दार्चुला, वैशाख ३ गते ।
भारतीय सेनाका पूर्व सेनाप्रमुख मनोज मुकुन्द नरभणेले नेपाल र भारतबीचको सिमा विवाद आपसी सहमतिमा समाधान गर्नुपर्ने बताएका छन् । आफुसहित भारतीय सेनाका ६ जना पूर्व सेनाप्रमुखले गत शिवरात्रीमा नेपाली सेनाको स्थापना दिवसमा सहभागी भइ ट्रयाक टु (अनौपचारिक) सम्वाद गरेको नरभणेले सार्वजनिक गरेका छन् ।
ट्रयाक टु (अनौपचारिक÷वैकल्पिक) सम्वादले दुबै देशका नियमित संयन्त्रहरुलाई ‘पारस्परिक स्वीकार्य समाधान’मा पुग्न मद्दत पुग्ने उहाँको भनाई छ । नरभणेले मार्च ५ (चैत्र २३ गते) मा भारतीय मिडिया ‘द प्रिन्ट’मार्फत ९ मिनेट लामो भिडियो प्रतिक्रिया दिएका छन् । शिवरात्रीमा नेपाल भ्रमण गरेपछि पूर्व सेनाप्रमुख नरभणेले नेपाल र भारतको सम्बन्धबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।
‘कालापानी नदीको पश्चिम किनारामा भारतबाट निर्माण गरिएको सडकले त्यहाँ बस्ने जनतालई ठूलो फाइदा हुनेछ र सबैका लागि सडक सम्पर्क बढाउनेछ’ नरभणेले भिडियोमा भन्नुभएको छ । उहाँले लिपुलेकबाट कालापानी हुँदै बग्दैआएको खोलालाई ‘कालापानी नदी’ भनेर सम्बोधन गरेका छन् । यद्यपि भारतले लिपुलेक र कालापानी हुँदैआएको लिपुखोलालाई महाकाली नदी भन्दैआएको छ । नरभणेले भने महाकाली वा काली नदी नभनेर ‘कालापानी नदी’ भन्दै यसक्षेत्रको भूअवस्थितिबारे जानकारी दिएका छन् ।
गुञ्जीदेखि लिपुखोलाको पश्चिमी किनार हुँदै कालापानी र नाभीढागसम्म भारतले सडक मार्ग बनाएको छ । नरभणेले यही सडकले स्थानीय जनतालाई सुविधा पुग्ने बताएका छन् । नरभणेले भूगोलको अवस्थितिका साथै सिमाक्षेत्रमा जनस्तरको सम्बन्धका पनि बोलेका छन् । ‘नदी किनारका दुबैतर्फका जनता बीच आपसी मित्रता रहेको र एकअर्का बीच कुनै पनि प्रकारको शत्रुता नरहेको वास्तविकता छ’ उहाँको भनाई छ ।
नेपाल र भारतबीच कालापानी क्षेत्रको भूगोल समेटर निकालिएको नयाँ नक्साको विषयले चर्काचर्की भएका बेला नरभणे भारतीय सेनाका प्रमुख थिए । नेपालले नयाँ नक्सा जारी गरेपछि देहरादुनमा आयोजित एक सैनिक कार्यक्रममा नरभणेले चीनको इशारामा नेपालले नयाँ नक्सा निकालेको बताएका थिए । त्यसलगत्तै भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको आपसी विषय भएकोले सजिलै सिमाको विवाद टुंगिने बताएका थिए । एउटा परिवारभित्रको विवाद जस्तो रहेको भन्दै रक्षामन्त्री सिंहले नरभणेको भनाइलाई सच्याएका थिए ।
नरभणे सन् २०१९ डिसेम्बर ३१ देखि २०२२ अप्रिल ३० सम्म भारतीय सेनाको प्रमुख रहेका थिए । उनकै कार्यकालमा सन् २०२० मा भारत र चीनको सेनाबचि गलवान झडप भएको थियो ।
नेपालले चुच्चे नक्सा प्रकासित गरिएको पृष्ठभूमिमा २०७७ सालको अन्तिमतिर नरभणेले नेपाल भ्रमण गरेका थिए । तत्कालिन राष्ट्रपति विद्या भण्डारीले नरभणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरेका थिए । काठमाण्डौंबाट फर्किएको एक हप्ताभित्रै तत्कालिन भारतीय सेना प्रमुख नरभणेले हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको भ्रमण गरेका थिए ।
नरभणेको पछिल्लो अभिव्यक्ति लचिलो र सकारात्मक देखिन्छ । भूगोलको अवस्थिति र वास्तविकताबारे जानकार भएकोले पनि नरभणेले दुबै देशले आपसी सहमतिमा सिमा विवाद टुंग्याउनुपर्ने प्रतिक्रिया सार्वजनिक गरेको चर्चा छ ।
भिडियो संवादमा नरभणेले सिमा विवादबारे यसो भनेका छन् ः
‘भारत–नेपाल सम्बन्धमा खल्लो ल्याउने एउटा प्रमुख विषय कालापानी क्षेत्रको सिमा विवाद हो । जुन चीन, भारत र नेपालको त्रिदेशीय सिमाक्षेत्र लिपुलेक पास नजिक पर्दछ ।
दुबै देश ऐतिहासिक दस्तावेज र सन्धिहरु देखाउदै यस क्षेत्रमा आफ्नो दाबी गर्दैैआएका छन् । भारतले २०१९ मा नयाँ नक्सा प्रकासित गरेपछि यो विषयले चर्चा पायो । संविधानको धारा ३७० हटाएसंगै कालापानी क्षेत्र भारतको भूमिमा देखाउदै नक्सा निकालिएको थियो । नेपालले पनि २०२० मा यो क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरी प्रतिवाद गर्यो । २०२४ मा एक सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको क्षेत्र समावेश गरि प्रकासित गरियो । यो स्मरणीय छ कि राजनीतिक अस्थिरताको समयमा र चुनावमा जनसमर्थन बटुल्न यो मुद्दा प्रयोग भयो ।
कालापानी नदीको पश्चिम किनारामा भारतबाट निर्माण गरिएको सडकले त्यहाँ बस्ने जनतालई ठूलो फाइदा हुनेछ र सबैका लागि सडक सम्पर्क बढाउनेछ ।
नदी किनारका दुबैतर्फका जनता बीच आपसी मित्रता रहेको र एकअर्का बीच कुनै पनि प्रकारको शत्रुता नरहेको वास्तविकता छ ।
यस्तो पृष्ठभूमिमा हुने यस्ता ट्रयाक टु (वैकल्पिक) संवादहरुले देशहरुलाई पारस्परिक स्वीकार्य समाधानमा पुग्न नियमित संयन्त्रहरुलाई मद्दत पुग्छ ।’