दार्चुला, जेठ ११ गते ।
भारतको विदेश मन्त्रालयले कैलाश–मानसरोवर यात्रामा सहभागी हुने तिर्थयात्रीहरुको छनोट गरेको छ । पाँच वर्षपछि सुचारु हुन लागेको कैलाश–मानसरोवर यात्राका लागि जेठ ७ गते यात्रीहरु छनोट गरिएका हुन् ।
यो वर्ष सात सय ५० यात्रीले कैलाश–मानसरोवर यात्रा गर्नेछन् । कैलाश यात्राका लागि दुइटा रुट निर्धारण गरिएको छ । राजधानी दिल्लीबाट टनकपुर–धारचुला हुँदै लिपुलेक पास भएर पाँच वटा टोलीले कैलाश यात्रा गर्नेछन् । यसैगरी, सिक्किमको नाथुला नाका भएर १० वटा टोलीले कैलाश–मानसरोवर यात्रा गर्नेछन् । हरेक टोलीमा ५० जना तिर्थयात्री हुनेछन् ।
भारतका विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहको उपस्थितिमा गोलाप्रथाबाट कैलाश यात्रीहरुको छनोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्प्युटर प्रणालीमार्फत पारदर्शी रुपमा यात्रीको छनोट गरिएको विदेश मन्त्रालयले बताएको छ ।
यो वर्षको कैलाश–मानसरोवर यात्राका लागि पाँच हजार पाँच सय ६१ भारतीय नागरिकले अनलाइन आवेदन भरेका थिए । जसमध्ये चार हजार २४ पुरुष र एक हजार पाँच सय ३७ महिला थिए । आवेदकहरुमध्ये सात सय ५० यात्रीको छनोट गरिएको जनाइएको छ ।
लिपुलेक पासबाट पाँच टोली र नाथुला पासबाट १० टोलीले कैलाश यात्रा गर्नेछन् । प्रत्येक टोलीमा दुइजना सरकारी अधिकारीको सहभागिता हुनेछ । यो वर्षको कैलाश–मानसरोवर यात्रा जुन ३० बाट सुरु हुने तालिका सार्वजनिक गरिएको छ ।
दिल्लीबाट टनकपुर–पिथौरागढ–धारचुला हुँदै कैलाश यात्रीहरुको टोली गुन्जी हुँदै लिपुलेक पुग्नेछ । पहिलो टोलीका जुलाइ १० मा लिपुलेक पास भएर चीनको सिमाक्षेत्रमा प्रवेश गर्ने तालिका छ । कैलाश–मानसरोवर यात्रीहरुको गुञ्जी आइटिविपीले स्वास्थ्य परीक्षण गरिने खबर भारतीय पत्रपत्रिकाले लेखेका छन् ।
कोभीड महामारीका कारण अवरुद्ध भएको कैलाश–मानसरोवर यात्रा छैठौं वर्ष सुचारु हुन लागेको हो । यात्रा सञ्चालनका लागि चीन र भारतको उच्चतहमा सहमति भइसकेको छ । यो वर्षको कैलाश यात्रा अगस्ट २२ सम्म सञ्चालन हुने जनाइएको छ ।
भारत सरकारको व्यवस्थापनमा सञ्चालन गरिने कैलाश–मानसरोवर यात्रामा प्रति यात्री एक लाख ७४ हजार भारतीय रुपैयाँ खर्च हुने जानकारी दिइएको छ ।