बालेन क्याविनेटका सात मन्त्रीले चुनाव जिते, श्रममन्त्रीले हारे

0
10

दार्चुला, असार १३ गते ।
रास्वपाकाे प्रथम महाधिवेशनमा बालेन मन्त्रिपरिषद्‍का सातजनाले केन्द्रीय सदस्यकाे निर्वाचन जित्दा श्रममन्त्री रामजी यादव भने पराजित भएका छन् ।
मन्त्री यादवले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला केन्द्रीय सदस्यका लागि २ सय १० जना उम्मेदवार चुनावी मैदानमा थिए ।
बालेन नेतृत्वको सरकारका १७ मन्त्रीमध्ये यादवसहित ८ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए । श्रममन्त्री यादवबाहेक अन्य ७ जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
पहिलो चरणको निर्वाचनमा कुल खसेको २ हजार ९ सय ५९ मतमध्ये मन्त्री यादवले मात्र ८ सय ६९ मत पाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
रास्वपाको संशोधित विधानमा केन्द्रीय सदस्य १ सय ५८ सदस्यीय बनाइएको छ । जसमध्ये पहिलो चरणको निर्वाचनबाट ९९ जना निर्वाचित भइसकेका छन् ।
बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here