शंकर सिंह धामी
महाकाली नदी किनारमा छिमेकी भारतले नेपालको जस्तै समानान्तर रुपमा पक्की तटबन्धको संरचना निर्माण गर्दैछ । दार्चुला सदरमुकाम क्षेत्रमा नेपालतर्फ करिब ५ किलोमिटर लामो तटबन्ध संरचना निर्माण भइसकेको छ । नेपालको जस्तै छिमेकीले पनि तटबन्ध निर्माणको कार्य युद्धस्तरमा गरेको छ र अन्तिम चरणमा पुगेको छ । महाकालीपारि धारचुला क्षेत्रमा चार÷पाँच सय मिटर लामो क्षेत्रमा मात्रै अब तटबन्धको संरचना निर्माण हुन बाँकी छ । धारचुलाको खोतिला वस्तीदेखि गलातीखोला नजिकको नमस्कार मन्दिरक्षेत्रसम्म भारतले तटबन्ध निर्माण अन्तिम चरणमा पुगाएको छ ।
हाल गल्फैपारिको महाकाली किनारमा र खुलामञ्चपारिको तटिय क्षेत्रमा तटबन्ध निर्माणको जग खन्ने कार्य भइरहेको छ । नेपाली पक्षले यी दुइ स्थानमा भइरहेको तटबन्ध निर्माण कार्यमा आपत्ति जनाएको छ । आपत्ति जनाउनुको कारण स्पष्ट छ– अन्तर्राष्ट्रिय सिमारेखा मिचिदैछ र नदीको वहाव नेपालतर्फ भविष्यसम्म फर्किइरहने अवस्था छ । साथै, दुबैतर्फ तटबन्धको पक्की संरचना बने पनि नदीको प्राकृतिक वहाव साँघुरिएर भविष्यमा जोखिम हुनसक्ने खतरा छ ।
अन्तर्राष्ट्रिय सिमारेखा मिचेर र छिमेकी नेपाललाई असर पर्नेगरी भारतले किन यस्तो तटबन्ध बनाउदैछ त ? यसका धेरै कारण देखिन्छन् । तीन वर्षअघि २०७८ चैत्र ३० गते गल्फैपारिको नदी किनारमा बनाइदै गरेको संरचना निर्माणको कार्य रोकिएको थियो । नेपाल सरकारले आपत्ति जनाएपछि त्यतिबेला निर्माण कार्य रोकिएको थियो । अहिले भने एकाएक भारतले उक्तक्षेत्र सहित सबैस्थानमा धमाधम तटबन्ध निर्माण गरिरहेको छ ।
नेपाली पक्षले सम्पर्क र समन्वय गर्न खोजे पनि यसबारे कुनै सुनुवाई भारतीय पक्षबाट भइरहेको छैन । अहिलेसम्मको अवस्था हेर्दा तटबन्ध निर्माण कार्य रोक्ने मुडमा छिमेकी देखिदैन । नेपालको विरोध भए पनि तटबन्ध निर्माण गरेरै छाड्ने योजना देखिन्छ । तर यो बलमिच्याइ हो, दादागिरी हो र छिमेकी नेपालमाथिको अन्याय हो ।
नेपालको राजनीति सत्तास्वार्थमा रुमल्लिएको र जिल्लास्तरका प्रशासक (प्रजिअ र सुरक्षा निकाय प्रमुखहरु) परिवर्तन भइरहेको अवस्थामा तटबन्ध निर्माणलाई तिब्रता दिइएको छ । नेपालको सिंगो राजनीति र केन्द्रीय सत्तालाई सिमा सुरक्षाको कुनै महत्वबोध छैन, हुँदैन । र जिल्लाका प्रशासक परिवर्तन भइहेको अवस्थामा धमाधम निर्माण कार्य अघि बढाउने सुरमा छिमेकी छ ।
धारचुला क्षेत्रको अधिकांश तटिय क्षेत्रमा तटबन्ध निर्माण भइसकेको अवस्थामा बाँकी रहेका यी स्थानमा पनि निर्माण कार्य सम्पन्न गर्ने भारतीय तयारी देखिन्छ । यी दुई स्थानमा सैनिक क्षेत्र रहेको र सैनिक क्षेत्रको सुरक्षा÷विस्तार गर्ने तथा सैनिक अभ्यासको मैदान विस्तार हुने अवस्थाले तटबन्ध निर्माणले प्राथमिकता पाएको देखिन्छ ।
विगतमा पनि नेपाली पक्षबाट पटक–पटक आपत्ति हुने गरेको तर त्यसको खासै सुनुवाई नभएको अवस्थामा पछिल्लो समय पनि बढीमा त्यस्तै अवस्था पुनरावृति हुने आकलन भएको होला । तर निर्माण कार्यनै रोक्नेगरी नेपाली पक्षबाट अवरोध हुनसक्दैन भन्ने भारतीय प्रशासनको बुझाइ छ ।
केही महिनाअघि मात्रै श्रीबगर क्षेत्रमा नेपालले तटबन्ध निर्माण गरिरहदा भारतीय सुरक्षा वल एसएसवीले बर्दीमै ढुंगा हानेर अवरोध गरेको अनुभव हामीसंग छ । तर एसएसवीले गरेको जस्तो विरोध र अवरोधमा नेपालका कुनै पनि सुरक्षा निकाय उत्रिदैनन् भन्ने उसले बुझेको छ ।
