निर्वाचन वहिस्कार गर्ने नागुवासीको निस्कर्ष

0
34

दार्चुला, फागुन १६ गते ।
नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कार गर्ने यसअघिको घोषणा पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् । शनिवार स्थानीयवासीको भेलाले निर्वाचन वहिस्कारको पूर्ववत घोषणामा सिंगो क्षेत्रको ऐक्यवद्धता र प्रतिवद्धता दोहर्याएको छ ।
नागु क्षेत्र विकास सरोकार संघर्ष समितिका संयोजक करन सिंह डडालको अध्यक्षतामा भएको भेलामा १ सय २२ स्थानीयवासीले सहभागिता जनाएर चुनाव वहिस्कारको घोषणा दोहर्याएका छन् ।
दल्लेख–नागु–सिना सडक निर्माणको प्रमुख मागसहित नागुक्षेत्रका स्थानीयले माघ १ गते चुनाव वहिस्कारको घोषणा गरेका थिए । माघ १७ गते भएको अर्को भेलाले चुनाव वहिस्कारको घोषणालाई निरन्तरता दिने निस्कर्ष निकालेको थियो ।
माघ २४ गते दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वमा सरकारी टोली नागुक्षेत्र पुगेको थियो । नागुक्षेत्रमा दुई दिन बिताएर सरकारी टोलीले स्थानीयलाई चुनावमा सहभागी गराउन छलफल गरे पनि सहमति जुटेको थिएन ।
स्थानीयवासीले सडक निर्माण नभएसम्म आफुहरु कुनै पनि निर्वाचनमा सहभागी नहुने बताउदैआएका छन् । सडक निर्माणका लागि २०७० सालदेखिका सबै निर्वाचनहरु नागुक्षेत्रका वासिन्दा ठगिदैआएको संघर्ष समितिका संयोजक डडालले बताउनुभयो ।
‘२०७० सालदेखिका सबै निर्वाचनमा हामीले सडक निर्माण गरिने झुटो आश्वासन मात्रै पायौं, तर कसैले पनि सडक बनाएनन् । यसपटकको निर्वाचनमा उठेका उम्मेदवार र सरकारी निकायहरुले हामीलाई चुनावमा सहभागी हुन भनेका छन् । तर हाम्रो माग सम्बोधन नभएसम्म कुनै पनि चुनावमा सहभागी हुनुको केही अर्थ छैन’ संघर्ष समितिका संयोजक डडालको भनाई छ ।
निर्वाचनलाई भद्र र शान्तिपूर्ण रुपमा वहिस्कार गर्ने स्थानीयको निर्णय छ । निर्वाचनका लागि गौरीशंकर मावि नागु मतदान केन्द्रमा पुग्ने कर्मचारी टोली र सुरक्षाकर्मीलाई कुनै असहयोग नगर्ने तर मतदानमा सहभागी नहुने स्थानीयले निर्णय गरेका छन् ।
शनिवारको भेलाले संघर्ष समितिमा ७ जना स्थानीयलाई सदस्य थप्ने निर्णय गरेको छ । यसैगरी, ७ जना स्वयंसेवकहरु छनौट गरी संघर्ष समितिको घोषणा कार्यान्वयनमा परिचालन गर्ने स्थानीयको निर्णय छ ।
नागुक्षेत्र नौगाड गाउँपालिकाको वडा नम्बर १ को वडाकेन्द्र पुग्न एक दिन लाग्ने अवस्था भएकोले नयाँ वडाको माग पनि स्थानीयले गरेका छन् । संघर्ष समितिले सडक निर्माणको प्रमुख मागसंगै नयाँ वडाको माग पनि सशक्त रुपमा अघि बढाउने संयोजक डडालको भनाई छ ।
प्रदेश सरकारले निर्माण गरिरहेको दल्लेख–नागु–सिना सडकमा चालू आर्थिक वर्षमा शुन्य बजेट छ । बजेट अभावले सडक निर्माण कार्य अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धिरेन्द्र भट्टले बताउनुभयो ।
नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखबाट सुरु गरेर हालसम्म सुण्डमुण्ड गाउँछेउको पारिमेलासम्म ९ किलोमिटर सडक मात्रै निर्माण भएको छ । पारिमेलाबाट नागुक्षेत्रसम्मको करिब ६ किलोमिटर लामो सडक निर्माण गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here