नागुवासीको चुनाव वहिस्कार, उम्मेदवारहरुको नागु वहिस्कार

0
27

दार्चुला, फागुन १७ गते ।
नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कारको घोषणा गरेका छन् भने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुले नागुक्षेत्रलाई वहिस्कार गरेका छन् ।
दल्लेख–नागु–सिना सडक निर्माणको प्रमुख मागसहित नागुक्षेत्रका स्थानीयले माघ १ गतेदेखि चुनाव वहिस्कारको घोषणा गर्दैआएका छन् । पछिल्लो समय माघ १७ गते र फागुन १६ गते स्थानीयवासीको वृहद भेलाले चुनाव वहिस्कारको घोषणालाई निरन्तरता दिने निस्कर्ष निकालेको छ ।
नागुक्षेत्रको प्रमुख माग रहेको दल्लेख–नागु–सिना सडकको माग पूरा नहुन्जेलसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने स्थानीयको भनाई छ । ‘अहिलेको चुनाव मात्रै होइन, सडक निर्माण नहुँदासम्म कुनै पनि चुनावमा यहाँका जनताले मतदान नगर्ने अठोट गरेका छन्’ नागु क्षेत्र विकास सरोकार संघर्ष समितिका संयोजक करन सिंह डडालले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले भने नागुक्षेत्रलाई वहिस्कार गरेका छन् । मौखिक रुपमा सडक निर्माणको माग जायज भएको र यसका लागि आफुहरुले निरन्तर पहल गर्ने बताए पनि उम्मेदवारहरु नागुक्षेत्र पुगेका छैनन् ।
दार्चुलाका ११ मध्ये कुनै पनि उम्मेदवार नागुक्षेत्र नपुगेको संयोजक डडालले बताउनुभयो । ‘चुनावमा सहभागी नहुने हाम्रो अडान सार्वजनिक नै छ, तर हामीसंग छलफल गर्न र मत माग्न कुनै पनि उम्मेदवार नागुक्षेत्र आएनन्’ उहाँको भनाई छ । उम्मेदवारहरु नागु पुगेको भए पनि सडक नबन्दासम्म मतदानमा सहभागी नहुने सिंगो गाउँको निर्णय रहेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्ना नौगाड गाउँपालिका–१ को भूगोलमा पुग्ने प्रचार तालिका बनाए पनि नागुक्षेत्र भने पुगेनन् । माघ २० देखि प्रचारप्रसारको कार्यतालिका बनाएर भ्रमणमा निस्केका ठगुन्ना माघ २३ गते बेलुकी नौगाड गाउँपालिका–२ सुण्डमुण्ड गाउँमा वास बसेका थिए ।
एमाले दार्चुलाका संस्थापक नेता वीरवहादुर ठगुन्नाको गृहक्षेत्र रहेको सुण्डमुण्ड गाउँ भएरै नागुक्षेत्र जोड्ने सडक बनेको छ । सुण्डमुण्ड गाउँभन्दा करिब एक किलोमिटर अगाडि पारिमेला वस्तीको फेदसम्म मात्रै हाल सडक बनेको छ । पारिमेलाको फेददेखि नागुक्षेत्रसम्मको करिब ६ किलोमिटर लामो सडक निर्माण हुन बाँकी छ ।
चुनावी प्रचारका क्रममा सुण्डमुण्ड गाउँ वास बसेका एमाले उम्मेदवार ठगुन्ना भोलिपल्ट माघ २४ गते नौगाड खोला तरेर नौगाड गाउँपालिका–१ को वडाकेन्द्र रहेको इयरकोट पुगे । तर सुण्डमुण्डभन्दा अगाडि नागुक्षेत्रतर्फ ठगुन्नाको टोली गएन ।
ठगुन्नाको प्रचार टोली इयरकोट पुगेकै दिन सदरमुकाम खलंगाबाट प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली सुण्डमुण्ड गाउँ हुँदै नागुक्षेत्र गएको थियो । उम्मेदवारहरु नागुक्षेत्र नपुगे पनि स्थानीयलाई चुनावमा फर्काउन सरकारी प्रयास भने गरिएको छ ।
एमालेका उम्मेदवार ठगुन्नाको टोलीले नागुक्षेत्रका वासिन्दालाई छलफलका लागि इयरकोट आउन खबर गरेको थियो । ‘हामीलाई इयरकोट आउनुस्, सडक लगायत स्थानीयका मागहरुबारे छलफल गरौं भन्ने खबर आएको थियो तर हामी त्यहाँ गएनौ’ संघर्ष समितिका संयोजक करन सिंह डडालले भन्नुभयो ।
समय अभाव भएकाले नागुक्षेत्रका स्थानीयलाई इयरकोट बोलाएर छलफल गर्न खोजिएको एमालेका एक जिल्ला नेताको भनाई छ । ‘एउटै वडामा धेरै समय दिन सकिएन, त्यहि दिन १ नम्बर वडाका सबैलाई भेट्ने र छलफल गर्ने हाम्रो प्रयास थियो तर नागुवासीसंग भेटघाट र छलफल हुन सकेन’ उहाँको भनाई छ ।
