दल्लेख–नागु सडकमा बजेट शुन्य, जिम्मेवार को ?

0
40

दार्चुला, माघ २८ गते ।
नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्र जोड्ने दल्लेख–नागु सडकमा चालू आर्थिक वर्षमा शुन्य बजेट रहेको छ । प्रदेश सरकारअन्तर्गत रहेको यो सडकमा गतवर्षसम्म बजेट विनियोजन भए पनि यो वर्षदेखि बजेट नै राखिएको छैन ।
दल्लेखबाट सुण्डमुण्ड गाउँ हुँदै नागुक्षेत्र जोड्ने र नागुभन्दा अगाडि सिद्धटोपी–थाइसैन हुँदै व्यास गाउँपालिका–२ सिनामा महाकाली कोरिडोरसंग जोड्नेगरी यो सडक निर्माण सुरु गरिएको थियो । जिल्ला विकास समितिको संरचना हुँदादेखि नै एक दशकअघि दल्लेख सडक निर्माण थालनी गरिएको थियो । केही वर्ष संघीय सरकारले पनि निर्माण थालेको यो सडक आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले जिम्मा लिएको थियो ।
एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपा नेतृत्वको प्रदेश सरकारले आर्थिक २०७६÷७७ मा नौगाड गाउँपालिका–२ दल्लेखदेखि सुण्डमुण्ड हुँदै पिनातोलीसम्मको १२ किलोमिटर लामो सडक खण्डको डिपिआर तयार गरेको थियो । पूर्वाधार विकास कार्यालय बैतडीअन्तर्गत १२ करोड रुपैयाँ बजेट सुनिश्चिता गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित त्यसैवर्ष ठेक्का सम्झौता गरिएको थियो ।
२०७६ असोजमा ठेक्का सम्झौता भएकोमा तीन वर्षको अवधि भएकोले गत आर्थिक वर्षसम्म ठेक्काको सम्पूर्ण निर्माण कार्य पूरा भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धिरेन्द्र भट्टले बताउनुभयो । ‘स्रोत सुनिश्चिता भएको बजेट र ठेक्काको शर्तअनुसार निर्धारित परिमाणको निर्माण कार्य पूरा भइसकेको छ’ उहाँले भन्नुभयो ।
सडक निर्माणको डिपिआर १२ किलोमिटर लामो क्षेत्रको भए पनि हाल ९ दशमलव ४ किलोमिटर लामो क्षेत्रमा मात्रै सडक निर्माण गरिएको छ । दल्लेखदेखि पारिमेला गाउँको फेदसम्म मात्रै सडक निर्माण भएको छ । डिपिआर निर्माण गरिएको अन्तिम विन्दु पिनातोली जोड्न अझै अढाइ किलोमिटर बाँकी छ । हालसम्मको सडक निर्माणमा ७ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ ।
गतवर्षसम्ममा पुरानो ठेक्काको सम्पूर्ण निर्माण कार्य पूरा भएको र निर्माण कम्पनीलाई अन्तिम भुक्तानी गरिएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । सडक निर्माणको माग गर्दै चुनाव वहिस्कारको घोषणा गरिएको नागुक्षेत्र जोड्न पिनातोलीबाट करिब १० किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।
चालू आर्थिक वर्षमा यो सडक निर्माणमा बजेट विनियोजन नभएको र सडक निर्माणका लागि स्रोत सुनिश्चितता पनि नभएको कार्यालय प्रमुख भट्टले बताउनुभयो । स्रोत सुनिश्चितता र बजेट विनियोजन दुबै नभएकोले पारिमेलाभन्दा अगाडिको क्षेत्रमा सडक निर्माण हुन नसकेको उहाँको भनाई छ ।
पिनातोलीबाट नागुक्षेत्रसम्मको प्रस्तावित सडक निर्माणको डिपिआर पनि तयार भएको छैन । डिपिआरको अभाव र प्रदेश सरकारले शुन्य बजेट विनियोजन गर्दा दल्लेख–नागु–सिना सडक अलपत्र परेको छ ।
गतवर्ष संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभागले दल्लेख–सिना सडकमा स्तरोन्नती गर्न भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त बजेट कार्यान्वयनमा ढिलाइ हुँदा देखिनेगरी निर्माण कार्य हुन नसकेको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी बताउनुहुन्छ । ‘आर्थिक वर्षको अन्तिम समयमा ठेक्का सम्झौता भएको थियो, सडक निर्माणमा खासै काम भएको छैन, अधिकांश बजेट फ्रिज गएको अनौपचारिक जानकारी छ’ उहाँले भन्नुभयो ।
संघीय सरकारअन्तर्गतको निकायले ठेक्का व्यवस्थापन गर्दा स्थानीय सरकारसंग जानकारी र समन्वय पनि नभएको गुनासो छ । पिनातोलीभन्दा अगाडिको क्षेत्रमा नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा दल्लेखदेखि सुण्डमुण्डसम्मको क्षेत्रमा निर्माण भइरहेको सडकमा स्तरोन्नती कार्य गर्ने भन्दै संघबाट एक करोड बजेट आएको थियो । संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभागप्रति स्थानीय जनप्रतिनिधिहरुले यसबारे प्रश्न उठाएका छन् ।
