दार्चुला, जेठ ४ गते ।
दार्चुलाका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले महाकाली कोरिडोरलाई राष्ट्रिय गौरवको योजनामा समेट्न माग गरेका छन् । आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बडूले यस्तो माग गरेका छन् ।
त्रिदेशीय व्यापारको ढोका खुल्ने, बसाइसराइ रोकिने र व्यापक आर्थिक गतिविधि बढाउने भएकाले राष्ट्रिय गौरवको योजनामा राख्न उहाँले माग गर्नुभएको छ । नेपाली सेनाले प्रस्ताव गरेबमोजिम दुई वर्षभित्र टिंकर सडकको ट्रयाक खोल्नेगरी बजेटमा प्राथमिकता दिन सरकारसंग माग गरिएको छ ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सहभागी हुँदै सांसद बडूले वैशाख २४ गते महाकाली कोरिडोरलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
यस्तो छ सांसद बडूको भनाई ः
महाकाली कोरिडोर किन छुट्यो गौरवको योजनामा ? यस्तो योजना जसले नेपाल, भारत र उत्तरमा चीनलाई जोड्दछ र यो जोड्ने वित्तिकै तत्काल त्रिदेशीय व्यापार सुरुवात हुन्छ, माइग्रेशन रोकिन्छ र एउटा व्यापक आर्थिक गतिविधिको सुरुवात हुन्छ । यस्तो अवस्था हुँदा पनि यसलाई रोकिएको छ ।
महाकाली कोरिडोरको उत्तरी हिस्सा जो ७९ किलोमिटर (लामो) छ यसलाई हामीले २०७७ सालदेखि नेपाली सेनालाई निर्माणको जिम्मा दियौं । यसपटक नेपाली सेनाले एउटा नयाँ कार्ययोजना दिएको छ । ठ्याक्कै यही नीति र कार्यक्रमसंग मिल्दोजुल्दो छ, त्यो के भने उहाँहरुले अहिले एक वर्षमा पैदल ट्रयाक खोल्ने र आगामी दुई वर्षभित्र (तीन वर्ष बढीमा लाग्छ) टिंकरसम्म बाटो पुर्याउने अठोट, एउटा कार्ययोजना नेपाली सेनाले सरकारसमक्ष पेश गरेको छ । त्यो योजना यसभित्र पर्नु पर्दछ, मेरो विशेष आग्रह छ ।
त्यसले पनि यो नीति र कार्यक्रमसंग मिल्ने भएकोले यसलाई छोड्नु भएन । यसलाई राष्ट्रिय गौरवको योजना र कार्ययोजनाभित्र राखेर सम्पन्न गरिनुपर्छ ।
यसपटक ५ करोड रुपैयाँ छुट्याएर दुइटा स्काइभेटरहरु हेलिलिफ्ट गरेर छाङरुमा पुर्याउने र दुबैतर्फबाट सडक निर्माण गर्ने कार्यलाई महत्व दिनुपर्छ । यसका लागि विशेष आग्रह गर्न चाहन्छु ।
महाकाली कोरिडोरको दार्चुलाको सदरमुकामदेखि कञ्चनपुरको ब्रह्मदेवसम्मको अवस्था पुनरावलोकनको आवश्यकता छ ।
कोरिडोर भनेको सडकको छोटोभन्दा छोटो लम्बाई बनाउने र छिटोभन्दा छिटो सेवा र प्रतिफल प्राप्ति हुनुपर्ने हो । तर त्यसअनुरुप हुन सकिरहेको छैन । महाकाली कोरिडोर अन्तर्राष्ट्रिय सिमा नदीमा छ । यसको पारिपट्टि भारततर्फ टनकपुरदेखि धारचुलासम्मको सडकको लम्बाई १ सय ६० किलोमिटर मात्रै छ । हाम्रो दक्षिणतिरको कोरिडोरको लम्बाई ३ सय ६ किलोमिटर छ ।
यसको के अर्थ हुन्छ र ? यसलाई हामीले पुनःमुल्यांकन र पुनःसर्भेक्षण गरेर भारतको समानान्तर छोटोभन्दा छोटो सडक बनाउनुपर्छ । हामी १ सय ७० देखि १ सय ८० किलोमिटर लम्बाईमा कोरिडोर बनाउन सक्छौं । त्यसकारण यसको पनि पुनरावलोकन गर्नुपर्छ, नीति र कार्यक्रमले यसलाई सम्बोधन गर्नुपर्छ ।