ग्यासको ढुवानी भाडामा अचाक्ली ः २५० किमीको ११०, ३२३ किमीको २६५ रुपैयाँ

0
35

दार्चुला, असार २२ गते ।
धनगढीबाट दार्चुला सदरमुकाम खलंगासम्मको ग्यास सिलिण्डरको ढुवानी भाडा धनगढी–गोकुलेश्वरको भन्दा दोब्बर रहेको छ । चर्को ढुवानी भाडा देखाएर खलंगामा ग्यास बिक्रेताहरुले महंगोमा ग्यास सिलिण्डर बिक्रीवितरण गर्दैआएका छन् ।
धनगढीमा रहेको रेडियन्ट र सैपाल ग्यास कम्पनीले सुदूरपश्चिम प्रदेशभरी ग्यास आपुर्ति गर्दैआएका छन् । कालोपत्रे र राष्ट्रिय राजमार्गबाट ट्रकमार्फत ग्यास सिलिण्डर ढुवानी भइरहेको छ ।
गोकुलेश्वर–खलंगा सडक खण्डमा सर्वाधिक महंगो ढुवानी भाडा लिइदैआएको छ । खलंगाका ग्यास बिक्रेताहरुका साथै धनगढीस्थित रेडियन्ट र सैपाल ग्यास कम्पनीले पनि चर्को ढुवानी भाडा रहेको स्वीकारेका छन् ।
असार १९ गते जिल्ला प्रशासन कार्यालय दार्चुलाले आयोजना गरेको बैठकमा ग्यास बिक्रेताहरुले ढुवानी भाडा महंगो भएकै कारण आधा भरिएको ग्यास सिलिण्डर चर्को मूल्यमा बिक्री गर्नुपरेको दाबी गरेका छन् । नेपाल आयल निगमको प्रादेशिक कार्यालय प्रमुखसहित दुबै ग्यास कम्पनीका प्रतिनिधिहरुसंगको भर्चुअल छलफलमा पनि ग्यास ढुवानी महंगो भएको तथ्य पुष्टि भएको हो ।
हाल धनगढीबाट गोकुलेश्वरसम्म एउटा सिलिण्डर १४० रुपैयाँमा ढुवानी भइरहेको छ । योमध्ये आगल निगमले ३० रुपैयाँ ढुवानी भाडा उपलब्ध गराउने ग्यास बिक्रेताहरु बताउँछन् । निगमको ढुवानी सहुलियत ३० रुपैयाँ घटाउदा उपभोक्ताले गोकुलेश्वरमा ग्यास सिलिण्डर ढुवानी भाडा ११० रुपैयाँ तिर्नुपर्छ ।
हाल आधा भरिएको ग्यास सिलिण्डर १२ सय २५ रुपैयाँमा बिक्री भइरहेको गोकुलेश्वरस्थित रेडियन्ट ग्यासका अधिकृत बिक्रेता सुरेश सिंह भण्डारीले बताउनुभयो । केही दिनअघिसम्म १२ सय ७५ रुपैयाँमा बिक्री भइरहेको आधा भरिएको ग्यास सिलिण्डर आयल निगमले मूल्य घटाएपछि ५० रुपैयाँ सस्तो भएको उहाँको भनाई छ ।
धनगढीदेखि गोकुलेश्वरसम्मको सडक दूरी २५० किलोमिटर छ । २५० किलोमिटर सडक दूरीको ढुवानी भाडा ११० रुपैयाँ हुँदा धनगढीदेखि खलंगासम्मको ३२३ किलोमिटर सडक दूरीको ढुवानी भाडा दोब्बरभन्दा बढी छ । रेडियन्ट ग्यासले धनगढीदेखि खलंगासम्म ग्यास सिलिण्डरको ढुवानी भाडा २३० रुपैयाँ र सैपाल ग्यासले २६५ रुपैयाँ लिदैआएको छ ।
धनगढी–गोकुलेश्वर सडकको २५० किलोमिटर दूरीमा ११० रुपैयाँ ढुवानी भाडा रहेकोमा गोकुलेश्वर–खलंगाको ७२ किलोमिटर दूरीमा रेडियन्ट ग्यासले थप १२० रुपैयाँ ढुवानी भाडा उठाइरहेको छ । सैपाल ग्यासले भने ७२ किलोमिटर सडक दूरीमा थप १५५ रुपैयाँ भाडा उठाएको छ ।
गोकुलेश्वरमा सैपाल ग्यासको अधिकृत बिक्रेता छैन तर धनगढीदेखि बैतडी सदरमुकामसम्मको २१४ किलोमिटर लामो सडकमा सैपाल ग्यासले १४५ रुपैयाँमा ग्यास सिलिण्डर ढुवानी गरिरहेको छ ।
सडकको दूरी र सडकको अवस्था आधारमा ढुवानी भाडा निर्धारण हुनुपर्नेमा धनगढीदेखि खलंगासम्मको ग्यास सिलिण्डर ढुवानी अत्यधिक महंगो भएको सरोकारवालाले बताएका छन् । धनगढी–गोकुलेश्वरको तुलनामा धनगढी–खलंगासम्मको ढुवानी भाडा अस्वाभाविक देखिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
हाल धनगढीदेखि खलंगासम्मको ग्यास सिलिण्डरको ढुवानी भाडा अस्वाभाविक र महंगो रहेकोले तत्काल ढुवानी भाडा घटाउनुपर्ने प्रजिअ पौडेलको भनाई छ । यसबारे आयल निगमका धनगढीस्थित प्रादेशिक प्रमुख र दुबै ग्यास कम्पनीका प्रतिनिधिहरुलाई प्रजिअ पौडेलले आग्रह पनि गरेका छन् ।
कालोपत्रे सडक भएका स्थानहरुमा सडक दूरीको आधारमा ढुवानी भाडा थपघट हुनुपर्नेमा मनपरीढंगले महंगो ढुवानी भाडा उठाइदैआएको पत्रकार शंकर सिंह धामीको भनाई छ । ‘धनगढी–गोकुलेश्वरको दूरी २५० किलोमिटरमा ढुवानी गर्नुभन्दा गोकुलेश्वर–खलंगाको दूरी ७२ किलोमिटरमा ढुवानी गर्नु महंगो मात्रै होइन दोब्बर महंगो देखियो’ उहाँले भन्नुभयो ।
उपभोक्ताको गुनासो र जिल्ला प्रशासनको सुझावबारे आवश्यक अध्ययन गरेर ग्यास सिलिण्डरको ढुवानी भाडा पुनरावलोकन गरिने आयल निगमका धनगढीस्थित प्रादेशिक कार्यालयका प्रमुख मनोहर डिसीले बताउनुभयो ।
मार्मा गाउँपालिकाको लटिनाथ बजारसम्म रेडियन्ट ग्यासले १४० रुपैयाँमा ग्यास सिलिण्डर ढुवानी गरिरहेको छ । धनगढीदेखि २८० किलोमिटर दूरीको लटिनाथमा १४० रुपैयाँमा ग्यास ढुवानी गर्ने कम्पनीले धनगढीदेखि ३२३ किलोमिटर दूरीको खलंगसम्मको ढुवानी भाडा भने २३० रुपैयाँ लिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here