धनगढी, जेठ १९ गते ।
सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा सोमबार माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री मानबहादुर धामीले दार्चुलाको सीमा क्षेत्रमा भइरहेको भारतीय अतिक्रमणबारे गम्भीर प्रश्न उठाएका छन् ।
धामीले सदनमा बोल्दै २०७० सालको विनाशकारी बाढीपछि नेपालतर्फको वन कार्यालयको करिब ५० रोपनी जग्गा भारतले तटबन्ध निर्माण गरेर अतिक्रमण गरिरहेको आरोप लगाए ।
उनले दार्चुला प्रशासनले वैशाखमै गृह मन्त्रालयमार्फत विवाद समाधानको लागि पत्राचार गरिसकेको जानकारी दिँदै भने, ‘संघीय गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको, परराष्ट्रले भारतीय दूतावाससँग जवाफ मागेको र भारतस्थित नेपाली दूतावासलाई पनि निवेदन दिएको समाचार आएका छन् ।’
जेठ ८ र ९ गते भारतस्थित नेपाली दूतावासका अधिकारीहरू र केही भारतीय कर्मचारीहरू दार्चुला सदरमुकाम नजिक उक्त विवादित क्षेत्रको अनुगमन गरी फर्किएको खबर उनले सदनमा प्रस्तुत गरे। भारतबाटै गरिएको अनुगमनबाट थप शङ्का पैदा भएको उनले बताएका थिए ।
‘अहिले पनि भारतीय स्काइभेटरहरू नेपालतर्फ पसेर पक्की तटबन्ध निर्माण गरिरहेका छन्, यो अत्यन्तै गम्भीर विषय हो’, सांसद धामले भने, ‘के सङ्घीय सरकारले त्यो ५० रोपनी जग्गा भारतलाई बिक्री गरेर कुनै सौदाबाजी गरेको हो? कि सरकार राष्ट्रियताको सवालमा गम्भीर छैन ?’
उनले उक्त क्षेत्रको वर्तमान अवस्थाबारे स्पष्ट पार्न सरकारसँग लिखित जवाफ माग्दै सभामुखमार्फत सङ्घीय सरकारलाई रुलिङ गर्न आग्रह गरेका छन् ।
‘दार्चुलाको उक्त भूमि साँच्चै नेपालले भारतलाई सुम्पिएको हो त? कि कुनै गोप्य सम्झौता भएको छ ?’, धामीले संसद्मा प्रश्न गरेका थिए ।
(नेपालप्रेस डटकमबाट साभार)