कोरिडोरको नयाँ ठेक्काले कहाँसम्म पुग्छ कालोपत्रे सडक ?

0
63

दार्चुला, असार २० गते ।
महाकाली कोरिडोर सडक योजनाले सडक कालोपत्रेको नयाँ ठेक्का निकालेको छ । अर्थ मन्त्रालयबाट गत वैशाख २९ मा बहुवर्षिक ठेक्काको स्रोत सहमति प्राप्त भएपछि योजना कार्यालयले असार १८ गते टेण्डरको सुचना प्रकासित गरेको हो ।
कोरिडोरअन्तर्गत दार्चुला सदरमुकामभन्दा माथिको सडक खण्डमा सडक कालोपत्रे गर्न ठेक्का निकालिएको छ । तिमुरपाटा–हुती–धौलाकोट खण्डमा ६ दशमलव ९ किलोमिटर लामो सडक कालोपत्रे गर्न टेण्डर आव्हान गरिएको सडक योजनाले जनाएको छ ।
दुहुँ गाउँपालिकाको तिमुरपाटादेखि जोशीगाउँसम्मको ३ दशमलव ८८० किलोमिटर खण्ड र पिपलचौरीदेखि हुतीको गोरेटो बजारसम्मको ३ दशमलव ०२० किलोमिटर लामो सडक कालोपत्रे गर्न टेण्डर निकालिएको योजना कार्यालयका सुचना अधिकारी दिनेश रैखोलाले बताउनुभयो ।
‘कोरिडोरको एलाइनमेन्टअन्तर्गत दुइटा छुट्टाछुट्टै क्षेत्रका सडक कालोपत्रे गर्न टेण्डर निकालिएको हो’ सुचना अधिकारी एवं इन्जिनियर रैखोलाले भन्नुभयो । सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयबाट ५१ करोड ९९ लाख रुपैयाँको स्रोत सहमति प्राप्त भइसकेको छ ।
बहुवर्षिय ठेक्का हुने भएकाले निर्माण कम्पनी छनौट, सम्झौता र सडक निर्माणको कार्य भने नयाँ आर्थिक वर्षमा हुने अवस्था छ । असार १८ गते प्रकासित टेण्डरको सुचनाको म्याद साउन ७ गतेसम्म छ । सडक निर्माणको अवधि सम्झौताको मितिदेखि तीन वर्षको हुने इन्जिनियर रैखोलाले जानकारी दिनुभयो ।
महाकाली कोरिडोर सडक योजनाअन्तर्गत हाल खलंगाको बीरेन्द्रबनदेखि धारीको चल्लेगडासम्मको ८ दशमलव ५४० किलोमिटर र चल्लेगडादेखि हिकिला, पिपलचौरी र धौलाकोट क्षेत्रसम्मको १० किलोमिटर सडक कालोपत्रेको ठेक्का जारी छ ।
दुहुँ गाउँपालिकाको तिमुरपाटादेखि जोशीगाउँसम्मको करिब ४ किलोमिटर सडक कालोपत्रे भएपछि खलंगाको लास्कुखोलादेखि चल्लेगडासम्मको पूरै सडक कालोपत्रे हुनेछ । लास्कुखोलादेखि चल्लेगडासम्मको सडक दूरी करिब १२ किलोमिटर छ ।
हिकिलाको कालागाड क्षेत्रमा करिब २ किलोमिटर सडक कालोपत्रे गर्न थप समय कुर्नुपर्ने अवस्था छ । कालागाडदेखि हिकिलाको मन्तडा धारसम्मको क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्ने छुट्टै ठेक्का चालू अवस्था छ । यो क्षेत्रमा सडक चौडा गर्ने छुट्टै ठेक्का चालू रहेकोले सडक कालोपत्रेको ठेक्का तत्काल व्यवस्थापन हुने छैन ।
हिकिलादेखि पिपलचौरी हुँदै हुतीको गोरटो बजारसम्मको पूरै सडकमा भने कालोपत्रेको ठेक्का हुदैछ । व्यास गाउँपालिकाको हुती गोरेटो बजारदेखि धौलाकोटसम्म करिब अढाइ किलोमिटर कच्ची सडकमा यात्रा गर्नुपर्ने अवस्था रहनेछ भने धौलाकोट क्षेत्रमा हाल ३ किलोमिटर लामो कालोपत्रे सडक निर्माण भइरहेको छ । त्यसभन्दा अगाडि सुन्सेरा र तुपारपानीसम्मको सडक पनि कच्ची अवस्थामै रहनेछ ।
सात मिटर चौडा सडकमा कालोपत्रे हुनेछ । १ दशमलव २ मिटर चौडा नाली र टेवापर्खालसहितको पक्की सडक संरचना निर्माण गर्नेगरी ठेक्का भइरहेको छ । चारवर्षअघि ठेक्का सम्झौता गरिएका सडक कालोपत्रेका दुइटा ठेक्काहरु अहिलेसम्म पूरा भएका छैनन् । खलंगादेखि चल्लेगडासम्म र चल्लेगडादेखि हिकिला, पिपलचौरी र धौलाकोट क्षेत्रका सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९–८० मै ठेक्का सम्झौता गरिएको थियो ।
लामो समयसम्म सडक कालोपत्रेको ठेक्का पूरा नभएको पृष्ठभूमिमा नयाँ ठेक्का हुँदैछ । करिब ७ किलोमिटर थप सडक कालोपत्रेको टेण्डर खोलिए पनि सडक निर्माण कार्यको सुस्तगतिले नयाँ ठेक्काप्रति स्थानीयको आश र आशंका दुबै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here