बालेन सरकारका १०० दिन ः दार्चुलामा देखिएका पाँच उपलब्धि

0
87

दार्चुला ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको १०० दिन पूरा भएको छ । हनिमुन पिरियडको उपलब्धि र कमजोरीबाट राष्ट्रियस्तरमा चर्चा र बहस पनि भइरहेको छ । दार्चुलाको भूगोलमा देखिएका पाँच महत्वपूर्ण परिवर्तन तथा उपलब्धिहरु भने यसप्रकार छन् ः
१) स्थानीय तरकारी र फलफुलले बजार पायो
बालेन सरकार गठनपछि दार्चुलाको महत्वपूर्ण परिवर्तन तथा उपलब्धि हो– स्थानीय कृषकको उत्पादनले बजार पाएको अवस्था । भारतबाट आयात गरिने तरकारी र फलफुल रोकिएपछि जिल्लाभित्रका किसानले उत्पादन गरेका तरकारी र फलफुल बिक्री भएका छन् ।
भारतबाट आयात गरिएको तरकारी र फलफुलले स्थानीय कृषि उत्पादनलाई पाखा लगाइरहेको अवस्थामा पछिल्लो सरकारी निर्णयले उल्लेख्य परिवर्तन देखिएको छ । स्थानीय उत्पादनले बजार मात्रै पाएको छैन राम्रो मूल्य पनि पाएको छ । स्थानीय केरा प्रति दर्जन १५० देखि १८० रुपैयाँमा बिक्री भइरहेको छ ।
जिल्लामै उत्पादित आलु, टमाटर, काक्रो, बैगन, लौकी, फर्सी, धनिया, रायो लगायतका तरकारले राम्रो बजार पाएको छ । स्याउ, आप, अनार लगायतका फलफुल धनगढीबाट आपूर्ति हुँदैआएको छ ।
गत जेठ २१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कृषिजन्य उपजहरु आयात सम्बन्धमा सर्कुलर गरिएको थियो । कृषि वन तथा पर्यावरण मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गरिएको निर्देशन भोलिपल्टबाटै खलंगाको नाकामा कार्यान्वयन गरिएको छ ।
नेपालमा आयात हुने कृषिजन्य उपजहरु सीमा र नाकामा रहेका क्वारेन्टाइन कार्यालयहरुबाट मात्र आयात हुने व्यवस्था कडाइका साथ लागू गर्ने, गराउने निर्देशन थियो । साथै प्रत्येक दिन क्वारेन्टाइनमार्फत आयात भएका कृषिजन्य उपजहरुको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको इमेल ठेगानामा उपलब्ध गराउने व्यवस्था गर्न पनि भनिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेठ २१ गते यस सम्बन्धि सचिवस्तरको निर्णय गरिएको थियो ।
२) कार्यालय समय परिवर्तन र कर्मचारीको अनुशासन
नयाँ सरकारले कार्यालय समय परिवर्तन गरी विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरेको छ । यसअघि आम नेपाली अभ्यस्त रहेको विहान १० बजेदेखि कार्यालय खुल्ने अवस्थामा परिवर्तन आयो । सरकारले गरेको समय परिवर्तन अहिले सबै कार्यालयमा कडाइका साथ पालना भइरहेको छ । विहान ९ बज्नुअघि नै कर्मचारीको कार्यालयमा उपस्थिति देखिन्छ । अपरान्ह ५ बजेसम्म नै कर्मचारीहरुको उपस्थिति कार्यालयमा देखिन्छ ।
बालेन सरकार कर्मचारी ट्रेड युनियनहरुप्रति कठोर भएकोले कर्मचारीवर्गमा एकप्रकारको दबाव छ । कोहीकसैले सेवाप्रवाहबारे माथिल्लो स्तरमा गुनासो गर्नसक्ने र आफुलाई प्रश्न आउनसक्ने डरले कर्मचारी सक्रिय र जिम्मेवार देखिन्छन् । कार्यालय समयको पालना, पोशाक र दैनिक कार्य जिम्मेवारी वहन जस्ता क्षेत्रमा कर्मचारीहरु जिम्मेवार देखिन्छन् ।
