दार्चुला, माघ २४ गते ।
दार्चुला सदरमुकामस्थित एक होटलको एउटै तल्लामा बसेका नेपाल प्रहरीका एआइजीले आफ्नै संगठनका पूर्व आइजिपीसंग भेटघाट नै गरेका छैनन् । चुनावी सुरक्षाबारे निरीक्षण भ्रमण गर्न शुक्रवार दिउसो दार्चुला पुगेका एआइजी हिमालयकुमार श्रेष्ठ आफ्नै संगठनका पूर्व आइजिपी रमेश चन्द ठकुरीसंग सामान्य शिष्टाचार भेटघाट र भलाकुसारी समेत नगरिकन फर्किएका छन् ।
शुक्रवार राती जिल्ला प्रहरी कार्यालयको सामुन्नेमा रहेको भावना होटलमा एआइजी श्रेष्ठको टोली बसेको थियो । नेपाल प्रहरीका प्राविधिक डिआइजी, एसएसपी दीपेन्द्र शाही, एसपी प्रेम वहादुर शाहीसहितका सुरक्षा अधिकारीहरु पनि संगै थिए ।
शुक्रवार साँझ नै महेन्द्रनगरबाट बनबासा हुँदै भारतीय मोटरमार्गबाट दार्चुला आइपुगेका पूर्व आइजिपी रमेश चन्द ठकुरी पनि भावना होटलमै बसेका थिए । होटलको एउटै तल्ला (तेस्रो तल्ला) मा छुट्टाछुट्टै कोठामा बसे पनि एआइजीको टोलीले पूर्व संगठन प्रमुखसंग भेटघाट गर्न आवश्यक ठानेन ।
आफ्नो भाइको चुनावी प्रचारप्रसारका लागि गृहजिल्ला दार्चुला पुगेका पूर्व आइजिपी ठकुरीसंग भेटघाट गर्न एआइजीको टोलीले बोझ मानेको स्रोतले बतायो । राप्रपाबाट उम्मेदवार बनेका भाई राजेश चन्दको प्रचारका लागि दार्चुला पुगेकाले पूर्व आइजिपी ठकुरीलाई भेट्न एआइजीको टोली डराएको स्रोतको भनाई छ ।
एआइजीको टोली र पूर्व आइजिपीको टोली एउटै होटलको एउटै तल्लामा बसेकोले दुबै पक्षको सामान्य शिष्टाचार भेट हुने अपेक्षा गरिएको थियो । तर एआइजीको टोलीले भेटघाटलाई महत्व नदिएको राप्रपाका एक जिल्ला नेताले बताए । ‘आफ्नै संगठनको पूर्व प्रमुखसंग सामान्य हेलोहाइ गर्नका लागि कन्ज्युस्याइ र अप्ठेरो नमान्नुपर्ने हो, तर गणतन्त्रको शासनमा प्रहरी अधिकारीहरु भेट गर्न पनि डराएछन्’ राप्रपाका ती नेताको भनाई छ ।
पूर्व आइजिपी ठकुरी दार्चुला पुगेको जानकारी एआइजीको टोलीलाई थियो । जिल्ला प्रहरी कार्यालय भवन निर्माणाधिन रहेकोले केही महिनाका लागि डिएसपीको निवास पनि भावना होटलको तेस्रो तल्लामा भाडामा रहेको छ । डिएसपी निवासमै एआइजी टोलीको बेलुकीको खाना तयार गरिएको थियो । शुक्रवार रातीको बास पनि भावना होटलको त्यही तल्लामा भएको एआइजी टोली शनिवार विहान दार्चुलाबाट फर्किएको छ ।
एउटा पार्टीको उम्मेदवारको पक्षमा प्रचार गर्न दार्चुला पुगेका पूर्व आइजिपी ठकुरीसंंग भेटघाट गर्दा गलत सन्देश जानसक्ने भन्दै एआइजी टोली भेटघाट गर्न इच्छुक नभएको जिल्लास्थित सुरक्षास्रोतले बतायो । शुक्रवार दिउसोदेखि नै जिल्ला प्रहरी कार्यालयको निरीक्षण, जिल्ला सुरक्षा समितिसंग अन्तरक्रिया लगायतका कार्यक्रम भएकोले व्यवस्ताको कारण पनि एआइजी टोलीले पूर्व आइजिपीलाई नभेटेको प्रहरी स्रोत बताउँछ । ‘सबै आफ्नो कामको चटारोमा थिए, भोलिपल्ट विहानै फर्किने तालिका भएकाले एआइजी नेतृत्वको टोली व्यस्त रह्यो, जानकारी भए पनि पूर्व आइजिपीसंग भेट हुन सकेन’ स्रोतको भनाई छ ।
शनिवार विहानै एआइजीको टोली भारतको धारचुलाबाट भारतीय मोटरमार्ग हुँदै महेन्द्रनगरतर्फ फर्किएको छ । दार्चुला आउदा डडेल्धुरा र बैतडी हुँदै नेपालकै बाटो भएर एआइजी टोली खलंगा पुगेको थियो । एआइजी टोलीका गाडीहरु भने नेपालकै बाटो फर्किएका छन् । एआइजी श्रेष्ठसहित ७ जनाको टोली भारतीय मोटरमार्ग हुँदैै फर्किएको स्रोतले बतायो ।
पूर्व आइजिपी ठकुरीले शनिवार दिउसो होटल भावनामै पूर्व सुरक्षाकर्मीहरुसंग भेटघाट गरेका छन् । शुक्रवार एआइजी टोलीसंग भेटघाट र छलफलमा रहेका प्रमुख जिल्ला अधिकारी र डिएसपीसहितका सुरक्षा अधिकारीहरुको टोली शनिवार नौगाड गाउँपालिकाको नागुक्षेत्रतर्फ गएको थियो । प्रजिअसहितको टोलीले पनि पूर्व आइजिपी ठकुरीसंग भेटेको छैन ।








