उत्तर–दक्षिण सडकमध्ये सबैभन्दा कम बजेट महाकाली कोरिडोरमा

0
84

दार्चुला, असार १४ गते ।
सरकारले पूर्वदेखि पश्चिमसम्मको भूगोलमा उत्तर–दक्षिण जोड्ने गरी झण्डै एक दर्जन सडक निर्माण गरिरहेको छ । यीमध्ये केही सडकहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने अधिकांश सडक निर्माणाधिन अवस्थामा छन् । निर्माणाधिन उत्तर–दक्षिण सडकमध्ये महाकाली कोरिडोरमा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ ।
पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग, पध्यपहाडी पुष्पलाल मार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्ग गरी प्रमुख चारवटा सडक छन् । तराईदेखि पहाड हुँदै उत्तरतर्फका हिमाली वस्ती र क्षेत्रलाई जोड्ने सडक निर्माणलाई पनि सरकारले प्राथमिकतामा राख्दैआएको छ ।
निर्माणाधिन उत्तर–दक्षिण जोड्ने सडकमध्ये सरकारले महाकाली कोरिडोरमा सबैभन्दा न्युन बजेट दिदैआएको छ । आर्थिक वर्ष २०८२÷८३ मा पनि सबैभन्दा कम बजेट महाकाली कोरिडोरमा राखिएको छ । महाकाली कोरिडोरको दक्षिणी खण्ड (ब्रह्मदेव–झुलाघाट–तुसारपानी)मा २४ करोड ४७ लाख मात्रै बजेट राखिएको छ भने नेपाली सेनाबाट निर्माण भइरहेको उत्तरी खण्ड (तुसारपानीदेखि टिंकरसम्म)मा ६ करोड ३१ लाख बजेट छ ।
सुदूरपश्चिम प्रदेशमै उत्तर–दक्षिण जोड्नेगरी अर्को सडक पनि निर्माण भइरहेको छ । कैलालीको टिकापुरदेखि बझाङको उरैनाका जोड्नेगरी निर्माण भइरहेको सेती राजमार्ग सरकारको बढी प्राथमिकतामा छ । हरेक वर्षको बजेट विनियोजनमा सरकारले महाकाली कोरिडोरको भन्दा सेती राजमार्गमा बढी बजेट विनियोजन गर्दैआएको छ । नयाँ बजेटमा पनि सेती लोकमार्गका लागि ४१ करोड २२ लाख बजेट छुट्याइएको छ ।
उत्तर–दक्षिण जोड्ने सडकहरुमध्ये सरकारले सर्वाधिक महत्व र प्राथमिकता कर्णाली, कालीगण्डकी र कोशी कोरिडोरलाई दिएको छ । दक्षिणको तराई भूभागदेखि उत्तरको चीनिया नाका जोड्नेगरी यी तिनवटा कोरिडोर निर्माण भइरहेका छन् । सरकारले कर्णाली कोरिडोरको अन्तिम विन्दु हुम्लाको हिल्सालाई अन्तर्राष्ट्रिय सिमानाकाको रुपमा स्थापित गरी चीन सरकारसंग सम्झौता गरेको छ । यसैगरी कालीगण्डकी कोरिडोरको अन्तिम विन्दु मुस्ताङको कोरला र कोशी कोरिडोरको अन्तिम विन्दु संखुवासभाको किमाथाङ्कालाई नेपाल र चीन जोड्ने दुइ देशीय सिमानाका निर्धारण गरिएको छ ।
कर्णाली, कालीगण्डकी र कोशी कोरिडोरलाई उत्तर–दक्षिण राजमार्गअन्तर्गत एउटै बजेट शीर्षकमा राखिएको छ । एउटै बजेट शीर्षकमा राखिए पनि यी तिनवटा सडकमा सबैभन्दा बढी बजेट विनियोजन हुँदैआएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा उत्तर–दक्षिण राजमार्गअन्तर्गतका यी तिनवटै कोरिडोरका लागि ३ अर्ब ७४ करोड ३३ लाख बजेट विनियोजन गरिएको छ ।
कर्णाली कोरिडोरको लागि मात्रै १ अर्ब २७ करोड बजेट राखिएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ मा तिनवटै कोरिडोर निर्माणमा ३ अर्ब २४ करोड ७१ लाख खर्च हुने संसोधित अनुमान छ । यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा तिनवटै कोरिडोर निर्माणमा ३ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ खर्च भएको सडक विभागको तथ्यांक छ ।
