१८ वर्षपछि जीत दोहर्याउने रणनीतिमा ‘सुरज’

0
50

दार्चुला, फागुन १३ गते ।
प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी ‘सुरज’ १८ वर्षपछि जीत दोहर्याउने रणनीतिमा छन् । पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन नेकपा (माओवादी)का तर्फबाट विजयी भएका जोशी यसपाली दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।
२०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछिका निर्वाचनहरुमा भने जोशी उम्मेदवार बनेका थिएनन् । तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट २०७० सालमा ललितसिंह ठगुन्ना उम्मेदवार थिए । २०७० सालको संविधानसभा निर्वाचनमा जोशी भने मोहन वैद्य नेतृत्वको माओवादीमा थिए र त्यतिबेलाको निर्वाचन बहिस्कारमा सक्रिय थिए ।
यसपटकको निर्वाचनमा नेकपाको चुनाव चिन्ह तारा छ । २०६४ देखि २०७९ सम्म गोलाकारभित्रको हसिया हतौडा चुनाव चिन्हमा चुनाव लडेको प्रचण्ड नेतृत्वको पार्टीले यसपटक तारा चुनाव चिन्ह बनाएको छ । दुई दर्जन कम्युनिष्ट र समाजवादी घटकहरुलाई एकतावद्ध गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गरिएको छ ।
नेकपाका उम्मेदवार जोशीले मतदाताहरुलाई अनुरोधपत्र पठाइरहेका छन् । अधिकतम मतदातासम्म अनुरोधपत्र पठाउने कार्य भइरहेको नेकपाका नेता प्रेमराज पन्तले बताउनुभयो । ‘हाम्रो उम्मेदवारले केही पृष्ठभूमि, वर्तमान अवस्था, चुनावी एजेण्डाबारे लेखेर मतदातालाई अनुरोध पत्र पठाइरहनु भएको छ’ उहाँले भन्नुभयो ।
‘यतिबेला मुलुक र लोकतन्त्र संकटमा परेको’ उम्मेदवार जोशीको अनुरोध पत्रमा उल्लेख छ । ‘एकातिर मुलुकलाई युवाहरुको चाहना बमोजिम निवास दिनुपर्ने छ भने अर्कोतिर जिल्लाको विकास सम्वृद्धिलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको’ जोशीले बताएका छन् । जिल्लामा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको क्षेत्र सुधार, रोजगारी, उद्यम, कृषि, ऊर्जा, पर्यटन लगायत उत्पादन क्षेत्रका समस्या समाधान गर्नु आवश्यक रहेको जोशीको भनाई छ ।
आफु निर्वाचन प्रचारप्रसारको क्रममा जनताको घरदैलोमा पुगिरहेको उम्मदेवार जोशीको भनाई छ । आफुले सम्पूर्ण जीवन जनता र राष्ट्रको सेवामा समर्पित गरेको बताउदै जोशीले यसपटकको निर्वाचनमा आफुलाई जनताको आशीर्वाद प्राप्त हुने विश्वास राखेका छन् ।
उम्मेदवारी दर्ता लगत्तै जिल्लाका नौवटै स्थानीय तह र वडास्तरमा जोशी पुगेका छन् । मालिकार्जुन राष्ट्रिय धाम पुगेर मन्दिर दर्शन, स्थानीय कार्यकर्ता र मतदातासंग भेटघाट तथा देशभक्त नेता प्रेम सिंह धामीको सालिकमा माल्यार्पण गरेका जोशीले दुहुँक्षेत्रको जानुअघि पनि खलंगास्थित स्वर्गिय नेता धामीको सालिकमा माल्यार्पण गरेका थिए ।
निर्वाचनमा पार्टी एकढिक्का भएर परिचालन भइरहेको नेता पन्तको भनाई छ । ‘जिल्लाका सबै भूगोल र क्षेत्रमा पार्टी नेता–कार्यकर्ताहरु प्रचारप्रसारमा सक्रिय छन्’ उहाँले भन्नुभयो । उहाँका अनुसार उम्मेदवारसहितको टोलीले पालिकास्तर र वडास्तरका भेटघाट कार्यक्रम गरिरहेको छ ।
