दुइ वर्षभित्र छाङरुसम्मको ट्रयाक खुल्नसक्छ ?

0
170

दार्चुला, जेठ ११ गते ।
दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिंकर सडकअन्तर्गत छाङरुसम्मको सडक खण्डको दुई वर्षभित्र ट्रयाक खोल्नेगरी बजेट माग गरेका छन् । जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै बडूले नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडकलाई उच्च महत्व र प्राथमिकता दिन समेत माग गरे ।
जेठ १५ गते नयाँ बजेट आइरहेको पृष्ठभूमिमा पूर्वमन्त्रीसमेत रहेका सांसद बडूले यस्तो आग्रह गरेका हुन् । २०७९ मंसिरमा पछिल्लोपटक दार्चुलाबाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बडूले टिंकर सडकको विषयलाई पटक–पटक उठाउदै आएका छन् । बडूकै पहलमा यो वर्ष र गतवर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रक्षामन्त्री सहितको टोलीले टिंकर सडकको अनुगमन पनि गरेको छ ।
टिंकर सडक निर्माणलाई गति दिन र पर्याप्त बजेट उपलब्ध गराउन सांसद बडूले सक्दो सक्रियता देखाइरहेका छन् । गतवर्ष मात्रै नेपाली सेनाले पाँच वर्षभित्र टिंकर सडकको ट्रयाक खोलिसक्ने गरी तयार गरेको कार्ययोजना खाका बडूले सार्वजनिक गरेका थिए । तर गतवर्ष र चालू वर्षको बजेटमा टिंकर सडकका लागि सेनाले मागेजति बजेट परेन । गतवर्ष १४ करोड र यो वर्ष ९ करोड रुपैयाँ मात्रै टिंकर सडकमा विनियोजन भयो ।
नयाँ बजेटको पूर्वसन्ध्यामा सांसद बडूले सेनाले दुई वर्षभित्र छाङरुसम्मको ट्रयाक खोलिसक्ने नयाँ कार्ययोजना बनाएको बताएका छन् । यसका लागि सेनाले मागेजति बजेट उपलब्ध गराउन समेत बडूले माग गरेका छन् ।
संसदमा टिंकर सडकका लागि पर्याप्त बजेट विनियोजनको माग राख्नुअघि सांसद बडूले मन्त्रालय, सडक विभाग, नेपाली सेनालगायतका पक्षहरुसंग पनि छलफल गरेको बताएका छन् । ‘सबैसंग र सबैतिर छलफल भइरहेको छ, छलफलका क्रममा सबैले टिंकर सडकलाई प्राथमिकता दिने बताएका छन्’ उहाँले भन्नुभयो, ‘तर बजेटमा टिंकर सडकले प्राथमिकता पाउँछ कि पाउदैन हेर्न बाँकी छ ।’
सांसद बडूको यो भनाईले आशंका पनि उब्जाउछ । एकातिर भेटघाटमा सबैले टिंकर सडकलाई महत्व दिएको बताएको र अर्कोतिर पर्याप्त बजेट विनियोजन हुने वा नहुने निश्चित नभएको अभिव्यक्ति बडूको छ । आफुले प्रयास गरिरहेको तर ढुक्क भने हुन नसकेको अवस्थामा सांसद बडू देखिन्छन् ।
दुई वर्ष लगातार टिंकर सडकमा मन्त्रीको नेतृत्वमा अनुगमन भ्रमण गराएका बडू यसपटक पाँच करोड रुपैयाँ बजेट थप्न सफल भए । हेलिकोप्टरमार्फत स्काइभेटर र कम्प्रेसर लगायतका मेसिन ढुवानी गरेर छाङरुबाट सडक निर्माण थाल्न बडूले माग गर्दैआएका थिए । छाङरुमा दुइटा स्काइभेटर मेसिन थपेर सडक निर्माण थाल्न माग गरिए पनि सेनाले एउटा स्काइभेटर मेसिन मात्रै ढुवानी गरेको छ ।
छाङरुबाट तिंकर र बुँदी दुबैतर्फ सडक निर्माण थाल्न दुइटा स्काइभेटर मेसिन ढुवानी गर्न माग गरिएको थियो । तर चालू वर्षको फागुनमा थपिएको ५ करोड बजेटले एउटा मात्रै मेसिन छाङरु पुर्याइएको छ ।
चालू आर्थिक वर्षमा सडक निर्माणको वार्षिक लक्ष्य गत चैत्रमै पूरा भएको छ । नेपाली सेनाले यो वर्ष १८ सय मिटर सडक निर्माण र १२ सय मिटर सडक स्तरोन्नतीको लक्ष्य राखेको थियो । थपिएको पाँच करोड बजेटबाट छाङरुबाट बुँदीतर्फको क्षेत्रमा २ किलोमिटर थप सडक निर्माण गरिदैछ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जु र तम्बाकु क्षेत्रमा पनि सडक निर्माण कार्य जारी रहेको छ । थपिएको पाँच करोड बजेटबाटै वडा नम्बर २ को कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण जारी राखिएको सैनिक स्रोतले बतायो । कल्जुक्षेत्रमा दुइ–तीन सय लामो चट्टान फुटाएर सडकको ट्रयाक जोड्ने तयारी छ । यो वर्षभित्र कल्जुक्षेत्रको सडक खण्ड जोडिसक्ने लक्ष्य राखिएको छ ।