कर्णाली प्रदेशअन्तर्गत उत्तर–दक्षिण जोड्ने भेरी कोरिडोर पनि निर्माणाधिन छ । जाजरकोट र डोल्पा हुँदै उत्तरी सिमा जोड्ने भेरी कोरिडोरमा आर्थिक वर्ष २०८२÷८३ मा ४६ करोड ६८ लाख बजेट राखिएको छ । भेरी कोरिडोरमा चालू आर्थिक वर्ष ३५ करोड ५५ लाख खर्च हुने संसोधित अनुमान छ भने आर्थिक वर्ष २०८०÷८१ मा ४७ करोड ५६ लाख खर्च भएको तथ्यांक छ ।
गण्डकी प्रदेशको गोरखा जिल्लामा पनि उत्तरी सिमा जोड्नेगरी बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक निर्माण भइरहेको छ । नेपाली सेनाबाट निर्माण भइरहेको यो सडकमा आर्थिक वर्ष २०८२÷८३ का लागि १३ करोड २१ लाख बजेट छुट्याइएको छ । चालू आर्थिक वर्षमा यो सडक निर्माणमा २० करोड १ लाख खर्च हुने संसोधित अनुमान छ भने गतवर्ष २०८०÷८१ मा २३ करोड खर्च भएको अभिलेख छ ।
बाग्मती प्रदेशमा गल्छी–त्रिशुली–स्याफ्रुबेशी सडकको स्तरोन्नती भइरहेको छ । चीनसंगको केरुङ–रसुवागढी नाका जोड्ने यो सडक डेडिकेटेड डबल लेनमा स्तरोन्नती भइरहेको छ । नयाँ बजेटमा यो सडकका लागि २ अर्ब ५५ करोड ८१ लाख बजेट छुट्याइएको छ । चालू आर्थिक वर्षमा १ अर्ब ३१ करोड ६६ लाख बजेट खर्च हुने संसोधित अनुमान छ भने गतवर्ष २०८०÷८१ मा ५५ करोड ९६ लाख रुपैयाँ खर्च भएको विवरण छ ।
पूर्वी नेपालको कोशी प्रदेशमा तमोर कोरिडोर निर्माणाधिन अवस्थामा छ । ताप्लेजुङको ओलाङचुङगोला नाका जोड्नेगरी निर्माण भइरहेको यो सडकको ट्रयाक गतवर्ष खुलिसकेको छ । यो सडकको स्तरोन्नतीको कार्य भइरहेको छ । नयाँ बजेटमा तमोर कोरिडोरका लागि ६० करोड ३३ लाख बजेट राखिएको छ । चालू आर्थिक वर्षमा १ अर्ब ५ करोड २२ लाख खर्च हुने संसोधित अनुमान छ भने गतवर्ष २०८०÷८१ मा १ अर्ब ४० करोड २६ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ ।
सुदूरपूर्वमा तराईको झापादेखि उत्तरको ताप्लेजुङ जोड्ने मेची कोरिडोर सञ्चालनमा छ । यो सडकलाई झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा जोड्नेगरी मेची कोरिडोर नामांकरण गरिएको छ । सडकको केही खण्ड विस्तार गर्नुपर्ने भएकोले यो सडकमा आर्थिक वर्ष २०८२÷८३ मा ३ करोड ७० लाख बजेट राखिएको छ । चालू वर्षमा ९ करोड ७२ लाख र गतवर्ष २०८०÷८१ मा ९ करोड ४७ लाख रुपैयाँ मेची कोरिडोरमा खर्च गरिएको अभिलेख छ ।
कैलालीको धनगढीदेखि डोटी हुँदै बझाङको चैनपुर जोड्ने खुटिया–दिपायल–चैनपुर सडक निर्माणाधिन अवस्थामा छ । धनगढीदेखि डडेल्धुरा हुँदै सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने भीमदत्त राजमार्गको विकल्पको रुपमा यो सडक निर्माण भइरहेको छ ।
आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण सुरु भएको खुटिया–दिपायल–चैनपुर सडकका सबैक्षेत्रमा ट्रयाक खोलिएको छ । १ सय ८६ किलोमिटर लामो यो सडकलाई साविक सेती अञ्चलका हिमाली र पहाडी जिल्लाहरुलाई तराईसंग जोड्ने छोटो सडकको रुपमा हेरिएको छ ।
खुटिया–दिपायल–चैनपुर सडक निर्माणका लागि आर्थिक वर्ष २०८२÷८३ को बजेटमा १६ करोड ८ लाख बजेट विनियोजन गरिएको छ । चालू वर्ष ३९ करोड ७४ लाख यो सडकमा खर्च हुने संसोधित अनुमान छ ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक पनि उत्तर–दक्षिण जोड्ने सडकको रुपमा निर्माण भइरहेको छ । तर यो सडकले उत्तरी सिमानाका जोड्ने छैन । उत्तरी सिमाक्षेत्र नजोडिए पनि कर्णाली राजमार्ग, राप्ती राजमार्ग, विपी राजमार्ग, शहीद मार्ग लगायतका महत्वपूर्ण सडकहरुले तराई र पहाडको भूगोल जोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here