मालिकार्जुनमा जंगली बदेलको आक्रमणबाट सात जना घाईते, दुई जनाको अवस्था गम्भीर

0
985

दार्चुला, फागुन ३ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जंगली बदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । सोमबार विहान जंगली बदेलको आक्रमणबाट गाउँपालिकाको वडा नं ३ का पाँच जना सामान्य घाईते भएको तथा दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

गम्भीर घाइते बर्ष ७५ का धौली देबी धामी र बर्ष १४ का गोपेन्द्र सिह धामीलाई गोकुलेश्वर अस्पतालमा उपचार पछि धनगढीका लागि रेफर गरिएको उहाँको भनाई छ । साथै सामान्य घाईते पाँच जना मध्ये एक जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ अन्य चार जनाको मालिकार्जुन स्वाथ्य चौकीमा उपचार गरिएको छ । बर्ष २९ का घाइते अनिल सिह धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा स्थानिय बलदेब धामी, जनक धामी, दिलिप धामी तथा महेश धामीको सामान्य उपचार पछि घर फर्किएको उहाँको भनाई छ । बदेल बस्तीमा पसेर मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानियहरुले बदेललाई पनि मारेका छन् । मानव र बन्यजस्तु विच द्धन्द्ध हुदाँ उक्त घटना भएपछि डिभिजन बन कार्यालयबाट फोरेस्टर मिलन राना, बनरक्षक पदमराज भट्ट लगायतको टोली घटनास्थल तर्फ गएको थियो । बनको टोलीले मुचुल्का बनाएपछि मारेको बदेललाई खाडलमा पुरिएको छ । बन्यजन्तुबाट हुने क्षतीको राहत निर्देशिका अनुसार घाइतेहरुको अवस्था हेरि राहत दिने ब्यवस्था रहेको डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख गोकुल प्रसाद रिजालको भनाई छ । घाइतेहरुको उपचारका लागि दुई लाख सम्म उपचार खर्च दिने ब्यवस्था रहेको उहाँको भनाई छ । जंगली बदेल आरक्षित बन्यजन्तु पनि नरहेको तथा प्रतिरक्षाका लागि मारेको तथा मासु खाने उद्देश्यले नमारिएको देखिएको हुदाँ बदेल मरेको विषयमा कानुन आकर्षित नहुने उहाँले बताउनुभयो ।