टिंकर नाकामा अध्यागमन सेवा दिने गृहको कार्ययोजना

0
142

दार्चुला, भदौ ४ गते ।
गृह मन्त्रालयले दार्चुलाको टिंकर नाकाबाट अध्यागमन सेवा सुरु गर्ने कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय दिनभित्र गर्न सकिने कार्यहरुको कार्ययोजना तयार पार्न सबै मन्त्रालयलाई निर्देशन दिएका थिए । गृहले आफ्नो सय दिने कार्ययोजनामा दार्चुलाको टिंकर नाका, मुस्ताङको कोरला र रुपन्देहीको बेलहिया नाकामा अध्यागमन कार्यालय सञ्चालन गर्ने योजना समेटेको छ ।
गृहमन्त्री रमेश लेखकले सोमबार काठमाण्डौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा दुई महिनाभित्र टिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गरिने घोषणा गरेका छन् । यसअघि भदौ २ गते मन्त्री लेखकलाई भेट्न गृह मन्त्रालय पुगेको दार्चुलाको सर्वदलिय प्रतिनिधिमण्डलसंग पनि उहाँले अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिएका थिए ।
पूर्वमन्त्रीद्वय दिलेन्द्रप्रसाद बडू र गणेश सिंह ठगुन्नासहितको प्रतिनिधिमण्डलसंग गृहमन्त्रीले असोज पहिलो साताभित्रै व्यासमा अध्यागमन कार्यालय खोलिने बताएका थिए । भौगोलिक अवस्थिति र मौसमी अनुकुलताबारे समेत गृहमन्त्रीले दार्चुलाको टोलीसंग जानकारी मागेको भेटमा संलग्न एक सदस्यले बताउनुभयो ।
टिंकर नाकाको अध्यागमन कार्यालय उद्घाटनका लागि गृहमन्त्री लेखक आफै दार्चुला आउने भएका छन् । गृहजिल्ला दार्चुला भएका पूर्वमन्त्रीद्वय बडू र ठगुन्नालाई गृहमन्त्री लेखकले अध्यगामन कार्यालय उद्घाटनमा काठमाण्डौंबाट संगै दार्चुलाको व्यास जाने प्रस्ताव समेत गरेका छन् ।
टिंकर नाकामा अध्यागमन कार्यालय सञ्चालनको गृहकार्य मन्त्रालय र अध्यागमन विभागमा भइरहेको स्रोतले बतायो । केही दिनअघि अध्यागमन विभागको निरीक्षण भ्रमण गरेका गृहमन्त्रीले त्यतिबेला पनि निकट भविष्यमा टिंकर र कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको गृहकार्य थाल्न निर्देशन दिएका थिए ।
गृह मन्त्रालयले तयार गरेको सय दिने कार्ययोजना जिल्ला प्रशासन कार्यालयहरुमा पठाइएको छ । मन्त्रालयबाट कार्ययोजनासहितको विवरण मंगलवार प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । गृहको कार्ययोजनामा दोस्रो नम्बर बुँदामा टिंकर, कोरला र बेलहिया नाकामा अध्यागमन कार्यालय सञ्चालन गरी सेवा सुरुवात गर्ने उल्लेख छ ।
टिंकर र कोरला चीनसंग सिमा जोडिएका नाका हुन् भने बेलहिया भारतसंग सिमा जोडिएको नाका हो । तिनवटै स्थानमा कार्यालय स्थापनाको जिम्मेवारी अध्यागमन विभागलाई दिइएको छ । गृह मन्त्रालयअन्तर्गतको प्रशासन महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहलाई अध्यागमन कार्यालय स्थापनाका लागि सहयोगी निकायका रुपमा राखिएको छ ।
एक सय दिनको कार्ययोजना भए पनि ७० दिनभित्रै कार्यालय स्थापना गर्ने कार्ययोजनामा उल्लेख छ । कार्यालय स्थापनापछि तिनवटै अध्यागमन सेवा सुचारु हुने अपेक्षित उपलब्धिमा राखिएको छ ।
अध्यागमन विभागका निर्देशक एवं सुचना अधिकारी प्रेम प्रसाद दाहालले अध्यागमन कार्यालय स्थापनाका लागि छलफल र गृहकार्य भइरहेको बताउनुभयो । उहाँले कार्यालय स्थापनाका लागि जनशक्ति र उपकरणको अभाव नरहेको बताएका छन् ।
व्यासमा रहेको सिमा प्रशासन कार्यालयबाटै अध्यागमन सेवा दिने कि छुट्टै अध्यागमन कार्यालय स्थापना गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको निर्देशक दाहालले बताउनुभयो । ‘हामी छलफल र गृहकार्यमै छौं, यसबारे टुंगो लागेको छैन’ उहाँले भन्नुभयो ।
छुट्टै नयाँ कार्यालय स्थापना गर्दा मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुुन्छ । मन्त्रालयको सय दिने कार्ययोजनामा राखिएको र गृहमन्त्री आफैले चाँसो राखेकाले क्याविनेटकै निर्णय आवश्यक हुँदा पनि यसमा विलम्ब नहुने स्रोतको भनाई छ ।
अध्यागमन कार्यालय स्थापना एवं सञ्चालनका लागि मन्त्रालय र अध्यागमन विभागबाट थप निर्देशन प्राप्त भएपछि जिल्लास्तरमा प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
तत्काल वर्षा भइरहेकोले केही हप्तापछि मात्रै कार्यालय स्थापनाको कार्य हुने सम्भावना छ । असोज पहिलो साताभित्र गृहमन्त्री आफै दार्चुलाको व्यासक्षेत्र पुगेर अध्यागमन कार्यालय उद्घाटन गर्नेगरी तयारी थालिएको नेविसंघका नेता दिपक खातीले बताउनुभयो ।
व्यासमा अध्यागमन कार्यालय स्थापना भएपछि टिंकर नाका भएर पवित्र कैलाश मानसरोवर यात्रा गर्न सकिने छ । चीन सरकारबाट भिसा प्राप्त भएपछि टिंकर नाका भएर प्रवेश गर्ने र नेपाल फर्किने सुविधा कैलाश यात्रीले पाउनेछन् । हाल रसुवाको रसुवागढी–केरुङ, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाकाबाट मात्रै कैलाश–मानसरोवर यात्रुले प्रवेश पाइरहेका छन् । काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत ल्हासा र छेन्दु शहर हुँदै पवित्र कैलाश–मानसरोवर यात्राको सुविधा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here