दार्चुलाका दर्जन सडक प्रदेश लोकमार्ग

0
109

दार्चुला, असार १६ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले सडकहरुको वर्गिकरण गरेको छ । प्रदेशभरीका ३ सय ७९ वटा सडकहरुलाई तीन श्रेणीमा वर्गिकरण गरी प्रदेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको हस्ताक्षरसहित गत जेठ १५ गते प्रदेश सडकहरुको विवरण सार्वजनिक गरिएको हो । प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र अन्य विशेष उद्देश्यका सडकहरु गरी तीन श्रेणीमा सडकहरुमा राखिएका छन् ।
प्रदेश लोकमार्गअन्तर्गत ७० वटा सडक राखिएका छन् । यी सबै सडकहरुको कुल लम्बाई ३ हजार २९ दशमलव ७९ किलोमिटर रहेको छ । प्रदेश लोकमार्गअन्तर्गत दार्चुलाका एक दर्जन सडक समेटिएका छन् भने जिल्लाभरी प्रदेश लोकमार्गहरुको कुल लम्बाई ३ सय ४५ दशमलव ६१ किलोमिटर छ । सार्वजनिक विवरण अनुसार प्रदेश लोकमार्गमध्ये करिब १५ प्रतिशत लोकमार्गको संख्या र १० प्रतिशत सडकको लम्बाई दार्चुलामा पर्दछ ।
प्रदेश लोकमार्गमा राखिएका दार्चुलाका सडकहरुमध्ये सबैभन्दा ठूलो खलंगा–खार–देथला–बिटुले–पारिबगर–खण्डेश्वरी–क्षेत्ती सडक रहेको छ । यसको लम्बाई ९४ दशमलव ९३ किलोमिटर रहेको छ ।
दार्चुलाका चारवटा स्थानीय तहको भूगोल जोडेर यो सडक निर्माण भइरहेको छ । सदरमुकामदेखि महाकाली नगरपालिका, नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाको अन्तिम वस्तीको क्षेत्ती गाउँ जोड्नेगरी यो सडक निर्माणाधिन छ । चमेलिया नदीपारी बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाको केही भूगोल समेत यो लोकमार्गले जोड्दछ ।
मालिकार्जुन गाउँपालिकाको ऐरीछानादेखि बल्लेख–लिमा–बाकु सडक पनि प्रदेश लोकमार्गमा राखिएको छ । यसको लम्बाई १७ दशमलव ०४ किलोमिटर छ भने यसले मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ को भूगोल जोड्दैछ ।
ऐरीछानादेखि लेकम गाउँपालिकाको भूगोल जोड्ने ऐरीछाना–टकना–गोदाली–पाती–मानिबिसा सडक (२३.९३ किमी), भर्तोला–जोलजिवी–शेरा सडक (३६.९१ किमी) र गोकुले–बन्तोली–पनेबाज सडक (१७.५८ किमी) पनि प्रदेश लोकमार्गमा राखिएको छ । यी सडकमध्ये भर्तोला–जोलजिवी–शेरा सडकको करिब ३ किलोमिटर ट्रयाक खोल्न बाँकी छ भने अन्य क्षेत्रको ट्रयाक निर्माण भइसकेको छ ।
प्रदेश लोकमार्गअन्तर्गत मालिकार्जुन–भगवती–थाप्ला–दत्तु सडक (२६.७४ किमी), शंकरपुर–हुनैनाथ–सलेती सडक (१३.१२ किमी) र थालिगाड (धाप)–निसिल–बगौरा सडक (१८.६३ किमी) राखिएका छन् । थालिगाड–निसिल–बगौरा सडकको करिब ४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । यो सडक जोडिएपछि महाकाली लोकमार्गको विकल्पमा गोकुलेश्वरदेखि बगौरा–धाप हुँदै सदरमुकाम जोड्ने छोटो सडक सुविधा हुनेछ ।
तिमुरपाटा–कालागाड–तुसराडी–बनानी–बसेडी–स्याकु सडक (३३.२२ किमी) महाकाली कोरिडोरको विकल्पको रुपमा छोटो सडक रहेको छ । प्रदेश लोकमार्गमा राखिएको यो सडकको वास्तविक लम्बाई भने राजपत्रमा उल्लेख गरिएकोभन्दा कम छ । यो सडकको डिपिआर निर्माण गरिदा तिमुरपाटादेखि राप्लाको माल जोड्नेगरी नापजाँच गरिएकोले ३३ किलोमिटर लम्बाई देखिएको स्थानीय बताउँछन् । हाल तिमुरपाटादेखि हुती हुँदै स्याकु जोड्नेगरी सडक निर्माण अगाडि बढाइएको हो । तिमुरपाटादेखि हुतीको गोरेटो बजारमा टिंकर सडकसंग जोड्ने अर्को विकल्प पनि छ । यो सडकको लम्बाई १०–१२ किलोमिटर मात्रै हुने अवस्था छ ।
गोकुलेश्वर–रिठाचौपाता–मैखोली–रातामाटा–खरकडा–लाली सडक (३२ किमी) र ऐरीछना–टकना–रिठाचौपाता–सिरोडा–सर्मोली–धन्थला सडक (१६.८३ किमी) पनि प्रदेश लोकमार्गमा राखिएको छ । गोकुलेश्वर–रातामाटा–लाली सडकअन्तर्गत गोकुलेश्वरदेखि लेकम गाउँपालिकाको केन्द्र रातामाटासम्मको सडक स्तरोन्नती गरी कालोपत्रे गर्ने गृहकार्य भइरहेको छ ।
प्रादेशीय तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत यो सडक स्तरोन्नती र कालोपत्रेको तयारी हुँदैछ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा प्रदेश सरकारले यो सडकको विस्तृत आयोजना प्रतिवेदन डिपिआर) तयारी गर्न २२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
ऐरीछानादेखि रिठाचौपाता हुँदै धन्थला जोड्ने सडक पनि चमेलिया नदी किनारबाट लेकम र मालिकार्जुन गाउँपालिकाको भूगोल हुँदै सदरमुकाम जोड्ने छोटो सडकको विकल्प बन्ने सम्भावना छ ।
यी सडकहरु बाहेक अन्य ७ वटा सडकहरुलाई प्रदेश सहायक मार्गअन्तर्गत राखिएको छ । यसैगरी दार्चुला जिल्लाभरीका विभिन्न १७ वटा सडकहरुलाई अन्य विशेष उद्देश्यका सडकहरुको श्रेणीमा राखिएको छ । सुदूरपश्चिम प्रदेशभरका ११९ सडकहरु सहायक प्रदेश लोकमार्गमा र १ सय ९० सडकहरु अन्य विशेष उद्देश्यका सडकहरुमा वर्गिकरण गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here