दार्चुला, भदौ १८ गते ।
दार्चुलाका ६५ प्रतिशत घरधुरीहरुमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा विस्तार भएको छ । आर्थिक वर्ष २०८०÷८१ सम्ममा जिल्लाभरीका १८ हजार ५ सय ४८ घरधुरीमा विद्युत सेवा पुगेको दार्चुला वितरण केन्द्रले जनाएको छ ।
अघिल्लो वर्ष अर्थात २०७९÷८० मा ५८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको थियो । एक वर्षको अवधिमा २ हजार ४ वटा नयाँ घरधुरीमा विद्युत सेवा विस्तार गरिएको तथ्यांक छ । २०८० असारसम्म १६ हजार ५ सय ४४ घरधुरीमा विद्युत सेवा पुगेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुला जिल्लामा २८ हजार ३ सय ८१ घरधुरी छन् । जिल्लाभरीका सबै घरधुरीमा विद्युत सेवा विस्तार गर्नेगरी काम भइरहेको दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । ‘पूर्ण विद्युतिकरण कार्यक्रमअन्तर्गत गतवर्षदेखि काम भइरहेको छ, चालू वर्षमा धेरै घरधुरीमा विद्युत सेवा विस्तार हुँदैछ’ उहाँले भन्नुभयो । २ वर्षभित्र दार्चुलाका सबै घरधुरीमा विद्युत सेवा विस्तार गर्ने लक्ष्यसहित ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ ।
प्राधिकरणको दार्चुला वितरण केन्द्रको तथ्यांकअनुसार महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका अधिकांश घरधुरीहरुमा विद्युत सेवा पुगेको छ । लेकम, व्यास र दुहुँ गाउँपालिकामा पनि ७० प्रतिशतभन्दा बढी घरधुरीमा विद्युतिकरण कार्य सम्पन्न भएको तथ्यांक छ ।
मार्मा गाउँपालिकामा ४५ प्रतिशत, अपिहिमाल गाउँपालिकामा १४ प्रतिशत र नौगाड गाउँपालिकामा १२ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । दार्चुला जिल्लाभरी आर्थिक वर्ष २०७९८० मा झण्डै साढे ३ हजार नयाँ घरधुरीमा विद्युत सेवा पुगेको थियो । दुई वर्षअघि जिल्लाभरी ५० प्रतिशतभन्दा कम घरधुरीमा मात्र विद्युत सेवा पुगेको थियो ।