स्थानीय तहहरुलाई ९२ प्रतिशत बजेट निकासा

0
91

दार्चुला, जेठ १४ गते ।
दार्चुलाका नौवटै स्थानीय तहहरुलाई करिब ९२ प्रतिशत बजेट निकासा गरिएको छ । चालू आर्थिक वर्षमा संघीय सरकारबाट स्थानीय तहहरुलाई निर्धारण गरिएको वित्तिय समानीकरण अनुदानको बजेट निकासा गरिएको हो ।
वैशाख मसान्तसम्ममा सबै स्थानीय तहहरुलाई ९१ दशमलव ७६ प्रतिशत बजेट निकासा दिइएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट वैशाख २३ गते प्राप्त सर्कुलरअनुसार स्थानीय तहहरुमा बजेट निकासा गरिएको निमित्त कार्यालय प्रमुख जगन्नाथ भट्टले बताउनुभयो ।
स्थानीय तहहरुलाई प्रत्येक त्रैमासिकको सुरुमा २५ प्रतिशतका दरले बजेट निकासा दिने व्यवस्था रहेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षको चौथो किस्ता निकासा गर्दा ९१ दशमलव ७६ प्रतिशतमा नबढ्नेगरी दिइएको छ ।
राजश्व संकलनका आधारमा वित्तिय अनुदानको निकासा बढ्नसक्ने कोलेनिका दार्चुलाले जनाएको छ । गतवर्षको भन्दा चालू वर्षमा राजश्व संकलनमा वृद्धि भएकाले समयमै स्थानीय तहहरुमा चौथो किस्ता निकासा दिइएको बताइन्छ ।
गतवर्ष संघीय सरकारबाट स्थानीय तहहरुलाई ९३ प्रतिशत बजेट मात्रै निकासा गरिएको थियो । राजश्व संकलनमा कमी आएपछि गतवर्षको निकासा प्रक्रियामा ढिलाइ भएको थियो भने देशभरका स्थानीय तहहरुलाई दबाव दिएका थिए । गतवर्ष असार १६ गते अन्तिम किस्ता निकासा गरिएको थियो ।
यो वर्ष भने आर्थिक वर्ष पूरा हुनुभन्दा दुई महिनाअघि नै करिब ९२ प्रतिशत अनुदान निकासा भइसकेको छ । जेठ र असार महिनामा संकलन हुने राजश्वबाट स्थानीय तहहरुलाई थप निकासा दिइनेछ । महालेखा नियन्त्रक कार्यालयको सर्कुलरअनुसार अनुदान निकासा हुँने गर्छ ।
एक आर्थिक वर्षमा चारपटक अनुदान रकम निकासा गर्ने व्यवस्था भए पनि सरकारले आर्थिक वर्षको अन्तिम समयमा पनि थप रकम निकासा दिदैआएको छ ।
स्थानीय तहहरुलाई संघीय सरकारबाट चार प्रकारको अनुदान रकम उपलब्ध हुने गर्छ । वित्तिय समानीकरण अनुदान, सशर्त अनुदान, सम्पूरक अनुदान र विशेष अनुदानको रुपमा बजेट दिइने गरिन्छ । स्थानीय सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार कार्यान्वयन गर्नेगरी वित्तिय समानीकरण अनुदान दिइन्छ । सशर्त, सम्पूरक र विशेष अनुदानका लागि छुट्टाछुट्टै शर्त र मापदण्डहरु निर्धारण हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here