विगतमा नेपाली पक्षबाट भारतको बलमिच्याइपूर्वकको तटबन्ध निर्माणप्रति विरोध र अवरोध नभएको होइन । तर विभिन्न डर, त्रास र दबाव–प्रभावमा राखी बंगाबगर पारिक्षेत्रको तटबन्ध निर्माण गरेको अनुभव पनि छिमेकीसंग छ । लास्कुखोलाले महाकालीको वहाव भारततर्फ धकेलिएको र नेपालतर्फ भारतीय भूमि परेको अवस्थामा भारतीय प्रशासनले विगतमा पटक–पटक लास्कुखोलाले थुपारेको ढुंगामाटो हटाउन माग गरेको थियो । तर बंगाबगर क्षेत्रपारिको तटबन्ध निर्माणमा भारतीय पक्षले विश्वसनिय रुपमा काम नगरेकोले नेपालको प्रशासनले लास्कुखोलाको ढुंगामाटो हटाउने कार्य गरेनन् ।
विगतको लिखित सहमतिलाई समेत भारतले कार्यान्वयन नगरेको अवस्थामा लास्कुखोलाको ढुंगामाटो हटाउन नेपालका प्रशासक (विशेषत प्रजिअ)हरु तयार भएनन् । यस्तो अवस्थामा स्थानीयवासीबाट हुनसक्ने विरोध र अवरोध पनि प्रमुख कारण थियो । बंगाबगरसहितका क्षेत्रमा तटबन्ध निर्माण गर्दा अस्थायी जालीले बनाएको डाइभर्सन भारतले नहटाउदा दुई पक्षबीच अविश्वास निर्माण भएको वास्तविकता हो । खोतिलाको सुख्खा पहिरो व्यवस्थापन नगरिएको तितो अनुभव पनि हामीसंग छ ।
नेपालले आफ्नोतर्फको सबैजसो क्षेत्रमा पक्की तटबन्धको संरचना निर्माण गरिसकेको छ । यस्तो अवस्थामा भारततर्फ निर्माण गरिने तटबन्ध निर्माणमा नेपाली पक्षले धेरै चासो र सरोकार राख्दैन भन्ने बुझाइ पनि भारतको हुनसक्छ । तर अन्तर्राष्ट्रिय सिमारेखा मिचिने अवस्थामा र नदीको वहाव नेपालतर्फ फर्किने जोखिमले नेपाली पक्षले भारतीय तटबन्ध निर्माणप्रति चाँसो र आपत्ति जनाउनुपरेको छ ।
२०७० सालको वाढी र त्यसपछिका समयमा महाकालीको वहावले प्राकृतिक रुपमै निर्माण गरेको बगरक्षेत्रको उपभोग र संरक्षण गर्ने प्रयासमा पनि छिमेकी देखिन्छ । यस्तो अवस्था र यसप्रकारको भूमिको लाभ नेपालतर्फ पनि छ । तर हामीले नेपालतर्फ थपिएको भूमिमा कुनै पनि पक्की संरचना निर्माण गरेका छैनौ । छिमेकीले भने आफ्नोतर्फ बढेको बगरक्षेत्रमा पक्की संरचना निर्माण गर्दैछ ।
भारतको आफ्नो वलमिच्याइ प्रवृति र नेपालतर्फको सरकारी निरिहताले पनि तटबन्ध निर्माणलाई बल पुगेको छ । नेपाल सरकार यसबारे सकभर मौन रहन्छ, केही सरोकार देखाइहाले पनि त्यसलाई सम्बोधन नगरिकनै हामी तटबन्ध निर्माण गर्नसक्छौ भन्ने भारतीय बुझाइले काम गरेको छ ।
पक्की तटबन्ध निर्माण भइरहेको क्षेत्रमा विगतमा कसैको नीजि घर वा जमिनक्षेत्र नभएकोले पनि स्थानीय नागरिकको विरोध हुने अवस्था भारतले नदेखेको हुनसक्छ । बंगाबगरको तटबन्ध निर्माणमा स्थानीयवासीले विरोध गरेजस्तो गल्फैपारि र खुलामञ्चपारिको तटबन्ध निर्माणमा स्थानीयबाट कुनै विरोध नहुनुले भारतको यो बुझाइ पुष्टि गर्दछ ।
सरकारी संयन्त्र र आवश्यक परेमा उच्चतहबाट निर्देशन गर्न लगाएर सम्भावित अवरोध र विरोधलाई निस्तेज पार्ने पनि भारतीय सोच हुनसक्छ । तटबन्ध निर्माण भइरहदा नेपालतर्फ हतियारसहितका सुरक्षाकर्मीले सुरक्षा दिइरहनुले पनि भारतीय पक्षको उक्त सोचलाई संकेत गर्छ । कतै भारतीय तटबन्ध निर्माणको सुरक्षा गर्नका लागि नेपालतर्फ सुरक्षाकर्मी परिचालन गरिएका त होइनन् ? महाकाली नदी किनारमा दैनिक रुपमा सुरक्षाकर्मीको परिचालनले यस्तै संकेत र सन्देश दिन्छ ।
ठूलो र सानो देशको मनोविज्ञान, ‘हाम्रो विरोधले के नै हुन्छ र’ भन्ने बुझाइ तथा ‘छिमेकीलाई चिढ्याउनु हुन्न’ भन्ने केही नागरिकको बुझाइले पनि सिमाक्षेत्रको वर्तमान अवस्था हामी सबैले भोग्नुपरेको छ । तर, हामी भारतका विरोध होइनौं, तटबन्ध संरचनाका विरोधी पनि होइनौं । अन्तर्राष्ट्रिय सिमारेखा नमिच्नेगरी र दुबैतर्फ जोखिम नहुनेगरी तटबन्ध संरचना निर्माण गर्नुपर्ने स्पष्ट अडान नेपालको हो । वन्दे नेपाल जननी ।