न आए ओली, न खुल्यो बाटो

0
62

दार्चुला, कार्तिक २१ गते ।
गत पुषको चिसो मौसममा मध्यरातीसम्म दार्चुलाका एमाले–काग्रेसका नेताकार्यकर्तासहित व्यासक्षेत्रका केही स्थानीयले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरेका थिए । चिसो मौसम भए पनि मध्यरातीसम्म दार्चुला र व्यासक्षेत्रका वासिन्दासंग ओलीले दुई घण्टा लामो कुराकानी गरेका थिए । कुराकानीको मुख्य विषयवस्तु थियो– महाकाली नदीको किनारैकिनार व्यास जोड्ने पैदलबाटो निर्माण र सञ्चालन ।
नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माण गरिरहेको भए पनि सडक निर्माण सुस्त भएकोले तत्कालै नेपालतर्फको भूगोलमा पैदलबाटो खोल्नेगरी बजेट व्यवस्थापनको प्रमुख माग दार्चुलावासीको थियो । तत्कालिन प्रधानमन्त्री ओलीले मध्यरातीमै अर्थमन्त्री विष्णु पौडेललाई बोलाएर तत्कालै व्यासको पैदलबाटोमा ५ करोड रुपैयाँ बजेट उपलब्ध गराउन भने । अर्थमन्त्रीले पनि प्रधानमन्त्रीको निर्देशन र दार्चुलावासीको मागलाई तत्कालै सम्बोधन गरे । शहरी विकास विभागको ५० लाख र अर्थ मन्त्रालयबाट ५ करोड गरेर व्यासको पैदलबाटो निर्माणका लागि व्यास गाउँपालिकालाई ५ करोड ५० लाख बजेट दिइयो ।
दुई महिनामै व्यासको पैदलबाटो निर्माण गरिसक्ने र चैत्र–वैशाख महिनामा नेपालकै बाटो भएर व्यासवासीको कुञ्चा (बसाइसराई) सार्ने त्यतिबेलै योजना बनाइएको थियो । व्यासवासीसंगको छलफलमा ओलीले पैदलबाटो बनेपछि आफु पनि त्यसक्षेत्रको भ्रमणमा आउने बताएका थिए । व्यासवासीले कैलाश–मानसरोवरको शुद्ध जल ओलीलाई प्रसादका रुपमा दिएका थिए र व्यासक्षेत्र भ्रमणको निम्ता पनि गरेका थिए ।
दुई घण्टा लामो कुराकानीको क्रममा तत्कालिन प्रधानमन्त्री ओलीले व्यासक्षेत्र भ्रमण गर्ने आफ्नो तिब्र इच्छा रहेको तर कुनै सन्दर्भ वा कार्यक्रमविना भ्रमण भने गर्न नसक्ने बताएका थिए । छलफलका सहभागीहरुले व्यासको पैदलबाटो खुलेपछि त्यसको उद्घाटन गर्ने, व्यासको छाङरुमा तत्कालिन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नेगरी बनाइएको तर उद्घाटन हुन नसकेको राष्ट्रिय स्तम्भ उद्घाटन पनि गर्ने तथा छाङरुमै निर्माण गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म भवनको उद्घाटन कार्यक्रम जोड्नेगरी ओलीलाई व्यास भ्रमणको निम्ता गरेका थिए ।
‘तपाईहरु पैदलबाटो खोल्नुहोस्, म जसरी पनि व्यासक्षेत्रमा पुग्छु’ तत्कालिन प्रधानमन्त्री ओलीले स्थानीयलाई भनेका थिए । व्यासक्षेत्रको हावापानी आफ्नो स्वास्थ्यका लागि प्रतिकुल हुनसक्ने भए पनि हेलिकोप्टरबाट केही घण्टाका लागि आफु त्यसक्षेत्रमा पुग्ने ओलीको भनाई थियो । ओलीले ॐ हिमाल र टिंकर नाकाको बारेमा पनि चाँसो राखेका थिए ।
पैदलबाटो निर्माणको आफ्नो माग प्रधानमन्त्रीबाट सम्बोधन भएपछि दार्चुलाका नेताकार्यकर्ता र व्यासक्षेत्रका वासिन्दा त्यतिबेला खुशी भएका थिए । प्रधानमन्त्रीकै स्तरबाट तत्काल बजेट व्यवस्थापन गरिएको र केही महिनामै भ्रमण समेत हुने भनिएपछि स्थानीयमा उत्साह जाग्नु स्वाभाविक पनि थियो ।
व्यास गाउँपालिकालाई प्राप्त भएको पैदलबाटो निर्माणको साढे ५ करोड बजेट कार्यान्वयनमा भने प्राविधिक कठिनाई देखियो । काग्रेस–एमालेका नेताकार्यकर्ता र डेलिगेशनमा सहभागी व्यासका स्थानीयले उपभोक्ता समितिमार्फत बाटो निर्माणको कार्य सञ्चालन गर्न खोजे । तर गाउँपालिकाले भने १ करोडभन्दा बढी लागतको काम ठेक्का प्रक्रियामार्फत मात्रै सञ्चालन गर्न सकिने कानुनी प्रावधान देखायो ।
ठेक्का प्रक्रियाबाट बाटो निर्माण गर्ने टुंगो लागेपछि ठेक्का प्रक्रिया पूरा हुन ३ महिनाको समय खर्च भयो । गाउँपालिकाले बाटो निर्माण गर्ने ठेक्काको टुंगो लगाएर जेठ १० गते मात्रै निर्माण कम्पनीसंग ठेक्का सम्झौता गर्यो । यता, प्रधानमन्त्री ओलीले भने गत फागुन २५ गते सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्नेक्रममा व्यास पैदलबाटो निर्माणको प्रसंग निकाले । संघीय सरकारले उच्च महत्व दिएर व्यासको पैदलबाटो निर्माणमा ५ करोड बजेट उपलब्ध गराएको र बाटो निर्माण कार्य धमाधम भइरहेको ओलीले सम्बोधनमा भने ।