धेरैजसो कार्यालयहरुमा विद्युतिय हाजिरी लागू गरिएको, सिसिक्यामेरा जडान गरिएको र कार्यालयमा लगबुक राख्ने गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी बताउँछन् । कार्यालयमा कर्मचारीको प्रवेशदेखि कार्य सम्पादन र मुल्यांकन, अनुगमन जस्ता विषयमा परिवर्तन ल्याउन खोजिएको उहाँले बताउनुभयो । ‘कर्मचारीको कार्यव्यवहार, कार्यप्रणालीमा सकारात्मक सुधार आएको जस्तो लाग्छ’ उहाँले भन्नुभयो ।
सेवा प्रवाहमा सहजता ल्याउने प्रयास भएको छ । कार्यालयहरुमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) राख्ने तथा मासिक रुपमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी छनौट गरी घोषणा र पुरस्कृत गर्ने परिपाटी पनि थालिएको उहाँको भनाई छ ।
३) दुम्लिङसम्म सडक सुविधा
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकअन्तर्गत गत वैशाख २६ गते व्यास गाउँपालिका–२ दुम्लिङमा गाडी पुगेको छ । बालेन नेतृत्वको सरकार गठन भएको दुई हप्तामै टिंकर सडकमा ४ करोड रुपैयाँ रकमान्तरको निर्णय गरिएको थियो ।
टिंकर सडकमै मेसिन उपकरणका लागि विनियोजित बजेट सडक निर्माणमा रकमान्तर गरिएको थियो । रकमान्तरण गरिएको बजेटले वैशाख पहिलो सातादेखि दुम्लिङसम्मको सडक खुलाउने कार्य सुरु गरिएको थियो । यसका साथै राङथल–दुम्लिङ खण्डको करिब डेढ किलोमिटर सडक स्तरोन्नती गर्ने कार्य पनि भइरहेको छ ।
दुम्लिङ गाँउको काठा दुम्लिङमा चैत्र २४ मा झोलुंगे पुल शिलान्यास गर्न सांसद हर्क साम्पाङ राङथलबाट पैदल हिडेका थिए । साम्पाङले दुम्लिङमा झोलुंगे पुल शिलान्यास गरेको एक महिनामै दुम्लिङसम्मको सडक खुलाइएको छ । असार १६ गते झोलुंगे पुल उद्घाटन गर्न जाँदा भने सांसद साम्पाङ गाडीमै दुम्लिङ पुगेका छन् ।
नेपाली सेनाले निर्माण थालेको टिंकर सडकअन्तर्गत दुम्लिङसम्मको १२ किलोमिटर लामो सडकमा गाडी सञ्चालन भएको छ । गतवर्षसम्म तुषारपानीदेखि राङथलसम्मको ८ किलोमिटर लामो सडकमा गाडी सञ्चालन भएको थियो । यो वर्ष राङथलदेखि दुम्लिङसम्मको थप ४ किलोमिटर सडकमा गाडी गुडेको छ ।
४) सडक कालोपत्रे गर्न ५२ करोडको स्रोत सहमति
महाकाली कोरिडोरअन्तर्गत तिमुरपाटा–हुती खण्डमा थप ७ किलोमिटर सडक कालोपत्रे गर्न बालेन सरकारले ५२ करोड रुपैयाँको स्रोत सहमति दिएको छ । सुशीला कार्की सरकारकै समयमा स्रोत सहमतिको फाइल तयार भए पनि बालेन नेतृत्वमा सरकार गठन भएपछि वैशाख २९ मा मात्रै अर्थ मन्त्रालयले स्रोत सहमतिको निर्णय गरेको हो ।
हाल खलंगादेखि हुती र धौलाकोटसम्मको सडक खण्डमा १८ किलोमिटर लामो सडकको कालोपत्रे गर्ने ठेक्का चालू छ । थप ७ किलोमिटर सडक कालोपत्रे गर्न टेण्डर निकालिएको छ । महाकाली कोरिडोर सडक योजनाले असार १८ गते कालोपत्रेको टेण्डर प्रकासित गरेको इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।
५) गोकुलेश्वरमा इलाका प्रशासन
नयाँ सरकार गठनपछिको समयमा गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । केपी ओली नेतृत्वकै सरकारको बेला मन्त्रिपरिषद्बाट निर्णय भइसके पनि कार्यालय स्थापना गरी सञ्चालन गर्ने कार्य भने गत वैशाख २१ देखि भएको छ ।
शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र अपीहिमाल गाउँपालिकाका नागरिकलाई नागरिकता र राष्टिय परिचयपत्रको सेवा दिन थालिएको छ । यसका साथै नौगाड गाउँपालिकाको वडा नम्बर ६ र लेकम गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का नागरिकलाई पनि इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह भइरहेको छ ।
इलाका प्रशासन कार्यालयबाट दैनिक दुई दर्जन नयाँ नागरिकता र एक दर्जन नागरिकताको प्रतिलिपि जारी भइरहेको कार्यालय प्रमुख वासुदेव विष्टले बताउनुभयो । उहाँका अनुसार वैशाख २१ देखि सञ्चालन गरिएको इलाका प्रशासन कार्यालयले असार २४ सम्म ६ सयभन्दा बढी नागरिकलाई सेवा दिएको छ ।
बालेनले शेयर गरेको त्यो ‘रिल’
प्रधानमन्त्री बालेनले जेठ ३० गते अपीहिमाल वेश क्याम्पको एउटा फेसबुक रिल (भिडियो) पोष्ट गरे । दार्चुलामा जन्मिएर सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा सक्रिय रहेका युवा हिमालय भट्ट ‘फेरुवा’ले खिचेको त्यो भिडियोलाई प्र्रधानमन्त्रीले पोष्ट गरेपछि धेरै चर्चा र प्रशंसा गरिएको छ ।
२३ सेकेन्टको रिलमा अपीहिमालको वेश क्याम्पमा केही युवाहरु क्रिकेट खेलिरहेका देखिन्छन् । सुन्दर र हिमालयको काखमा हरियो मैदानमा क्रिकेट खेलिरहेको भिडियो रोचक देखिन्छ । प्रधानमन्त्रीले अंग्रेजी भाषामा ‘अपी हिमाल वेश क्याम्प दार्चुला’ लेखेर पोष्ट गरेका थिए ।
प्रधानमन्त्रीले पोष्ट गरेको यो भिडियोमा एक महिना नपुग्दै ८ लाख १८ हजार लाइक, ५८ हजार कमेन्ट, १४ हजार शेयर र ९० लाख भ्युज पुगेको छ । हिमालयको काखमा हरियो चौर र वरिपरि सेताम्य हिमालले घेरेको दृश्य मनमोहन देखिन्छ ।
धेरैले अपी हिमालको वेशक्याम्पमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नुपर्ने भन्दै चर्चा गरे । प्रधानमन्त्रीको पोष्टले हिमालयको सुन्दरता, उच्चहिमाली क्षेत्रमा क्रिकेटको क्रेज र सम्भावना रहेको दर्शाएको छ । यसकै आधारमा धेरैले क्रिकेट मैदान निर्माणको विषयलाई महत्व पनि दिए । तर पहुँच मार्ग र आधारभूत पर्यटन सुविधा अझै राम्रोसंग पुग्न नसकेको स्थानमा क्रिकेट मैदान निर्माण र अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको चर्चा गरिनु हतारो हुन्छ कि ?
प्रधानमन्त्रीको यो भिडियो पोष्टले अपीहिमाल र दार्चुलाले चर्चा भने पायो । प्राकृतिक सुन्दरता, क्रिकेटको क्रेज र पर्यटकीय सम्भावनाबारे धेरैले जानकारी पनि पाए । पश्चिमको अपीहिमालदेखि पूर्वको कञ्चनजङ्घासम्मको हिमाली पर्यटकीय मार्ग निर्माणको तयारीमा बालेन सरकारले जुटेको पनि छ ।
नयाँ सरकारप्रति आलोचना गर्ने, सरकारका कामकारवाहीमाथि प्रश्न उठाउन सकिने धेरै विषयहरु पनि छन् । यसबारे संसदमा, सडकमा, मिडियामा समयक्रमले चर्चा र स्थान पनि पाएको छ । तर सरकारका १०० दिन पूरा हुँदा केन्द्रमा भइरहेको चर्चासंगै दार्चुलाको भूगोलमा देखिएका केही महत्वपूर्ण सकारात्मक पाटाहरु मात्रै यहाँ समेट्न खोजिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here