गतवर्ष दल्लेख–सिना सडकमा स्तरोन्नती गर्ने भन्दैै एक करोड बजेट विनियोजन गर्ने स्थानीय पूर्वाधार विभागले यो वर्ष भने कुनै बजेट छुट्याएको छैन । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय र संघीय सरकारको स्थानीय पूर्वाधार विभागले एकसाथ दल्लेख–नागु सडकमा शुन्य बजेट राखेका छन् ।
‘काग्रेस–एमाले सरकारले बजेट शुन्य गर्यो’
प्रदेश सरकारले चालू वर्षको बजेटमा दल्लेख–सिना सडकलाई उपेक्षा गरेको प्रदेशसभा सदस्य मानवहादुर धामी ‘सन्तोष’को आरोप छ । ‘हामीले सरकारमा छदा थालनी गरेको दल्लेख–नागु सडकलाई वर्तमान प्रदेश सरकार उपेक्षा गरेको छ’ नेकपाका तर्फबाट निर्वाचन प्रदेशसभा सदस्य धामीले भन्नुभयो, ‘दल्लेखबाट नागुहुँदै सिनामा महाकाली कोरिडोरसंग जोड्नेगरी हामीले सडक निर्माणको थालनी गरेका थियौं, तर पछिल्लो समय यो सडकलाई ओझेलमा राखिएको छ ।’
दल्लेख–नागु–सिना सडकमा शुन्य बजेट राखेर निर्माण अलपत्र पारेको जिम्मेवारी काग्रेस–एमालेको वर्तमान प्रदेश सरकारले लिनुपर्ने प्रदेशसभा सदस्य धामीको भनाई छ । ‘हामी सरकारमा हुँदा काम सुरु गर्यौं, बजेट हाल्यौं तर अहिले बजेट नै शुन्य गरिएको छ, यसको जिम्मेवारी यसपालीको बजेट ल्याउने सरकारले लिनु पर्दैन ?’ नेकपाका प्रदेशसभा सदस्य मानवहादुर धामीको प्रश्न छ ।
स्थानीय सरकारका तर्फबाट पटक–पटक पहल र माग गरिए पनि प्रदेश सरकारबाट दल्लेख–नागु सडकमा बजेट विनियोजन नगरिएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीको भनाई छ । ‘विगतदेखि प्राथमिकतासहित निर्माण भइरहेको सडकमा पछिल्लो समय बजेट शुन्य गरियो, यो गम्भीर आपत्तिको विषय हो । प्रदेश सरकारले यसको जिम्मेवारी लिनुपर्छ’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।
नौगाड गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा (एमाले)का पूर्व जिल्लाअध्यक्ष प्रेम सिंह धामी भने स्थानीय सरकार र जनप्रतिनिधिहरुको पहल हुन नसक्दा दल्लेख–नागु सडकमा बजेट नपरेको बताउनुहुन्छ । ‘स्थानीय सरकार र प्रदेशस्तरका जनप्रतिनिधिहरुले आफ्नोस्तरबाट पर्याप्त पहल गर्नुपथ्र्यो तर न त्यस्तो पहल देखियो न त प्रदेश सरकारले सडकलाई महत्व दियो’ उहाँले भन्नुभयो ।
चालू वर्षको बजेट विनियोजन गर्दा प्रदेश सरकारमा नेपाली काग्रेसको नेतृत्व छ भने नेकपा (एमाले)का सुरेन्द्र पाल भौतिक योजना मन्त्री छन् । काग्रेस र एमालेको गठबन्धन सरकारले दल्लेख–नागु सडकमा शुन्य बजेट बनाएको नेकपाका नेताहरुको आरोप छ भने स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिहरुले भूमिका खेल्न नसक्दा सडकमा बजेट नपरेको एमाले नेताहरुको आरोप छ ।
दल्लेख–नागु सडक निर्माण गर्ने भन्दै २०७४ साल र २०७९ सालको निर्वाचनमा प्रमुख तीनवटै दलका उम्मेदवारहरुले नागुवासीसंग प्रतिवद्धता गरेका थिए । २०७४ मा गठबन्धन गर्ने एमाले र माओवादी तथा २०७९ मा गठबन्धन गर्ने काग्रेस र माओवादी तथा एक्लै चुनावी मैदानमा उत्रिएका काग्रेस र एमालेका सबै उम्मेदवारहरुले सडक निर्माण गर्ने आश्वासन दिएका थिए । तर कसैले पनि सडक निर्माणको प्रतिवद्धता पूरा गर्न नसक्दा अहिले एकअर्कोलाई दोष देखाउने प्रयास भइरहेको छ ।
सडक निर्माणको प्रतिवद्धता गर्ने अर्को दल नेपाली काग्रेसले अहिलेको निर्वाचनमा नयाँ उम्मेदवार ल्याए पनि पुराना उम्मेदवारहरुले पनि सडक निर्माणको प्रतिवद्धता गरेका थिए । २०७४ सालमा काग्रेसका उम्मेदवार विक्रम सिंह धामी र २०७९ मा माओवादीसहितको गठबन्धनमा काग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले पनि सडक निर्माणको प्रतिवद्धता गरेका थिए ।
पटक–पटक गरी प्रमुख तिनवटै दल र ती दलका उम्मेदवारहरुबाट सडक निर्माणमा ठगिएका नागुवासीले यसपटक भने चुनाव नै वहिस्कार गर्ने निस्कर्ष निकालेका छन् । नागुसम्मको सडक निर्माण नहुँदासम्म कुनै पनि चुनावमा भोट नहाल्ने सामूहिक घोषणा नागुवासीले गरेका छन् ।
सडक निर्माणका लागि आउने नयाँ प्रतिवद्धताहरुमा पनि विश्वास गर्न सकिने अवस्था नरहेको संघर्ष समितिका संयोजक करन सिंह डडालले बताउनुभयो । ‘एकपटक होइन धेरैपटक, एकजनाबाट होइन धेरैजनाबाट हामीले आश्वासन पायौं तर सडक बनेन । अब सडक नबन्दासम्म सिंगो गाउँले भोट नै नहाल्ने संकल्प गरेका छौं’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here