नेपाल–चीन हिमालय मैत्री समाजको सदस्यमा योगेश बोहरा

0
173

दार्चुला, भदौ १ गते ।
नेपाल–चीन हिमालय मैत्री समाजको सदस्यमा दार्चुला घर भएका व्यवसायी योगेश बोहरा चयन भएका छन् । समाजको साउन २८ गते काठमाण्डौंमा सम्पन्न तेह्रौ साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ ।
नेकपा एमाले निकट नेता, वुद्धिजीवि र व्यवसायी संलग्न रहेको यो समाजमा दार्चुलाबाट दोस्रो पटक प्रतिनिधित्व भएको छ । यसअघि पूर्वमन्त्री एवं एमाले नेता गणेश सिंह ठगुन्ना मैत्री समाजको निवर्तमान कार्य समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
तीन दशकदेखि चीनको स्वशासित क्षेत्र तिब्बतस्थित ताक्लाकोट शहरमा व्यापार व्यवसाय गर्दै आएका बोहरालाई पहिलोपटक मैत्री समाजको सदस्य बनाइएको छ । व्यास गाउँपालिका वडा नम्बर १ छाङरुका वासिन्दा बोहरा व्यवसायका साथै समाजसेवामा पनि सक्रिय छन् ।
मैत्री समाजको साधारणसभाबाट डिल्लीराज अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको महासचिव रेनन पोखरेलले बताउनुभयो । नवगठित कार्य समितिको उपाध्यक्षमा निवर्तमान रक्षामन्त्री हरि उप्रेती चयन भएका छन् भने महासचिवका पोखरेल दोहोरिएका छन् ।
मैत्रीसमाजको दुइ सचिव पदमा एमाले नेता यज्ञराज सुनुवार र दोलखा घर भएका महिला नेतृ कालिका पाठक चयन भएका छन् । कोषाध्यक्षमा रसुवाका जनार्जन ढकाल तथा सदस्यहरुमा दीपेन्द्र श्रेष्ठ, भविश्वर गुरुङ, भूमिका सुब्बा, राजेश शाक्य र गोविन्द शाही रहेका छन् । दार्चुलाका योगेश (योगेन्द्र) सिंह बोहरा र बझाङ गृहजिल्ला भएका एमाले नेता अफिलाल ओखेडा मैत्रीसमाजको कार्य समिति सदस्यमा चयन भएका छन् ।
मैत्रीसमाजको अध्यक्ष भएका अर्याल गुल्मीका वासिन्दा हुन् भने एमालेनिकट वुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य पनि हुन् । नेपाल सरकारको सहसचिव पदमा सेवानिवृत भएका अर्यालसंग अर्थ मन्त्रालयलगायत महत्वपूर्ण निकायमा काम गरेको अनुभव समेत छ ।
नेपाल–चीन हिमालय मैत्रीसमाजको नेतृत्वमा यसअघि नेकपा एमालेका नेता एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम थिए भने उपाध्यक्षमा दार्चुला गृहजिल्ला भएका एमाले नेता गणेश सिंह ठगुन्ना रहेका थिए । त्यसअघि एमाले नेता एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले पनि समाजको नेतृत्व गरेका थिए । कार्य समितिको कार्यकाल दुई वर्ष रहेको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here