिनियर गोविन्द केसीले बताउनुभयो ।
यो सडक सदरमुकाम खलंगाबाट मार्माक्षेत्रको प्रवेशद्वार दल्लेख हुँदै नौगाड गाउँपालिकाको भूगोल जोड्छ । पहिलो चरणमा खलंगादेखि काँटै झुस्कुमोडसम्मको साढे ८ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय बैतडीले ठेक्का निकालेको थियो ।
खलंगादेखि खार, धुलिगडा, देथला, बिटुले, लटिनाथ, पारिबगर, मकरीगाड हुँदै खण्डेश्वरी जोड्नेगरी प्रदेश गौरव सडकको नाम दिइएको छ । खलंगादेखि खण्डेश्वरीसम्मको कुल सडक लम्बाई ९३ किलोमिटर पनि निर्धारण गरिएको छ । तर सुरुको विन्दुमै सडक निर्माण कार्यले गति लिएको छैन ।
खलंगा–काँटै–झुस्कुमोड खण्डको ठेक्कामा चालू आर्थिक वर्षसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय बैतडीका सुचना अधिकारी एवं इन्जिनियर नृपराज जोशीले बताउनुभयो । ‘चालू आर्थिक वर्षमा भेरिएसन भएपछि सडक निर्माण कार्य भइरहेको छ’ उहाँले भन्नुभयो ।
गत मंसिरमा भौतिक पूर्वाधार मन्त्रालयले भेरिएसन गर्दा ठेक्काको अवधि थपेर २०८३ असार २९ सम्म कायम गरिएको थियो । तर, यो अवधिसम्म निर्माण कार्य पूरा नभएपछि ठेक्काको म्याद थपिने भएको छ । ‘म्याद थपका लागि फाइल मन्त्रालयमा पुगेको छ, म्याद थप गरेर आगामी वर्ष सडक कालोपत्रे हुन्छ’ इन्जिनियर जोशीले भन्नुभयो ।
खलंगा–काँटै–झुस्कुमोडको सडक कालोपत्रे गर्न भेरिएसनसहित १९ करोड १२ लाख रुपैयाँको ठेक्का सम्झौता हो । चालू आर्थिक वर्षसम्म ५० प्रतिशत रकम खर्च गरिएको इन्जिनियर जोशीले बताउनुभयो । चालू वर्षमा मात्रै यो सडकमा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको थियो ।
सडक निर्माण कार्य हाल चालू रहेको निर्माण कम्पनीका इन्जिनियर गोविन्द केसीको भनाई छ । खलंगादेखि काँटैसम्मको क्षेत्रमा सडक निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार टेवापर्खाल निर्माण, सडक चौडा बनाउने कार्य र कल्भर्ट निर्माणको कार्य गरिएको छ ।
खलंगाको लास्कुखोलामा १५ मिटर उचाईको तारजालीसहितको टेवापर्खाल निर्माण गरी घुम्ति निर्माण गरिएको छ । लास्कुखोला किनारमा करिब एक सय मिटर लामो तारजालीसहितको टेवापर्खाल निर्माण गरिएको इन्जिनियर केसीको भनाई छ । काँटैको गराकुखोलामा ६ मिटर लामो कल्भर्ट निर्माण गरिएको छ ।
डुङरी मन्दिरक्षेत्रमा ३५ मिटर प्लम कंक्रिटसहित २५० मिटर लामो तारजालीको पर्खाल निर्माण गरिएको कम्पनीले जनाएको छ । डुङरीखोलामा पानी ह्युमपाइपबाट निकास गरिएको र ३० मिटर आरसिसि कंक्रिट कार्यमध्ये १३ मिटर निर्माण सम्पन्न भएको इन्जिनियर केसीको भनाई छ ।
सडक खन्ने र चौडा बनाउने कार्य १ किलोमिटर बाँकी रहेको छ । यसैगरी साढे ८ किलोमिटरमध्ये एक तिहाई लामो क्षेत्रमा टेवापर्खाल र भित्तातर्फ पर्खाल निर्माण बाँकी छ । सडकको नाली निर्माण कार्य पनि बाँकी छ । सडक कालोपत्रेका लागि बेस हालेपछि नाली निर्माण गरिने इन्जिनियर केसीले बताउनुभयो ।
सडक निर्माण कार्य चालू रहेको र आगामी वर्ष कालोपत्रे कार्य गरिने पूर्वाधार विकास कार्यालयको भनाई छ । आगामी वर्ष यो सडकमा ७ करोड बजेट प्रस्तावित गरिएको छ । निर्माण कम्पनीले समयमै काम गरे बजेट र सम्झौताअनुसारको रकम भुक्तानीमा कुनै समस्या नभएको सुचना अधिकारी जोशीको भनाई छ ।








