दार्चुला, फागुन १५ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाका नौवटै स्थानीय तहमा नेपाल प्रहरीले इन्सपेक्टरको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको छ । मतदान हुनुभन्दा एक हप्ताअघि नै सबै पालिकाको भूगोलमा इन्सपेक्टरहरु खटाइएका छन् ।
निर्वाचनको शान्तिसुरक्षामा प्रहरी पहिलो घेरामा रहनेछ । मतदानको दिनभन्दा पहिलेदेखि नै सुरक्षाकर्मी खटाएर सुरक्षाको उपस्थिति र प्रत्याभूति दिन खोजिएको दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताउनुभयो ।
‘जिल्लाका सबै स्थानमा सुरक्षाकर्मीको उपस्थिति र नियन्त्रण छ, निर्वाचनका लागि कुनै सुरक्षा चुनौती छैन’ पत्रकारहरुसंगको भेटघाटमा डिएसपी महतले बुधवार भन्नुभयो । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरका साथै मार्मा, लेकम र व्यास गाउँपालिकामा इन्सपेक्टरको कमाण्डमा इलाका प्रहरी कार्यालयहरु सञ्चालनमा छन् । दुहुँ, नौगाड, अपिहिमाल र मालिकार्जुन गाउँपालिकामा पछिल्लो समय सुरक्षाको कमाण्ड सम्हाल्न इन्सपेक्टरहरु खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
स्थानीय तहका भूगोलहरुमा रहेका प्रहरी युनिटहरुका इन्सपेक्टरसहित थप सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । निर्वाचन अवधिभर हरेक पालिकाको भूगोलमा इन्सपेक्टरले सुरक्षा कमाण्ड सम्हाल्ने योजना छ । आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेनाको समेत व्याकफोर्स परिचालन हुनेछ ।
निर्वाचनको सुरक्षा तयारी स्वरुप जनशक्ति परिचालनदेखि सञ्चार, विद्युत, यातायातको व्यवस्थापन पनि पूरा भएको डिएसपी महतले बताउनुभयो । दुइटा अस्थायी मतदान केन्द्रसहित जिल्लाभरी १ सय ४५ मतदान केन्द्र छन् । सबै मतदान केन्द्रमा प्रहरी पहिलो सुरक्षा घेरामा रहनेछ ।
मतपेटिका र मतदान केन्द्रको सुरक्षा गर्नेदेखि शान्तिसुरक्षाको वातावरण बनाइराख्नु प्रहरीको प्रमुख जिम्मेवारी रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयबाट चारजना इन्सपेक्टरसहितको जनशक्ति दार्चुलामा थपिएको छ ।
दार्चुलामा प्रहरीको ५ सयभन्दा बढी जनशक्ति छ भने ८ सय ८४ निर्वाचन प्रहरी खटाइएका छन् । खटाइएका निर्वाचन प्रहरीमध्ये ५ सय ८७ पुरुष र २ सय ९७ महिला छन् ।