निर्वाचनको प्रचारप्रसार पार्टीको सबै तहका नेता–कार्यकर्ता सक्रिय रहेका छन् । उम्मेदवार जोशीले पार्टीको निर्णय र भूगोलको आवश्यकताले आफु चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
२०७४ पछिका निर्वाचनहरुमा गठबन्धन गरेर चुनाव लड्नु परेकोले आफ्नै चुनाव चिन्हसहित निर्वाचनमा आउन नसकेको जोशीले बताएका छन् । यसपटक भने आफ्नै चुनाव चिन्हमा निर्वाचन लडिरहेकोले दार्चुलावासी जनताले न्याय गर्ने जोशीको भनाई छ ।
नेकपाले नेतृत्व गरिरहेका स्थानीय तहबाट पहिलो नम्बरमा मत बटुल्ने माओवादी तयारी छ । नेकपाले जनयुद्धको आधारक्षेत्र रहेको मार्मा, नौगाड र अपिहिमाल गाउँपालिकाबाट पहिलो नम्बरमा मत ल्याउनेगरी चुनावी रणनीति बनाएको छ ।
उम्मेदवार जोशीको गृहक्षेत्र रहेको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाको भूगोलबाट व्यक्तिगत सम्बन्ध, जातिय र भौगोलिक निकटताले मत बढ्ने आकलन पनि नेकपामा गरिएको छ । नेकपा, एमाले, काग्रेस, रास्वपाबीच चारपक्षीय प्रतिस्पर्धा हुँदा १५÷१६ हजार मत ल्याउदा चुनाव जित्न सकिने विश्लेषण गरिएको छ ।
एमाले र काग्रेसले विगतमा पाएको मतमा गिरावट आउने र ती मतहरु रास्वपाले पाउदा चार पक्षीय प्रतिस्पर्धा हुने नेकपाको विश्लेषण छ । राप्रपाले पनि यसपटकको चुनावमा राम्रो मत ल्याउने नेकपाको आकलन छ ।
१८ वर्षअघिको संविधानसभा निर्वाचनमा जोशी २५ हजार ४ सय ४ मत ल्याइ विजयी भएका थिए । त्यतिबेला जोशीसंग प्रतिस्पर्धा गरेका नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्नाले १२ हजार ८ सय १३ मत र नेपाली काग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले १२ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए ।
जोशी र ठगुन्ना यसपाली दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् भने काग्रेस नेता बडू चुनावी प्रतिस्पर्धामा छैनन् । २०६४ सालको निर्वाचनमा ५५ हजार ९ सय ५१ मत खसेकोमा विजयी उम्मेदवार जोशी एक्लैले ४७ प्रतिशत मत पाएका थिए ।
यसपालीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका जोशी र ठगुन्नाबाहेकका बाँकी ९ जना पहिलोपटक चुनाव लड्दैछन् । जोशी र ठगुन्ना दुबै जना महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीका वासिन्दा र छिमेकी समेत हुन् ।
निर्वाचन प्रचारप्रसारको क्रममा जोशीले गठबन्धन गर्दा एकपटक ठगुन्नालाई र अर्कोपटक बडूलाई जिताएकोले यसपटक ठगुन्ना र बडू दुबैले आफुलाई जिताउन सहयोग गर्नुपर्ने समेत बताएका छन् । २०७४ सालमा माओवादीसंगको गठबन्धनमा एमालेका गणेश सिंह ठगुन्ना र २०७९ मा काग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका थिए ।
दार्चुला–टिंकर सडक लगायत जिल्लाका प्रमुख विकास निर्माण योजनाहरुको थालनी आफ्नो कार्यकालमा गरिएको तर पछिल्लो समय निर्वाचित हुनेहरुले विकास निर्माणलाई गति दिन नसकेको जोशीको आरोप छ । ‘मेरो कार्यकालमा थालेका विकास निर्माण कार्य अहिले पनि अलपत्र छ, यसलाई पूर्णता दिन पनि आम जनसमुदायले मलाई विजयी गराउनेछन् भन्ने अनुरोध र विश्वास छ’ चुनाव प्रचारको क्रममा नेकपा उम्मेदवार जोशीले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here