दार्चुला, साउन २० गते ।
महाकालीको सिमाक्षेत्रमा सशस्त्र प्रहरी वलको उपस्थिति र सक्रियता बढिरहेको छ । चुच्चे नक्साको प्रकाशनसंगै सिमाक्षेत्रमा सशस्त्र प्रहरीका युनिटहरु बढाइएका छन् । २०७० देखि २०७७ सालसम्म सदरमुकाम खलंगामा सिमित रहेको सशस्त्र प्रहरीको उपस्थिति हाल १२ स्थानमा फैलिएको छ ।
सरकारले चुच्चे नक्साको प्रकाशनसंगै देशैभरीको अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा सशस्त्र प्रहरीका युनिट बढाएको थियो । यसक्रममा दार्चुला सदरमुकाम खलंगामा ४४ नम्बर गण स्थापना गरी खलंगामा रहदैआएको ५० नम्बर गुल्मलाई चुच्चे नक्साको भूगोल नजिक व्यासको छाङरु गागामा राखिदैआएको छ ।
दार्चुला सदरमुकाम खलंगामा पहिलोपटक सशस्त्र प्रहरीको गुल्म २०७० माघ ७ गते स्थापना गरिएको थियो । सात वर्षसम्म खलंगामा मात्रै सिमित रहेको सशस्त्र प्रहरीको उपस्थिति हाल सबैजसो अन्तर्राष्ट्रिय नाका र सिमाक्षेत्रमा पुगेको छ ।
नेपाल र भारतको सिमा जोडिएका दार्चुला जिल्लामा मात्रै १० वटा नाका छन् । महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगा, वडा नम्बर ९ दत्तु, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवि, वडा नम्बर ६ बाकु, लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ । यसैगरी, व्यास गाउँपालिकाको वडा नम्बर १ सितापुल, वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा मलघट्टे, वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउमा दुइ देश जोड्ने सिमानाका छन् । यीमध्ये व्यास गाउँपालिका १ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुंगे पुल बनाइएको छ ।
चीनसंग सिमा जोडिने टिंकर भञ्ज्याङलाई लक्षित गरी व्यास गाउँपालिका वडा नम्बर १ तिंकरको छियालेकमा सशस्त्र प्रहरीको विओपी राखिएको छ । सरकारले भारत र चीनसंग सिमानाका जोडिने सबै स्थानमा सुरक्षा उपस्थिति गराएको छ । भारतसंगका १० वटा नाका र चीनसंगको तिंकर नाका हेर्ने गरी सशस्त्र प्रहरीका युनिटहरु क्रियासिल रहेको ४४ नम्बर गणका गणपति देवराज जोशी बताउनुहुन्छ ।
सशस्त्र प्रहरीको ४४ नम्बर गणले सोमबार आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ । गणअन्तर्गत मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिविमा प्रस्तावित सिमा सुरक्षा गुल्म सञ्चालनमा छ भने महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु र लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा विओपी स्थापना गरिएको छ ।
यसैगरी, व्यास गाउँपालिकाको छाङरुमा रहेको ५० नम्बर गुल्मअन्तर्गत तिंकरको छियालेक र राप्लाको दुम्लिङमा विओपी राखिएका छन् । महाकाली नदी किनारका सबैजसो सिमाक्षेत्र कभर हुनेगरी विओपी र सुरक्षा पोष्टहरु राखिएको गणपति जोशीको भनाई छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ कौवाक्षेत्रमा नयाँ विओपी स्थापनाको प्रक्रिया समेत अघि बढाइएको उहाँले बताउनुभयो । ‘जग्गा व्यवस्थापनको कार्य सुरु भएको छ, निकट भविष्यमा कौवामा विओपी स्थापना हुन्छ’ उहाँले भन्नुभयो ।
सशस्त्र प्रहरीका सबै युनिटहरुमा सिमाक्षेत्रको निगरानी र नियमित गस्ती गर्ने कार्य हुँदैआएको ४४ नम्बर गण हेडक्वाटरले जनाएको छ । सिमा सुरक्षा, विपद व्यवस्थापन र सिमाक्षेत्रमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले योगदान गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख एवं डिआइजी प्रदीपकुमार पालले महाकालीको सिमाक्षेत्रमा सशस्त्र प्रहरीले सिमा सुरक्षाका साथै राजश्व अभिवृद्धिमा पनि योगदान पुर्याएको बताउनुभयो । ४४ नम्बर गणको वार्षिकोत्सव कार्यक्रममा सहभागी भएका डिआइजी पालले एक महिना अघि मात्रै व्यासको तिंकरस्थित सशस्त्र प्रहरीको विओपी निरीक्षण पनि गरेका थिए ।
दार्चुला जिल्लाअन्तर्गत अन्तर्राष्ट्रिय सिमाक्षेत्र जोडिएका स्थानीय तहका वडास्तरमा सहजिकरण समिति समेत गठन गरेर क्रियासिल रहेको गणपति देवराज जोशीले बताउनुभयो । ‘अन्तर्राष्ट्रिय सिमाक्षेत्र जोडिएका १७ वटा वडाहरु छन्, सबै वडाका वडाअध्यक्ष ज्यूको नेतृत्वमा १० सदस्यीय सहजिकरण समिति निर्माण गरिएका छन्’ उहाँले भन्नुभयो ।
सिमाक्षेत्रका जनता, जनप्रतिनिधि र सुरक्षा निकायबीच आपसी समन्वय बढाउन यस्ता समिति बनाइएको उहाँले जानकारी दिनुभयो । दार्चुलाको व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको भूगोल अन्तर्राष्ट्रिय सिमाक्षेत्रसित जोडिएको छ ।
गत आर्थिक वर्ष २०८१र८२ मा सशस्त्र प्रहरीले दार्चुलामा आधा दर्जन राजश्व छलीका घटनाहरु सार्वजनिक गरेको छ । यी घटनाहरुबाट दुईवटा गाडीसहित २२ लाख ७३ हजार ६ सय २५ रुपैयाँ बराबरको चोरी तस्करीको सामान बरामद गरिएको ४४ नम्बर गण हेडक्वाटरले जनाएको छ ।
दार्चुला जिल्लाको भूगोलमा भारतसित १ सय ९८ किलोमिटर र चीनसंग ७५ किलोमिटर लामो सिमाक्षेत्र रहेको सशस्त्र प्रहरीको भनाई छ । चीनसंग सिमा जोडिने टिंकर भञ्ज्याङमा मात्रै पछिल्लो डेढ महिनामा ३ पटक सशस्त्र प्रहरीले गस्ती गरेको जनाइएको छ । टिंकर भञ्ज्याङस्थित नेपाल र चीनको सिमाना छुट्याउने १ नम्बर पिलर तिंकरको छियालेकस्थित सशस्त्र प्रहरीको विओपीबाट ५ घण्टाको पैदल दूरीमा रहेको छ ।