बडूविनाको प्रतिस्पर्धामा कस्ले मार्ला बाजी ?

0
16

दार्चुला, फागुन १५ गते ।
२०४८ सालदेखिका हरेक निर्वाचनमा उम्मेदवार बन्दै आएका काग्रेस नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले यसपटक विश्राम लिएका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन बाहेकका सबै निर्वाचनमा बडूले प्रतिस्पर्धा गरेको इतिहास छ ।
छ पटक चुनाव लडेका काग्रेस नेता बडूले तीन पटक चुनाव जिते भने तिनै पटक चुनाव हारे पनि । बडूका लागि २०४८, २०५६ र २०७९ का निर्वाचन सुखद् हुँदा २०५१, २०६४ र २०७० का निर्वाचनहरु प्रतिकुल रहेको इतिहास छ । २०७४ सालमा प्रत्यक्ष निर्वाचन नलडे पनि बडू समानुपातिक प्रणालीबाट निर्वाचित सांसद बनेका थिए ।
दार्चुलाको राजनीतिक क्षेत्रका प्रमुख खेलाडी रहेका बडूले यसपटक भने प्रत्यक्ष निर्वाचनमा विश्राम लिएका छन् । फरक–फरक समयमा पाँच पटक मन्त्री हुने अवसर पाएका बडूले अहिलेसम्म छ वटा मन्त्रालयको नेतृत्व गर्ने अवसर पनि पाइसकेका छन् ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका र पटक–पटक मन्त्रीको भूमिका पाएका बडूले पार्टीभित्र र जनतामाझ बलियो पकड रहदैआएको छ । यद्यपि यसपटक नयाँ परिवेशमा नयाँ पुस्तालाई अवसर दिने भन्दै बडूले आफ्नो पार्टीका तर्फबाट नयाँ उम्मेदवार खडा गरेका छन् ।
बडूसंग तीनपटक चुनाव लडेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य गणेश सिंह ठगुन्ना लगातार पाँचौं पटक चुनावी मैदानमा उत्रिएका छन् । यसपटकको प्रतिस्पर्धामा ठगुन्नाले नयाँ अनुहारहरुको सामना गर्नुपरेको छ ।
चिरपरिचित प्रतिस्पर्धी बडूले आफ्नो स्थानमा नयाँ अनुहार अघि सारेका छन् । काग्रेस विशेष महाधिवेशनको विपक्ष रहेका बडूले चुनावमा उम्मेदवार चयन गर्दा भने सभापति गगन थापासंग सल्लाह र सहमति गरेका छन् ।
जिल्लाको भूगोलमै दशकौंदेखि राजनीति गर्दैआएका अन्य तीनजना आकांक्षीलाई थाति राख्दै बडूको रोजाइमा गगन थापाले धर्मानन्द जोशीलाई टिकट दिएका छन् । विशेष महाधिवेशनको पक्षमा पहिल्यैदेखि खुलेका महाधिवेशन प्रतिनिधिहरु नरेन्द्रसिंह धामी, गणेशराज भट्ट र पूर्व जिल्ला सचिव हरक सिंह विष्टले पनि उम्मेदवारीको दाबेदारी गरेका थिए ।
संयुक्त राष्ट्रसंघका १५ वर्ष जागिर खाएका जोशीलाई काग्रेसको उम्मेदवार बनाएको छ । जिल्लाको भूगोलमा राजनीति नगरे पनि सभापति थापा र पूर्वमन्त्री बडूसंग लामो समयदेखि सम्पर्कमा रहेका जोशी प्राथमिकतामा परेका छन् । मतदाताको गुनासो र आक्रोसको सामना गर्नु नपर्ने र नयाँ अनुहार भएकोले उम्मेदवारीमा धर्मानन्द जोशीलाई खडा गरिएको काग्रेसजनको भनाई छ ।
‘पटकपटक उम्मेदवार बनेर निर्वाचित भएका दिलेन्द्रप्रसाद बडूप्रति मतदाताको गुनासो र आक्रोस बढ्न सक्ने भएकोले नयाँ उम्मेदवार बनाइएको’ काग्रेसका एक जिल्ला नेता बताउँछन् । २०७९ को निर्वाचनमा काग्रेस नेता बडू एमालेका प्रत्यासी गणेश सिंह ठगुन्नालाई पराजित गर्दै सांसद भएका थिए ।
प्रमुख प्रतिस्पर्धी ठगुन्नालाई टक्कर दिन सक्ने गरी काग्रेसले नयाँ अनुहार मैदानमा उतारेको काग्रेसजनको भनाई छ । ‘नयाँ अनुहारका साथै भूगोल र जातिय हिसाबले पनि जोशीले मत बढाउने आकलन छ’ काग्रेसका ती नेताले भन्नुभयो ।
