घाटीबगरमा बाटो निर्माणको क्रममा मृत्यु भएका धामीको सैनिक सम्मानका साथ अन्त्येष्टि

1356

दार्चुला, भाद्र २० गते ।

दार्चुलाको ब्यास गाउँपालिकाको वडा नं २ को घाटिबगरको बाटो निर्माण अन्तिम चरणमा पुगेका बेला शुक्रबार बेलुका दुःखद घटना घटेको छ । नेपाली सेनाको टोलीसंग १२ जना मजदुरहरु पनि बाटो निर्माणको काम गरिरहेका छन् । ति मध्ये एक जनाको निर्माणको अन्तिम चरणमा दुःखद निधन भएको दुर्गादल गुल्मका गुल्मपति विक्रम देब थापाले बताउनुभयो । नेपाली सेनाले उक्त क्षेत्रमा गत जेठ ९ गते देखि छाङरु र तिंकर लगायत कालापानी क्षेत्र जोड्ने बाटो निर्माण गरिरहेको छ । कडा चट्टानी क्षेत्रमा समेत बाटो निर्माण गरिसकिएको र ५ सय ५० मिटर मध्ये ७० मिटर बाटो मात्रै काट्न बाकि रहेको गुल्मपति थापाले बताउनुभयो । शुक्रबार बेलुकी बाटोको खुड्कीला निर्माण गर्ने क्रममा सो क्षेत्रमा सेना संग मजदुरी गरिरहेका ब्यास गाउँपालिका वडा नं ५ धौलाकोटका दिवान सिह धामीको टाउकोमा माथिबाट खसेको ढुङगा लागेको थियो । सैनिक स्रोतका अनुसार धामीको टाउकोमा गम्भीर चोट लागेपछि बेहोस भएका थिए । बेहोस भएका धामीलाई नेपाली सेनाको हेलिकोप्टरले उपचारका लागि घाटिबगडबाट साँझ ७ बजे दार्चुला सदरमुकाम पुगाएको थियो । जिल्ला अस्पताल दार्चुलामा पुगाउदा उनको मृत्यु भइसकेको थियो । शनिबार मृतकको पोष्टमार्टम गरि शब आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । दाहसंस्काका लागि धौलाकोटबाट आफन्तहरु दार्चुला सदरमुकाम खलंगा आएका थिए ।
ब्यास गाउँपालिका वडानं ५ धौलाकोट घर भएका दिवान सिह धामी सो क्षेत्रमा विगत तिन दिन देखि नेपाली सेना संग बाटो निर्माणको कार्य गरिरहेका थिए ।
नेपाली सेनाको विकास निर्माण टोलीको उक्त क्षेत्रको बाटो निर्माणको जिम्मेवारी भएकाले बाटो निर्माणका क्रममा मृत्यु भएका मजदुरका परिवारले सेनाको विकास निर्माण निर्देशनालय निति अनुरुप क्षतीपुर्ती पाइने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति थापाले बताउनुभयो । जंगी अड्डा बाट नै क्षतीपुर्ती पाइने भएकाले क्षतीपुर्तीका लागि सहजिकरण गरिदिने उहाँको भनाई छ । मृतक धामीको घरमा श्रीमती र चारवटा छोराछोरी रहेको थापाले जानकारी दिनुभयो । मृतक धामीको दार्चुला सदरमुकाम खलंगाको घाटमा सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सेनाको साथमा काम गरिरहेका ब्यक्तिको मृत्यु भएकोले सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको गुल्मपती थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !