स्काइभेटर मेसिन फिर्ता गरेकोमा सिडिओले पाए धन्यवाद र प्रशंसा

0
1148

दार्चुला, माघ ९ गते ।
अनुमतिविना महाकाली नदीमा तारेर नेपालतर्फ पुगाइएको स्काइभेटर मेसिन सुरक्षित रुपमा फिर्ता गरेकोमा भारतीय अधिकारीहरुले दार्चुलाका सिडिओलाई धन्यवाद दिएका छन् । एक महिनाअघि सदरमुकाम खलंगाको वसपार्क क्षेत्र नजिक भारतीय ठेकेदारको मेसिन महाकाली वारी ल्याइएको थियो ।
माघ ७ गते भारतको धारचुलामा आयोजित सिमा बैठकमा पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीसहितका अधिकारीहरुले दार्चुलाका प्रजिअ यज्ञराज जोशी र नेपाली सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । ‘स्काइभेटर र अपरेटरलाई सुरक्षित रुपमा फिर्ता गर्नुभएकोमा सिडिओ र सुरक्षाकर्मीले धन्यवाद पाए’ सिमा बैठकका एक सहभागीले भन्नुभयो ।
‘तपाईहरुले सुरक्षित रुपमा मेसिन र अपरेटरलाई फिर्ता गर्नुभयो, यो विषय माथि पुग्न पाएन, हाम्रोस्तरमै तत्काल समाधान भयो । यो विषय माथि पुगेको भए ठूलो विषय पनि बन्नसक्थ्यो । तपाईहरुले राम्रो सहयोग गर्नुभयो’ पिथौरागढका डिएम गोस्वामीलाई उद्दृत गर्दै बैठकका ती सहभागी भन्नुभयो ।
धारचुलामा सिमा बैठक आयोजना गरेको ठिक एक महिनाअघि पुष ७ गते भारतीय क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको ठेकेदार कम्पनीको मेसिन महाकालीवारी पुगेको थियो । महाकाली नदी किनार क्षेत्रमा स्थानीयवासिन्दाले स्काइभेटर मेसिन नेपालतर्फ आएकोमा प्रश्न र विरोध गरेका थिए ।
भारतीय ठेकेदारको मेसिन नेपालतर्फ किन ल्याइएको हो भन्ने प्रश्न स्थानीयले उठाए पनि नेपाली प्रशासन निरीह देखिएको थियो । मेसिन र अपरेटरलाई सुरक्षाघेरामा राखेर चार घण्टापछि भारततर्फ फिर्ता पठाइएको थियो ।
स्थानीय प्रशासनले विनाअनुमति मेसिन नेपालतर्फ आएको प्रतिक्रिया दिएको थियो । दुबैतर्फका सरकारी संयन्त्रबीच समन्वय गरेर मेसिन फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । तर विनाअनुमति भारतीय मेसिन नेपालतर्फ पुग्दा कुनै अभिलेख नराखिएको र अपरेटरलाई गल्ती स्वीकार गर्न नलगाएको भन्दै स्थानीय प्रशासनमाथि प्रश्न उठेको छ ।
आक्रोसित केही स्थानीयवासीले त विना अनुमति नेपाल पुगेको स्काइभेटर मेसिनलाई सरकारी प्रक्रियाअनुसार बरामद गरी लिलाम गर्नुपर्नेसम्मको माग गरेका थिए । तर प्रजिअसहित सुरक्षा अधिकारीहरुले विना शर्त मेसिन र अपरेटरलाई छोडिदिएका थिए । ठेकेदारको मेसिन छुटाउन भारतीय प्रशासनले नेपाली पक्षसंग सम्पर्क गरेको थियो भने गृह मन्त्रालयबाट पनि मेसिन छोडिदिन स्थानीय प्रशासनलाई निर्देशन आएको स्रोत बतायो । ‘मेसिन र अपरेटरलाई फिर्ता गर्नु ठिकै हो तर सामान्य अभिलेख राखेर अबदेखि यस्तो गल्ती नदोहर्याउन सचेत गराउनुपथ्र्यो’ नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टको भनाई छ ।
‘नेपालतर्फ पुगेको मेसिन ठेकेदारको हो, भारत सरकार वा उत्तराखण्ड सरकारको होइन । विनाअनुमति महाकालीवारी पुग्ने मेसिन र अपरेटरलाई गल्ती नदोहर्याउन सचेत गराउनुपथ्र्यो तर हाम्रा अधिकारीहरुलाई यो आवश्यकता बोध भएन’ पवित्र महाकाली स्वच्छता अभियानका संयोजक शंकर सिंह धामीले भन्नुभयो– ‘मोदीजीको मेसिन ठानेर ससम्मान र सुरक्षित रुपमा फिर्ता गरियो ।’
भारतीय ठेकेदारले दादागिरी देखाएर नेपालतर्फ पुर्याएको मेसिनलाई विनाशर्त तत्काल फिर्ता गरेवाफत सिमा बैठकमा नेपाली अधिकारीहरुले भने प्रशंसा र धन्यवाद पाएका छन् । यद्यपि सिमा बैठकमा भारतीय अधिकारीहरुले अनुमतिविना मेसिन नेपाल प्रवेश गर्नु गल्ती भएको स्वीकारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here