उच्च सुरक्षा निगरानी गर्ने र विवरण राख्ने गृह मन्त्रालयको निर्देशन पालना भएन ।

0
6391

गृह मन्त्रालयको स्वीकृतिमा दार्चुलाको स्थानीय प्रशासनले महाकाली नदीमा नेपाल भारत जोड्ने काठेपुल राख्न भारतीय पक्षलाई सहमति दिएको दुई महिना पुग्दैछ । व्यास गाँउपालिकाको वडा नम्बर २ राप्लाको तम्बाकु, थिई भीर र दोपाखे क्षेत्रमा अस्थायी काठेपुल राखेर आवतजावत भइरहेको छ तर जिल्लास्थित सुरक्षा निकायहरुले गृह मन्त्रालयकै निर्देशन पालना गरेका छैनन् ।
भारतीय पक्षको अनुरोधमा नेपाल सरकारले गृहमन्त्रीस्तरीय निर्णय गरी गत चैत्र १५ गते तिन ठाँउमा अस्थायी काठेपुल राख्न स्वीकृति दिएको थियो । भारतीय कैलाश मानसरोवर यात्री तथा व्यास क्षेत्रका स्थानीयको सुविधाका लागि यो वर्ष मात्र अस्थायी रुपमा काठेपुल राख्न गृह मन्त्रालयले स्वीकृति दिएको हो । गृहको स्वीकृति लगत्तै भारतको लोक निर्माण विभागले तीनवटै स्थानमा व्यवस्थित रुपमा काठेपुल राखेर आवतजावत सञ्चालन भइरहेको छ ।
काठेपुलबाट नेपाल र भारत दुबैतर्फबाट व्यासक्षेत्रका वासिन्दाका साथै भारतीय सडक निर्माणमा संलग्न मजदूर र भरियालाई सुविधा भएको छ । चीनको ताक्लाकोटसम्म व्यापार व्यवसाय गर्ने व्यापारी र उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने नेपाल र भारतका स्थानीयवासी समेत लाभान्वित भएका छन् । यद्यपि गृह मन्त्रालयले स्वीकृति दिनुको एउटा मुख्य आधार कैलाश मानवसरोवर यात्री यी काठेपुल र नेपाली बाटो भएर यात्रा गर्ने छैनन् । भारत सरकारले पिथौरागढबाट गुञ्जीसम्म कैलाश यात्रीहरुलाई यो वर्ष हेलिकोप्टर सेवा दिने भएको छ ।
गृह मन्त्रालयले काठेपुल राख्न स्वीकृति दिदा ‘यस वर्षको उक्त प्रयोजन (कैलाश यात्रा र आवतजावत) समाप्त भएपछि तत्काल उक्त काठेपुल हटाउने’ शर्त राखेको छ । यसैगरी, ‘पुलबाट आवतजावतको समयमा आवश्यक उच्च सुरक्षा निगरानी गर्ने एवं विवरण राख्ने व्यवस्था गर्न’ गृहले पत्रमार्फत निर्देशन दिएको थियो ।
गृह मन्त्रालयको स्वीकृति लगत्तै काठेपुल राखिए पनि जिल्लास्थित सुरक्षा निकायहरुले उच्च सुरक्षा निगरानी र विवरण राख्ने काम गरेका छैनन् । गृहको स्वीकृति आउनुपूर्व राप्लाको दुम्लिङका स्थानीयवासीले तल्लो दुम्लिङ र भारतको घटियाबगड जोड्ने अर्को काठेपुल राख्न माग गर्दै सशक्त प्रतिवाद गरेका थिए । नेपाल सरकारको स्वीकृति पाउनुअघि नै भारतीय पक्षले महाकालीमा राखेका चारवटा काठेपुल समेत दुम्लिङवासीले भत्काइदिएका थिए । दुम्लिङवासीले महाकाली नदीमा राखिएका काठेपुल भत्काउदा सदरमुकाम खलंगाबाट सशस्त्र प्रहरीको टोली दुम्लिङतर्फ गएको थियो । चैत्र १३ गते सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा टोली गए पनि नेपाल सरकारले पुल निर्माणको स्वीकृति दिएको भोलिपल्टै अर्थात चैत्र १६ गते दुम्लिङबाट फर्किएको थियो । लामो दूरीको पेट्रोलिङ (एलआरपी) नाम दिइएको सशस्त्र प्रहरीको गस्ती चार दिनमै पूरा भएर चैत्र १७ गते सदरमुकाम पुगेको थियो ।
त्यसपछिको समयमा सशस्त्र प्रहरीको टोली महाकाली किनार क्षेत्रमा निस्किएको छैैन दार्चुलास्थित सीमा सुरक्षा गुल्मका गुल्मपति डिएसपी अम्बिकाप्रसाद जोशी भने महाकाली नदी किनारको सीमाक्षेत्रमा नियमित गस्ती परिचालन गरेको बताउँछन् । काठेपुल राखेको स्थानमा एकपटक मात्र सशस्त्र प्रहरीको टोली पुगेको उहाँले बताउनुभयो ।
राप्लाको दुम्लिङमा रहेको प्रहरी चौकीबाट समय समयमा काठेपुल भएको क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं इन्सपेन्टर रविन्द्र कठायत बताउनुहुन्छ । तर दुम्लिङ चौकीको प्रहरी टोली हप्ता दिन वा १० दिनमा एक पटक मात्र काठेपुल भएको क्षेत्रमा पुग्ने गरेको स्थानीय पसले सावित्री भण्डारी बताउनुहुन्छ ।