सेनाले व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि सडक निर्माण सुरु गरेको छ । टिंकर सडकको जिरो किलोमिटर तुषारपानीदेखि वडा नम्बर २ को मालगाउँभन्दा केही अगाडि करिब ५ किलोमिटर लामो सडकमा गाडी गुडेको छ । मालदेखि दुम्लिङहुँदै आकतुङतीसम्मको सडकको ट्रयाक निर्माण गरिएको छ तर केही स्थानमा ग्रेडिङ मिलाउन बाँकी रहेकोले ट्याक्टर गुडाउन सक्ने अवस्था छैन ।
दार्चुला–टिंकर सडकको डिपिआरअनुसार तुषारपानीदेखि छाङरुसम्मको सडकको दूरी ४२ किलोमिटर छ । हाल तुषारपानीदेखि दुम्लिङ–आकतुङती हुँदै तम्बाकुसम्मको १७ किलोमिटर लामो खण्डमा सडक निर्माण भइरहेको छ । घाटिबगर, बुँदी, कुन्तिसाउ हुँदै छाङरुसम्मको बाँकी २५ किलोमिटर सडक निर्माण बाँकी छ ।
भिरालो ठाउँ, कडा चट्टान र महाकाली नदीको किनारमा सडक निर्माण गर्नुपर्ने भएकोले जोखिमपूर्ण छ । कठिन र जोखिमपूर्ण भूगोल भएकाले यसक्षेत्रको सडक निर्माणमा बढी समय लागिरहेको बताइन्छ ।
टिंकर सडक दु्रतगतिमा निर्माण गर्न वार्षिक ५० करोड बजेट उपलब्ध हुनुपर्ने माग गरिएको छ । नयाँ बजेटको पूर्वाद्र्धमा पूर्वमन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले प्रधानमन्त्रीसंग टिंकर सडकमा ५० करोड बजेट विनियोजन गर्न माग गरेका छन् ।
नेपाली सेनाले पनि आगामी वर्षका लागि ५० करोड रुपैयाँ बजेट माग गरेको बताइन्छ । तर, राजनीतिक क्षेत्र र सेनाले मागेजति बजेट विनियोजन हुनेमा धेरैलाई शंका छ । हालसम्मको बजेट विनियोजनको शैली र सरकारको प्राथमिकतालाई हेर्दा नयाँ बजेटमा टिंकर सडकमा ५० करोड बजेट आउनेमा कोही पनि ढुक्क छैनन् । पर्याप्त बजेट विनियोजन नभएको अवस्थामा दुई वर्षभित्र छाङरुसम्मको सडकको ट्रयाक खोलिसक्ने लक्ष्य पनि पूरा नहुने निश्चित छ ।
चुच्चे नक्साको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेटमा २५–३० करोड रुपैयाँ विनियोजन गरिदिदा पनि ठूलो उपलब्धि हुने एकथरी सिमाक्षेत्रका नागरिकको भनाई छ । ‘हामीले धेरै ठूलो आश राखेका छैनौ, ५० करोड बजेट आउनेमा विश्वास छैन । २५ देखि ३० करोडसम्म बजेट आउदा पनि त्यो महत्वपूर्ण हुनेछ । प्रधानमन्त्री ओली धन्यवादका पात्र हुनेछन्’ दार्चुला–टिंकर निर्माणमा खबरदारी गर्दैआएका पत्रकार शंकर सिंह धामीको भनाई छ ।
छाङरुदेखि बुँदीसम्मको भूगोल सडक निर्माणका लागि सजिलो छ । त्यसखण्डको अधिकांश भूभागमा माटो छ । बुँदीदेखि पोला, बयलीधार र घाटिबगरसम्मको क्षेत्रमा पनि सडक निर्माण सजिलो छ । तर, घाटिबगरदेखि थिइभीर, तम्बाकु हुँदै कल्जुसम्मको क्षेत्रमा कडा चट्टान र भिरालो ठाउँ भएकोले सडक निर्माणमा बढी समय लाग्ने अवस्था छ । तुषारपानीदेखि छाङरुसम्मको निर्माण हुन बाँकी २५ किलोमिटर सडकको ट्रयाक खोल्न पर्याप्त बजेट विनियोजन हुनु जरुरी छ । साथै जनशक्ति र स्रोतसाधन बढाएर दु्रतगतिमा निर्माण कार्य गर्नु आवश्यक छ । तर जनशक्ति र स्रोतसाधन बढाउने आधार भनेकै पर्याप्त बजेट विनियोजन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here