दार्चुला, माघ २८ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कारको घोषणा गरेका नौगाड गाउँपालिका– १ नागुक्षेत्रका स्थानीयलाई सरकारले फकाउने प्रयास गरेको छ । स्थानीयवासी भने चुनाव वहिस्कारको अडानमा यथावत रहेका छन् ।
माघ १ र १७ गते नागुक्षेत्रका स्थानीय आमभेला गर्दै चुनाव वहिस्कारको घोषणा गरिसकेका छन् । स्थानीयको घोषणालगत्तै जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरकारी टोली नागुक्षेत्र पुगेको छ ।
माघ २४ गते नागु पुगेर दुई दिनसम्म स्थानीयसंग छलफल गरेको सरकारी टोलीले चुनाव वहिस्कारको घोषणाबाट स्थानीयलाई फर्काउन भने सकेको छैन । दार्चुलाका प्रजिअ अनिल पौडेल नेतृत्वको टोलीले नागुक्षेत्र पुगेर स्थानीयलाई नागरिक वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य उपचार सेवा र पशु उपचार सेवा दिएको छ ।
नागुक्षेत्रका स्थानीयले उठाएको खाद्यान्न ढुवानीको माग पनि तत्काल सम्बोधन गराउन सरकार सक्रिय भएको छ । माघ २३ गतेदेखि नागुक्षेत्रका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल पुर्याउन सुरु गरिसकेको छ । स्थानीयले उठाएको झोलुंगे पुल निर्माण र विद्यालय भवन निर्माणको माग सम्बोधन गराउन पनि नौगाड गाउँपालिकासंग समन्वय भइरहेको सरकारी टोलीको भनाई छ ।
नागुक्षेत्रका स्थानीयवासी भने आफुहरुको प्रमुख माग दल्लेख–नागु सडक निर्माण नभएसम्म चुनाव वहिस्कारबाट पछि नहट्ने अडानमा छन् । आफुहरुको प्रमुख माग भनेकै तत्काल सडक निर्माण भएकोले सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निस्कर्षमा रहेको संघर्ष समितिका संयोजक करन सिंह डडाल बताउँछन् ।
प्रजिअ नेतृत्वको टोलीले स्थानीयका मागहरु सम्बोधन हुँदैगएकोले चुनावमा सहभागी हुन स्थानीयलाई आग्रह गरेको छ । तत्काल सम्बोधन गर्न सकिने मागहरु कार्यान्वयनमा गइसकेको र सडक निर्माणको विषयमा सम्बन्धित तहमा थप छलफल र पहल गर्ने सरकारी टोलीको आश्वासन छ ।
सडक निर्माणको माग आश्वासनले मात्रै सम्बोधन हुन नसक्ने भन्दै स्थानीयले प्रतिप्रश्न उठाएका छन् । ‘सडक निर्माण चाँडै गर्छौ भन्ने आश्वासन हामीले पटक–पटक पायौं तर हरेक पटक धोका मात्रै भयो, अब सडक निर्माण भएपछि मात्रै हामी चुनावमा सहभागी हुने निस्कर्षमा छौं’ संघर्ष समितिका संयोजक डडालले भन्नुभयो ।
नागुक्षेत्रका स्थानीयको सडक निर्माणको माग जायज भएकोले तत्काल सडक निर्माणको सुनिश्चितता हुनुपर्ने नौगाड गाउँपालिका–१ का वडाअध्यक्ष हरिलाल सिंह महताले बताउनुभयो ।
स्थानीयवासीका सबैजसो माग पूरा गर्न गराउन स्थानीय सरकार विगतदेखि सक्रिय रहेको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको भनाई छ । ‘पैदलबाटो, विद्यालय भवन, झोलुंगे पुल निर्माण आदि मागबारे हामी आफ्नोस्तरबाट सम्बोधन गर्दैछौं’ उहाँले भन्नुभयो । झोलुंगे पुल निर्माण र खाद्यान्न ढुवानीबारे संघीय सरकारका निकायहरुसंग आवश्यक पहल र समन्वय पनि गरिएको उहाँले बताउनुभयो ।
दल्लेख–नागु सडक निर्माणको प्रमुख माग भने आफ्नोस्तरबाट सम्बोधन हुन नसक्ने गाउँपालिका अध्यक्ष धामी बताउँछन् । ‘यो सडक निर्माण प्रदेश सरकारले गर्दैआएको हो, तर गतवर्षदेखि निर्माण कार्य बन्द छ’ उहाँले भन्नुभयो, ‘हामीले यसबारे प्रदेश सरकारसंग पहल र समन्वय गरेका छौ तर ठोस उपलब्धि भएको छैन । यो वर्ष सडक निर्माणका लागि बजेट नै विनियोजन नभएको जानकारी मिलेको छ ।’
नागुक्षेत्र जोड्ने सडक निर्माणबारे थप छलफल गरेर स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरिने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको भनाई छ । चुनाव वहिस्कार गरेका स्थानीयलाई चुनावमा फर्काउन राजनीतिक दल र उम्मेदवारहरुसमेतको सहभागितामा छलफल गराउने गृहकार्यमा स्थानीय प्रशासन छ ।







