दार्चुला, फागुन १६ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा कमाण्ड सम्हाल्न नेपाल प्रहरीले दार्चुलामा एसपी छेविलाल कामतीलाई खटाएको छ । शान्ति सुरक्षाको जिम्मेवारी थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशभरका सबैजसो जिल्लाका उच्च सुरक्षा अधिकारीहरु परिचालन गरेको हो ।
निर्वाचन अवधिभरको सुरक्षा परिचालन र कमाण्ड सम्हाल्न एसपी कामती फागुन १४ गते दार्चुला आइपुगेका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयसंग एसपी कामतीले छलफल र समन्वय गरिरहेका छन् ।
शान्तिसुरक्षाको पाटोलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हेडक्वाटरबाट एसपी कामतीलाई खटाइएको दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताउनुभयो । ‘निर्वाचन अवधिका लागि एसपी सरको कमाण्ड रहन्छ’ उहाँले भन्नुभयो ।
निर्वाचनको मतदान प्रक्रिया सकिएपछि अवस्था हेरेर मतगणना अवधिसम्म पनि एसपी कामतीको जिल्ला बसाइ लम्बिन सक्छ । ‘सामान्य अवस्था भए मतदान लगत्तै एसपी सर फर्किन पनि सक्छन्’ जिल्लास्थित एक सुरक्षा अधिकारीले भन्नुभयो ।
नेपाल प्रहरीले हरेक पालिकामा इन्सपेक्टरको कमाण्डमा केही दिनअघिदेखि नै टोली परिचालन गरिसकेको छ । मतदानको दिन सशस्त्र प्रहरी वल र नेपाली सेनासंगको थप समन्वयमा प्रहरीको मोबाइल टोली परिचालन हुने डिएसपी महतले बताउनुभयो ।








