नयाँ भवन बन्नुपर्ने तिंकरमा मर्मतका लागि साढे ८ लाख बजेट

0
140

दार्चुला, असार १३ गते ।
नेपाल–चीन सिमा नजिकको तिंकरस्थित इलाका प्रहरी कार्यालय वर्षौदेखिको जीर्ण भवनमा सञ्चालन भइरहेको छ । पञ्चायतकालमै निर्माण भएका भवनहरु मर्मत गर्दै सुरक्षाकर्मीहरु तिंकरको छियालेकमा बस्दैआएका छन् । अन्तर्राष्ट्रिय सिमा नाकाको प्रहरी कार्यालय व्यवस्थित र सुरक्षित हुनुपर्नेमा जीर्ण भवनमा इप्रका सञ्चालित छ ।
सिमा प्रहरी चौकीबाट इलाका प्रहरी कार्यालय रुपान्तरण भएको ३ वर्ष भइसकेको छ तर तिंकरको इप्रकाको भौतिक संरचना पञ्चायतकालको अवशेष मात्रै छ । पञ्चायतकालमा २०२४ सालमा सिमा प्रहरी चौकी टिंकर स्थापना गरिएको थियो । पञ्चायतकालमा निर्माण गरिएका भवन र संरचना जीर्ण भइसकेका छन् । तिनै जीर्ण भवनका संरचनामा गणतन्त्रकालिन इप्रका सञ्चालनमा छ ।
प्रहरी युनिटका दुइटा भवन छन् तर एउटा भवनको छत पूरै भत्किएको अवस्था छ । अर्को भवनका तीनवटा कोठा मर्मत गरेर अहिले सुरक्षाकर्मी बसिरहेका छन् । सुरक्षाकर्मीको आवाश, भान्सा र कार्यालय त्यही भवनका तिनवटा कोठामा राखिएका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ बजेटबाट तिनवटा कोठाको छाना मर्मत गरिएको प्रहरीको भनाई छ । छाना मर्मतसंगै शौचालय पनि निर्माण गरिएको थियो ।
तिंकरको प्रहरी युनिटका लागि नयाँ भवनको संरचना आवश्यक छ । यहाँ पुग्ने हरेक अधिकारीहरुले भवन निर्माणको आवश्यकताबारे भन्छन् तर अहिलेसम्म भवन निर्माणका लागि बजेट उपलब्ध हुन सकेको छैन ।
पछिल्ला पाँच वर्षदेखिका सबैजसो सिडिओ र डिएसपीहरु अनुगमन र भ्रमणका क्रममा तिंकर पुगेका छन् । सबैले यहाँको वस्तुस्थितिबारे जानकारी पनि पाएका छन् । धेरैजसोले तिंकरमा प्रहरी भवन निर्माणको पहल पनि गरेका होलान् तर नतिजा देखिएको छैन । भवन निर्माणका लागि अहिलेसम्म कतैबाट बजेट विनियोजन हुन नसकेको स्थानीय बताउँछन् ।
आर्थिक वर्ष २०८२÷८३ को बजेटमा प्रदेश सरकारले प्रहरी चौकी तिंकर दार्चुला निर्मित भवनको संरचनात्मक सुधार शीर्षकमा ८ लाख ५० हजार बजेट छुट्याएको छ । तर भवन मर्मतका लागि यो बजेट अत्यन्तै न्युन रहेको छ । सामग्री ढुवानीमा धेरै खर्च हुने भएकोले तिंकरमा भवन निर्माण तथा मर्मत कार्य महंगो हुन्छ ।
तिन वर्षअघि सिमा प्रहरी चौकीबाट इलाका प्रहरी कार्यालयमा स्तरोन्नती भइसकेको भए पनि प्रदेश सरकारले प्रहरी चौकी भवन मर्मतका लागि भन्दै बजेट विनियोजन गरेको छ । प्रहरी युनिटको नाम र स्तरसम्म प्रष्ट छुट्याउन नसक्नेहरुले कस्तो प्राथमिकता निर्धारण गरे होलान् भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।
तीन वर्षअघि प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ बजेटबाट तीनवटा कोठाको छाना मर्मत र शौचालय निर्माण कार्य गरिएकोमा नयाँ वर्षको साढे ८ लाख बजेटले धेरै काम हुने अवस्था छैन । तिंकरको छियालेकमा प्रहरीका लागि नयाँ भवन निर्माणको आवश्यकता रहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । ‘अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा राम्रो, सुरक्षित र आकर्षक भवन संरचना बनाउनुपर्नेमा सरकारहरुले यसतर्फ ध्यान दिएका छैनन्’ उहाँले भन्नुभयो ।
छियालेकमा प्रहरी कार्यालय छेउमै सशस्त्र प्रहरीको विओपी स्थापना गरिएको छ । करिब १ करोड रुपैयाँ खर्चेर विओपीको भौतिक संरचना बनाइएका छन् । तर उच्च हिमाली क्षेत्रमा जाडो छेक्नेगरी भवनको संरचना निर्माण नभएकोले बसाइ कष्टकर रहेको त्यहाँ कार्यरत सुरक्षाकर्मीको भनाई छ । सशस्त्र प्रहरीको विओपी भवनको संरचना फाइवरले बनाइएको छ ।
धेरैजसो समय हावा चलिरहने र चिसो हुने भएकोले हावापानी अनुकुल हुनेगरी भवन लगायतका संरचना निर्माण गर्नुपर्ने सुरक्षाकर्मीहरुको भनाई छ । व्यास गाउँपालिकाको वडा नम्बर १ तिंकर गाउँदेखि २ किलोमिटरको दूरी छियालेकमा इलाका प्रहरी कार्यालय तिंकर र सशस्त्र प्रहरीको विओपी पर्छन् ।
छियालेकबाट ५÷६ घण्टाको उकालो चढाइपछि नेपाल र चीनको सिमा छुट्याउने १ नम्बर पिलर टिंकर भञ्ज्याङ पुगिन्छ । छियालेकभन्दा माथि मानव बसोबास छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here