नेपाली काग्रेसका उम्मेदवार धर्मानन्द जोशीले फागुन ९ गते नौगाड गाउँपालिका–१ इयरकोटमा भेटघाट गरी बेलुकी नागु वासबस्ने प्रचारप्रसार तालिका बनाएका थिए । तर उम्मेदवार जोशी न इयरकोट पुगे, न नागुक्षेत्र पुगे । नागुक्षेत्रमा एक रात वास बसेर स्थानीयसंग छलफल गर्नु त टाढाको कुरा, उम्मेदवार जोशीले पाइला नै टेकेनन् ।
फागुन १३ गते नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा चुनावी आमसभा गरेर काग्रेस उम्मेदवार जोशीको टोली इयरकोट र नागुक्षेत्र प्रवेश नगरेर सदरमुकाम फर्किएको छ । होपरीगाडको आमसभामा भने उम्मेदवार जोशीले नागुक्षेत्रको माग जायज रहेको र उक्त माग पूरा गराउन आफु सधैभरी सक्रिय हुने बताएका छन् । आमसभामा नागुक्षेत्रका वासिन्दाको सहभागिता नभएकोमा दुःख व्यक्त गर्दै जोशीले मतदानमा सहभागी हुन भने स्थानीयलाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी चुनावी प्रचारप्रसारको क्रममा नौगाड गाउँपालिका–१ इयरकोट पुगे पनि नागुक्षेत्र पुगेका छैनन् । फागुन १४ गते इयरकोटको सल्ला वस्तीमा वास रहेका नेकपा उम्मेदवार जोशी समय अभावले नागुक्षेत्र पुग्न नसकेको बताउँछन् । सल्ला वस्तीमा रहेको नेकपा केन्द्रीय सदस्य ललितसिंह ठगुन्ना ‘प्रविण’को घरमा जोशी वास बसेका थिए ।
नागुक्षेत्रको मागबारे छलफल गर्न र स्थानीयलाई मतदानमा सहभागी गराउन प्रदेशसभा सदस्य मानवहादुर धामी ‘सन्तोष’ र नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीलाई आफु र आफ्नो पार्टीले विशेष जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।
नागुक्षेत्रले घोषणा गरेको चुनाव वहिस्कारबारे चाँसो राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजेश सिंह सामन्तले संघर्ष समितिका संयोजक करन सिंह डडालसंग फोन सम्पर्क गरेका थिए । फागुन ३ गते नागुक्षेत्र पुगेरै थप छलफल गर्ने बताएका सामन्त पनि त्यहाँ पुग्न नसकेको स्थानीय बताउँछन् ।
राप्रपालगायत अन्य दलका उम्मेदवार पनि नागुक्षेत्र पुगेका छैनन् । यद्यपि घोषणापत्रमार्फत राप्रपाले नागु जोड्ने सडक निर्माणमा आफ्नो प्रतिवद्धता जनाएको छ । अन्य उम्मेदवारहरुले पनि मौखिक प्रतिवद्धता गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने नागुक्षेत्रका वासिन्दालाई चुनावमा फर्काउने प्रयास गरेका छन् । माघ २४ गते नागुक्षेत्र पुगेर दुई दिन वास बसेका प्रजिअ पौडेलले स्थानीय र उम्मेदवारबीच संवादको वातावरण पनि बनाएका थिए । फागुन ४ गते साँझ भर्चुचल बैठक आयोजना गरी स्थानीय र उम्मेदवारहरुबीच संवाद गराइएको थियो । तर स्थानीयवासी आफ्नो माग र अडानबाट पछि नहटेपछि भर्चुअल बैठक निस्कर्षविहिन भएको थियो ।
फागुन १५ गतेको मितिमा सार्वजनिक अपीलमार्फत पनि दलहरुले चुनाव वहिस्कारलाई सम्बोधन गर्न खोजेका छन् । जिल्ला प्रशासन कार्यालयमा तयार भएको अपीलको मस्यौदामा हस्ताक्षर गरेर निर्वाचनमा सहभागी हुन आव्हान गर्ने काम दलहरुका तर्फबाट गरिएको छ ।
नागुक्षेत्रका वासिन्दा भने सडक निर्माण र छुट्टै वडाको मागलाई सशक्त रुपमा उठाउदैछन् । मागहरु पूरा नहुन्जेलसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुनेसम्मको घोषणा र अडान स्थानीयले सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here