भूगोलको वास्तविकता भने फरक थियो । गाउँपालिकाले टेण्डर आव्हान गरेकोमा टेण्डर दर्ताको समय नै पूरा भएको थिएन त्यतिबेला । लगत्तै चैत्र ७ गते प्रतिनिधिसभा बैठकमा पनि तत्कालिन प्रधानमन्त्री ओलीले व्यासको पैदलबाटोको प्रसंग निकाले । सांसदहरुसंगको प्रश्नोत्तर कार्यक्रममा ओलीले नेपालीको भूमि भएर व्यासक्षेत्र जोड्ने पैदलबाटो निर्माण भइरहेको जवाफ दिए । यतिबेलासम्म पनि बाटो निर्माण सुरु भएको थिएन ।
प्रधानमन्त्रीले सिमाक्षेत्रको पैदलबाटोबारे प्रतिनिधिसभा र प्रदेशसभामा अवास्तविक कुरा भनिरहेका थिए । जिल्ला र सिमाक्षेत्रको भूगोलमा प्रधानमन्त्रीले भनेजस्तो पैदलबाटो धमाधम निर्माण भइरहेको थिएन । व्यास गाउँपालिकाको कागजी प्रक्रियामै व्यासको पैदलबाटो अल्झिएको थियो । तर प्रधानमन्त्रीलाई भूगोलको वास्तविकता कसैले बताएनन् । प्रधानमन्त्रीको सचिवालयले यसबारे सोधखोज गरेन । साथै, सरकारी संयन्त्रहरुले र प्रधानमन्त्री ओलीको पार्टी संयन्त्रले पनि यसबारे वास्तविक तथ्य र अवस्थाबारे ओलीलाई जानकारी गराएनन् ।
पुष महिनाको चिसो रातमा बनेको व्यासको पैदलबाटो निर्माण गर्ने र प्रधानमन्त्री ओलीले व्यासक्षेत्र भ्रमण गरेर बाटो उद्घाटन गर्ने योजना अधुरै रहेको छ । गत वैशाख महिनामा व्यासवासीको कुञ्चा भारतीय मार्ग हुँदै माथि सरेको छ । गत भदौ २३ को जेनजी आन्दोलनबाट प्रधानमन्त्री ओलीको सरकारनै ढलेको छ । यता व्यासको पैदलबाटो पनि अहिलेसम्म बनेको छैन ।
ठेक्का प्रक्रियामा लामो समय खर्च भएपछि व्यास गाउँपालिकाले गत आर्थिक वर्षभित्रै पैदलबाटो खोल्ने कार्य सम्पन्न गर्न नसकिएको बताएको छ । गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर १५ गतेसम्म बाटो निर्माण कार्यको म्याद थप गरेको छ । गत जेठ १० गते बाटो निर्माणको ठेक्का सम्झौता भएकोमा डेढ महिनाको अवधिमा ४ करोड रुपैयाँ बराबरको बाटो निर्माण कार्य गरिएको अभिलेख छ ।
व्यासको बाटो निर्माण कार्य अबको एक महिनाभित्र सम्पन्न गरिने निर्माण कम्पनी मिशन–देवहरि जेभीका प्रतिनिधि केशववहादुर पालको भनाई छ । असार, साउन र भदौं महिनामा अत्यधिक वर्षाका कारण बाटो निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । हाल व्यास गाउँपलिकाको वडा नम्बर १ बुदीदेखि वडा नम्बर २ को तम्बाकुसम्मको क्षेत्रमा बाटो निर्माणको अन्तिम कार्य भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
भारत र चीनसंग सिमा जोडिएको अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा नेपालतर्फ पैदल हिड्ने बाटो समेत छैन । बाटोको अभावमा सर्वसाधारण नेपालीदेखि सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुले समेत भारतीय प्रशासनको लिखित अनुमतिमा भारतीय बाटो प्रयोग गर्दैआएका थिए ।
चुच्चे नक्साको भूगोल नजिकका छाङरु र तिंकर गाउँ जोड्नेगरी पैदलबाटो सञ्चालनमा ल्याउने १० महिनाअघिको योजना र प्रयास पूरा हुन सकेको छैन । पैदलबाटो निर्माणका लागि बजेट उपलब्ध गराउने तत्कालिन प्रधानमन्त्री ओलीको सरकार नै परिवर्तन भएको छ । यता, बाटो निर्माण कार्यमा पनि ढिलाइ भएको छ । सिमाक्षेत्रमा पैदलबाटो सञ्चालन गर्ने र प्रधानमन्त्रीबाट उद्घाटन गराउने सिमावासीको चाहना पूरा हुन सकेको छैन ।
व्यासको पैदलबाटो निर्माणका लागि तत्कालिन प्रधानमन्त्रीसम्म डेलिगेशनको नेतृत्व गर्ने एमाले नेता एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना जसरी पनि पैदलबाटो सञ्चालनमा ल्याउनुपर्ने भन्दैआएका थिए । साउनदेखि असोजसम्म बाटो निर्माण कार्य बन्द रहेकोमा नेता ठगुन्नाकै जोडबलमा अहिले निर्माण कम्पनीले बाटो निर्माण कार्य गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here