दार्चुला, चैत्र ७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं प्रतिनिधिसभा सदस्य वुद्धिमान तामाङले विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनौठो प्रश्न गरेका छन् । यसअघि कहिल्यै नसोधिएको र चर्चा पनि नगरिएको भ्रमणको विषय उठाइएको छ ।
प्रधानमन्त्रीको ओलीको नेतृत्वमा जारी भएको नयाँ नक्सा (चुच्चे नक्सा) को विषयमा धेरैले धेरैपटक चर्चा गरेका छन् । तर, चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा प्रधानमन्त्रीस्तरबाट भ्रमण गर्ने विषय कहिल्यै उठेको थिएन । प्रधानमन्त्री ओली स्वयंले पनि त्यसक्षेत्रमा भ्रमण गर्नेकुरा कहिल्यै गरेका थिएनन् । तर विहिवार प्रतिनिधिसभाको बैठकमा भएको प्रधानमन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा राप्रपाका सांसद तामाङले चुच्चे नक्साको भूगोलमा प्रधानमन्त्रीको भ्रमणबारे प्रश्न उठाएका छन् ।
‘नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ र भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?’ राप्रपा सांसद तामाङको प्रश्न छ ।
संसद सचिवालयमार्फत प्रधानमन्त्रीलाई पूर्व जानकारी गराइएका प्रश्नहरुमध्ये सांसद तामाङको यो प्रश्न पनि समावेश थियो । प्रतिनिधिसभाको बैठकमा सहभागी भएका सांसदहरु र बैठक हेरिरहेका दर्शकहरुमाझ एकाएक यो प्रश्न राखिए पनि प्रधानमन्त्री र संसद सचिवालय यसबारे पूर्वजानकार थिए । संसद सचिवालयले प्रधानमन्त्रीलाई सोधिने सबै प्रश्नहरु यसअघि नै लिखित रुपमा सम्बन्धित सांसदहरुबाट संकलन गरेको थियो ।
प्रधानमन्त्रीले यो प्रश्नको उत्तर रोचक रुपमा दिएका छन् । ‘अहिले तत्काल (भ्रमणमा जाने) योजना बनेको छैन, पछि जान सकिन्छ’ प्रधानमन्त्री ओलीको जवाफ छ । प्रधानमन्त्रीले सांसद तामाङलाई उल्टै प्रश्न समेत गरेका छन्– ‘माननीयज्यूको योजना (भ्रमण गर्ने योजना) बनेको छ कि क्या हो ? योजना बनेको छ भने राम्रो कुरा हो ।’
चुच्चे नक्सामा समेटिएको भूभाग भारतीय सुरक्षा वलको नियन्त्रणमा मात्रै छैन, त्यसक्षेत्रमा हजारौं सैनिक र अद्र्ध सैनिक वल राखिएका छन् । भारतको धारचुला तहसिलअन्तर्गत छियालेकभन्दा माथिको क्षेत्रलाई नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको छ । उक्त क्षेत्रमा कुनै पनि नेपाली नागरिकलाई प्रवेश गर्न दिइदैन । भारतीय नागरिकले समेत त्यसक्षेत्रमा आवतजावत गर्न भारतीय प्रशासनको लिखित अनुमतिपत्र लिनुपर्ने अभ्यास छ ।
सांसद तामाङको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हामी सबैलाई थाहा छ सन् १९६२ सम्म हाल नेपालको नक्सा जुन हामीले बनाएका छौ, हाम्रो संसदले सर्वसम्मतिले त्यसलाई संविधानको अंग पनि बनाएको छ, स्वीकारेको छ र त्यो नै यथार्थ हो । १९६२ सम्म त्यो भूभाग नेपालकै अधिनमा थियो र नेपालको नक्सा पनि तदअनुसार नै थियो र तदअनुसार (जस्तो अहिलेको नक्सा छ त्यही बमोजिम) नै पहिले पनि थियो ६२ (१९६२) भन्दा अघि ।
त्यसपछि नेपालको नक्सा किन फेरियो ? कस्ले फेर्यो ? कसको सरकार थियो ? कस्तो व्यवस्था थियो ? कस्को व्यवस्था थियो ? (संसदमा ताली बज्छ) माननीयजीलाई याद होला भन्ने म यसो याद गर्छु ।
२०७७ साल असार ४ गते संविधानको दोस्रो संसोधनमार्फत त्यो पनि सर्वसम्मत संसोधनमार्फत संविधानको अनुसुची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधिक गरिएको तथ्य माननीय ज्यूलाई अवगत नै छ ।’