दुम्लिङ प्रहरी चौकीका असई वीरवहादुर चन्द दुम्लिङबाट काठेपुल भएको महाकाली किनारको क्षेत्रमा पुग्न ३ घण्टा हिडनुपर्ने बताउनुहुन्छ । ६ घण्टा आवतजावतमै लाग्ने भएकाले दैनिक रुपमा प्रहरी टोली महाकाली किनार क्षेत्रमा जान नसकेको उहाँले बताउनुभयो । तीन÷चार दिन विराएर प्रहरी टोलीले तम्बाकु, थिइ भीर क्षेत्रको महाकाली किनारमा पुग्ने गरेको असई चन्दको भनाई छ ।
चैत्र १५ गते गृहको स्वीकृति आएपछि चैत्र १८ गते जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले राप्लाको दुम्लिङ र व्यासको सीतापुलमा सशस्त्र प्रहरीको पोष्ट राख्न मन्त्रालयमा माग गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय र माग अहिलेसम्म सम्बोधन हुन सकेको छैन । सुरक्षा समितिको बैठकले राप्लाको दुम्लिङमा रहेको प्रहरी चौकीबाट महाकाली नदी किनारको सीमाक्षेत्रमा नियमित गस्ती गर्ने निर्णय पनि गरेका थियो । करिब दुई दर्जन प्रहरी रहेको दुम्लिङ चौकीबाट दैनिक रुपमा गस्ती नभएको राप्ला दुम्लिङकै जहेन्द्रसिह भण्डारी बताउनुहुन्छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैबाट नियमित गस्ती भएको छैन । महाकालीमा राखिएका काठेपुल भएर आवतजावत गर्नेको विवरण पनि राखिएको छैन । काठेपुलबाट यात्रा गर्ने व्यक्तिको विवरण राखिएकोबारे आफुलाई जानकारी नभएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनुभयो ।
वैशाख १६ गते बसेको जिल्ला सुरक्षा समितिको अर्को बैठकले दुम्लिङमा अस्थायी रुपमा प्रहरी चौकी राख्ने निर्णय गरेको छ । दुम्लिङमा रहदैआएको प्रहरी टोली व्यासको सीतापुल र तिंकरमा सर्ने भएपछि सुरक्षा समितिले यो वर्ष दुम्लिङमा केही सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ । तर नियमित रुपमा दुम्लिङमा बस्दैआएको प्रहरी टोलीले न काठेपुल रहेको सीमाक्षेत्रको नियमित गस्ती गरेको छ न त कुनै अभिलेख नै राखेको छैन ।
जेठ महिनादेखि मात्रै आफु दुम्लिङमा खटिएकाले अभिलेख राख्नेबारे आफुलाई कुनै जानकारी नभएको असई वीरवहादुर चन्दको भनाई छ । प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी र स्थानीयका अनुसार कुनै प्रकारको अभिलेख राखिएको छैन । प्रहरी चौकी रहेको दुम्लिङबाट काठेपुल रहेको क्षेत्रमा पुग्न ३ घण्टा लाग्ने भएकाले प्रहरीको प्रभावकारी उपस्थिति बन्न नसकेको स्थानीयको भनाई छ ।
दुम्लिङमा रहेका सुरक्षाकर्मी दुई हप्ताअघि व्यासको सीतापुलमा सरेका छन् । दुम्लिङमा अहिले असईको नेतृत्वमा ७ जना प्रहरी छन् । प्रहरी टोलीसंग हतियार र सञ्चार सेट छैन । दिउसोको समयमा मोबाइलमा टावर आएपछि मोबाइलबाट जिल्लामा रिपोर्टिङ हुने गरेको सुरक्षाकर्मी बताउँछन् । दुम्लिङमा नाममात्रै प्रहरी उपस्थिति भए पनि अन्तर्राष्ट्रिय सीमाक्षेत्र भने सुरक्षाविहिन रहेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो । अध्यक्ष धामीसहित पत्रकारहरुको टोलीले जेठ ५ र ६ गते महाकाली नदी किनार क्षेत्रको स्थलगत भ्रमण पनि गरेको छ ।
सुरक्षा व्यवस्था नगरिकन काठेपुल सञ्चालनको अनुमति दिनु स्थानीय प्रशासनको कमजोरी भएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको भनाई छ । गृह मन्त्रालयको लिखित निर्देशनको समेत पालना नभएको उहाँले आरोप लगाउनुभयो । तत्कालिन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको सरुवा भएकोले यो विषयमा थप अन्यौलता देखिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिम्मेवारी सम्हालेको दुई हप्ता पुगेको छ भने नयाँ प्रहरी प्रमुख दार्चुला आइपुगेका छैनन् ।
अन्तर्राष्ट्रिय सीमा जस्तो महत्वपूर्ण र संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन र सुरक्षा निकाय जिम्मेवार बन्नुपर्ने पत्रकार महासंघ अध्यक्ष धामीको भनाई छ । सीमाक्षेत्रमा नेपाल प्रहरी वा सशस्त्र प्रहरीका नियमित गस्ती हुनु आवश्यक रहेको राप्लाको दुम्लिङ घर भई तम्बाकुको काठेपुल नजिकै होटल चलाउदै आएका गंगोत्री भण्डारीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here