लास्कुगाड घटनाः आफन्तले बुझेन्न शब

0
1016

दार्चुला, साउन १० गते ।
दार्चुला सदरमुकाम खलंगामा रहेको लास्कुगाड पुल निर्माण स्थलको ह्युमपाइपमा अड्किएर मंगलबार ज्यान गुमाएका दुई बालकका आफन्तले शव बुझेका छैनन् । ठेकेदारको लापरवाहीका कारण घटना भएको भन्दै  उचित क्षतीपुर्ती पाउनु पर्ने माग गर्दै आफन्तले शब बुझेका छैनन् ।



दुई जना बालकको ज्यान गएपछि पुल निर्माण कम्पनीका प्रतिनिधिले सदरमुकाम छाडेपछि मृतकका आफन्तहरुले ठेकेदारसंग कुरा गर्न पाउनुपर्ने भन्दै बुधबार शव बुझ्न नमानेको प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले बताउनु भयो । दार्चुला तिंकर सडक अन्र्तगत लास्कु गाडमा पुल निर्माणका क्रममा राखिएका ह्युमपाइपहरुमा भित्र पस्दा १२ वर्षिय रमित कुवँर र १७ वर्षिय प्रकास खत्रीको ज्यान गएको थियो । दिउसो गर्मी हुने समयमा नुहाउने क्रममा रमित कुवँर ह्युम पाईप भित्र अड्किएपछि उनलाई निकाल्न गएका प्रकाश खत्रीको पनि ह्युमपाइपमै अड्किएर मृत्यु भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
पुल निर्माणका क्रममा राखिएका ह्युमपाईपहरुको माथिल्लो भागमा खुला रहेको र तल्लो भाग बन्द रहेकाले त्यस भित्रै अड्किएको प्रत्यक्षदर्शी धनसिह बडालले बताउनु भयो । ह्युमपाईपको माथि पट्टी राखिएको जालि वर्षातमा नदीले क्षती पुगेपछि सजिलै भित्र फस्न सक्ने बनेको थियो । मंगलबार दिउसो २ बजेतिर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबत्ता एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दको भनाई छ । जेसिविको सहायताले शब निकाली मंगलबार नै जिल्ला अस्पताल दार्चुलामा शब पु¥याएपनि शव बुझ्न नमानेकाले कारण शबको पोष्टमार्टम गर्न सकिएको छैन ।
ह्युमपाईप नहटाएको र एक तर्फ बन्द भएकाले घटना भयो, त्यसरी खोलमा राखिएको ह्युमपाईप आफ्नो काम सकिएपछि नहटाउनु ठेकेदारको लापरवाहि भएको मृतकका आफन्त कल्यान सिह खत्रीले भन्नुभयो । पुल निर्माण गर्ने ठेकेदारको लापरवाहिका कारणले घटना हुन पुग्यो, लास्कुगाडमा पौडी त बालबालिकाहरुले बर्षाै देखि खेल्ने गर्थे, ह्युम पाईप राखिएको ठाउँमा खतरा भएको बारे एउटा बोर्ड पनि नराख्दा उक्त घटना हुन गएको उहाँको भनाई छ ।
घटना भएपछि पुल निर्माणको जिम्मा पाएको राजेन्द्र–देवसिँह –मालिकार्जुन जेभीका प्रतिनिधि दार्चुला सदरमुकाम छोडेर मंगलबार राती नै गोकुलेश्वर गएको स्रोतले जनाएको छ । पुल निर्माण कम्पनीको लापरवाहिका कारण यो घटना भयोे,  घटना भएकोमा माफि माग्नुपर्ने र क्षतीपुर्ती दिनुपर्ने मृतकका आफन्त नरेन्द्र बडालको भनाई छ । घटनापछि मंगलबार राती नै दार्चुला सदरमुकामबाट बाहिर गएका राजेन्द्र–देवसिँह –मालिकार्जुन जेभीका प्रतिनिधि बुधबार साझँ मृतकका आफन्तको सम्पर्कमा आएका छन् ।

सम्बन्धित समाचार: लास्कुगाडमा पौडी खेल्ने क्रममा दुई बालकको ज्यान गयो