जोशीको गृहक्षेत्र शैल्यशिखर नगरपालिकाका साथै मालिकार्जुन र लेकम गाउँपालिकामा समेत जातिय र भूगोलको झुकावले मत बढ्ने काग्रेसको अनुमान छ । ‘तुलनात्मक रुपमा एमालेले बढी मत पाउने यी तीनवटा पालिकामा अब हाम्रा उम्मेदवारले बढी मत पाउँछन्’ ती काग्रेस नेताको भनाई छ ।
२०४८ सालदेखि लगातार छ वटा निर्वाचनमा काग्रेसको तर्फबाट उम्मेदवार बनेका दिलेन्द्रप्रसाद बडूले यसपटक भने चुनाव नलड्ने घोषणा गरेका थिए । बडूको घोषणासंगै काग्रेसभित्र नयाँ उम्मेदवारको खोजी गरिएको थियो । जिल्ला सभापति ललितसिंह बोहरा, नेता जगदीशवहादुर पाललगायतको नाम चर्चामा भए पनि विशेष महाधिवेशनको परिस्थितिले चर्चाबाहिरबाट नयाँ अनुहार छनौट गरिएको बताइन्छ । उम्मेदवारी छनौटको अन्तिम समयमा जोशीसहित चारजनाको दाबेदारी प्रस्तुत भए पनि जिल्ला सभापति बोहरा र नेता पाल उम्मेदवार बन्न इच्छुक देखिएनन् ।
नेकपा (एमाले)बाट गणेश सिंह ठगुन्नाको उम्मेदवारी सुरुदेखि नै निश्चित जस्तै थियो । जिल्लास्तरबाट एकल उम्मेदवारी सिफारिस गरिएकोमा केन्द्रमा चुनावी गठबन्धनको चर्चाले दार्चुलाका एमालेजन निराश थिए । एमाले र काग्रेसबीच चुनावी गठबन्धन भएमा दार्चुलामा काग्रेसका बडूले टिकट पाउने र ठगुन्नाले बञ्चित हुनुपर्ने एमालेजनको चिन्ता थियो ।
मजबुद पार्टी संगठन ठानिएको एमालेलाई यसपटक काग्रेसका नयाँ अनुहारले मात्रै चुनौती दिएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्त र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का लक्ष्मणदत्त जोशीले पनि चुनौती दिइरहेका छन् ।
दार्चुलामा रास्वपाका साढे ७ हजार पार्टी सदस्य रहेको र आधाभन्दा बढी जनमत आफ्नो पक्षमा रहेको रास्वपाका उम्मेदवार सामन्त बताउँछन् । ‘बाँकी सबै पार्टी र उम्मेदवारको जनमत एकातिर छ भने हाम्रो जनमत अर्कोतिर छ’ ५० प्रतिशत जनमत रास्वपाको पक्षमा रहेको बताउँदै उम्मेदवार सामन्तले दाबी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक नयाँ अनुहार उठाएको छ । नेपाली सेनाका पूर्व कर्णेल राजेश चन्द राप्रपाको उम्मेदवार बनेका छन् भने यसपटक राप्रपाले जनमत बढाउने आकलन पनि गरिएको छ । चुनावी प्रचारको क्रममा गाउवस्तीहरुमा पुग्दा मतदाताको समर्थन र आकर्षण राप्रपाप्रति बढिरहेकोले आफु उत्साहित भएको उहाँको भनाई छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका लक्ष्मणदत्त जोशी दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले र काग्रेसको मतभन्दा दोब्बर मतले विजयी बनेका जोशी दोस्रोपटक चुनाव लड्दैछन् । पहिलो संविधानसभा निर्वाचनमा एमालेका ठगुन्ना र काग्रेसका बडूले १२÷१२ हजार मत ल्याउदा माओवादीका तर्फबाट जोशीले भने २५ हजार मत ल्याएका थिए ।
एमाले नेता ठगुन्नासंग जोशीको यो दोस्रो प्रतिस्पर्धा हो । दार्चुलामा प्रतिनिधिसभा सदस्यका ११ उम्मेदवार छन् । एमालेका ठगुन्ना पाँचौं पटक र नेकपाका जोशी दोस्रो पटक उम्मेदवार बनेका हुन् भने बाँकी ९ जनाले पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here