धारचुलाको बुंगबुंग क्षेत्रमा ५० दिनदेखि बिजुली छैन

0
2455

दार्चुला, भदौ ७ ।
प्राकृतिक प्रकोपले प्रभावित भारतको धारचुला तहसिलअन्तर्गत बुंगबुंग क्षेत्रमा ५० दिनदेखि विद्युत सेवा बन्द रहेको छ । बुंगबुंग क्षेत्रअन्तर्गत पर्ने सिमखोला, अक्तु, रौकासैन, कुंचासांग, ऐर बुंगबुंग, दासिम खोला र शिसुकांग गाँउमा विद्युत सेवा बन्द रहेको छ ।
प्राकृतिक प्रकोप गएको ५० दिन वितिसक्दा पनि विद्युत सेवा सुचारु नभएकोमा स्थानीयले गुनासो गरेका छन् । हिमखोला क्षेत्रमा मात्रै ४० घरपरिवारमा विद्युतको सेवा बन्द भएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ ।
जुलाई २ मा भारी वर्षा र पहिरोले बुंगबुंग क्षेत्रको जनजीवन नराम्ररी प्रभावित गरेको छ । धारचुलादेखि बुंगबुंग क्षेत्र जोड्ने सडकमार्ग क्षतिग्रस्त भएको छ । विद्युत पोल ढलेकाले विद्युत सेवा समेत ठप्प रहेको छ ।
प्राकृतिक प्रकोपलगत्तै धारचुलाका एसडिएम आरके पाण्डेयले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो । स्थानीयलाई सोलार वत्ती र मट्टीतेल उपलब्ध गराइने बताइएकोमा हालसम्म पाउन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
प्राकृतिक प्रकोप प्रभावित क्षेत्रका लागि स्थानीय प्रशासनले गृहकार्य गरिरहेको एसडिएम पाण्डेयले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here