टिंकर सडक निर्माण ः ‘अबै नाँइ त कबै नाइँ’

0
185

दार्चुला, भदौ ७ गते ।
दार्चुला–टिंकर सडक निर्माणका लागि दुई पूर्वमन्त्रीहरुसहितको सर्वदलिय डेलिगेशनले हालै काठमाण्डौंमा उच्चस्तरीय भेटघाट र पहल गरेपछि सडक निर्माणमा प्रगति हुने आश पलाएको छ । सिमाक्षेत्रका सर्वसाधारणदेखि सामाजिक कार्यकर्ता र जनप्रतिनिधिहरुसम्मले सकारात्मक प्रतिक्रियासहित सर्वदलिय डेलिगेशनको पहलको प्रशंसा गरेका छन् ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, पूर्वमन्त्री एवं एमाले नेता गणेश सिंह ठगुन्ना र स्थानीय तहका जनप्रतिनिधिहरुसहितको डेलिगेशनले साउन ३२ देखि भदौ ३ गतेम्म काठमाण्डौंमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटघाट गरेको थियो । दार्चुलाको सर्वदलिय डेलिगेशनले दार्चुला–टिंकर सडक निर्माणमा पर्याप्त बजेट व्यवस्थापनको विषयलाई प्रमुखताका साथ उठाएको छ ।
प्रधानमन्त्री, उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र ऊर्जामन्त्रीसंग छुट्टाछुट्टै भेटघाट गरिएको छ । भेटघाटपछि नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडकमा २० करोड रुपैयाँ थप्ने प्रतिवद्धता भौतिक पूर्वाधार मन्त्री र मन्त्रालयले गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि टिंकर सडकमा प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्ने वचन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिवसहितका अधिकारीहरुले दार्चुलाको डेलिगेशनसंग महत्वका साथ छलफल गरेका छन् ।
मन्त्री, सचिवसहित मन्त्रालयका उच्च अधिकारीहरुले सामूहिक रुपमा दार्चुलाको सर्वदलिय टोलीसंग टिंकर सडकबारे छलफल गरेका थिए । सडक विभागबाट थप बजेट व्यवस्थापनका लागि टिप्पणी फाइल उठाएर अर्थ मन्त्रालयसंग २० करोड रुपैयाँ बजेट माग्ने जानकारी भौतिक योजना तथा यातायात मन्त्रीसहितको टोलीले दिएको छ । नेपाली सेनाको विकास निर्माण निर्देशालयका दुइजना सैन्य अधिकारीहरुसमेत उक्त छलफलमा सहभागी थिए ।
टिंकर सडकमा पर्याप्त बजेट व्यवस्थापन गराउन पहिलोपटक दार्चुलाका प्रमुख नेताहरुसहित सर्वदलिय टोलीको सामूहिक प्रयास भएको छ । यो प्रयासले केही आश जगाएको पूर्व प्रदेशसभा सदस्य गेल्बु सिंह बोहराले बताउनुभयो । टिंकर सडकको लागि सबै दल र नेताहरु एकढिक्का भएर सक्रिय भएका छन्, यो राम्रो अभ्यास हो’ उहाँले भन्नुभयो, ‘दार्चुलाको समग्र राजनीतिक नेतृत्वको पहल र केन्द्रमा ओली नेतृत्वको सरकार भएकोले यसपटक केही हुन्छ भन्ने विश्वास छ ।’
टिंकर सडक निर्माणले यसपटक प्राथमिकता र पर्याप्त बजेट नपाउने हो भने कहिल्यै पनि यसमा उपलब्धि हुन नसक्ने समेत पूर्व प्रदेशसभा सदस्य बोहराको भनाई छ । ‘अबै नाँइत कबै नाइँ’ (अहिले हुँदैन भने कहिल्यै हुँदैन) स्थानीय दार्चुलेली भाषामा सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै बोहराले प्रतिक्रिया समेत सार्वजनिक गरेका छन् ।
आफुले आधा दर्जन पटक मागपत्र र भेटघाट गरे पनि दुई वर्षसम्म टिंकर सडकमा उपलब्धि हुन नसकेको अनुभव व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीसंग छ । ‘यसपटक जिल्लाको मात्रै होइन देशकै सिंगो राजनीतिक शक्ति एक ठाउँमा छ, सबै मिलेर टिंकर सडक भनिरहेका छन् । अब त केही गर्लान् कि ? अहिले पनि उपलब्धि भएन भने कहिले हुन्छ ? कस्ले गर्छ ?’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।
टिंकर सडक निर्माणको आशमा रहेका सिमाक्षेत्रका नागरिक वर्षौदेखि निराशामा बसिरहेका छन् । यसपटकको राजनीतिक प्रयासले केही उपलब्धि हुने आश पलाएको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । ‘टिंकर सडकमा पर्याप्त बजेट व्यवस्थापन हुनेमा पूर्ण विश्वस्त हुन नसके पनि केही आश चाहि पलाएको छ’ उहाँले भन्नुभयो ।
नेपाल–चीन हिमालय मैत्री समाजका कार्य समिति सदस्य योगेश सिंह बोहराले दार्चुलाको सिंगो नेतृत्वले पहल गर्दा र देशको नेतृत्वले प्रतिवद्धता जनाउदा अब टिंकर सडकमा नतिजा आउनुपर्ने बताउनुभयो । ‘यति गर्दा पनि नतिजा आएन भने किन लागिरहने ? के आश गर्ने ?’ व्यास गाउँपालिका वडा नम्बर १ छाङरुका स्थानीयवासी समेत रहेका बोहराको खवरदारीयुक्त प्रतिक्रिया छ ।
टिंकर सडकमा अहिलेसम्मको अवस्थाले निराश बनाएको तर पछिल्लो पहलले सिमाक्षेत्रका वासिन्दालाई फेरि एकपटक आशावादी बनाएको छाङरुका स्थानीय एवं समाजसेवी विमलकुमार बोहराको भनाई छ ।
मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीको संयोजनमा दुई पूर्वमन्त्रीसहित दार्चुलाको सर्वदलिय डेलिगेशनले काठमाण्डौंमा उच्चस्तरीय भेटघाट र पहल गरेपछि जिल्लास्तरमा सकारात्मक तरंग देखिएको छ । गत असारमा मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ मा आएको पहिरोबाट प्रभावित परिवारको पुनस्र्थापनाका लागि समेत दार्चुलाका नेताहरुको डेलिगेशन सक्रिय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here