सिमाको मुद्दाबारे दार्चुलाका उम्मेदवारहरुको धारणा कस्तो छ ?

0
35

दार्चुला, फागुन १२ गते ।
चुनावी प्रचारप्रसारका क्रममा दार्चुलाका उम्मेदवारहरुले अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । सिमा अतिक्रमणको विषयमा कुटनीतिक पहल गरी समाधान गर्न आफुले पहलकदमी गर्ने बताएका छन् । सबैजसो उम्मेदवारहरुले यो विषयमा आफ्नो भनाई र प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
अतिक्रमित भूमि क्षेत्रसमेत समेटिएको जिल्लामा उम्मेदवार बनेका प्रायः सबैले यो विषयलाई उच्च प्राथमिकता दिएको देखिन्छ । ‘राष्ट्रिय स्वाभिमानको रक्षा र मिचिएको भूमिमा नेपालको स्वामित्व स्थापना गर्ने लडाइ जारी राख्ने’ नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्नाको पहिलो नम्बरको घोषणा छ । ठगुन्नाले सातवटा विषयलाई घोषणापत्रका मुख्य बुँदाहरु भन्दै सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार धर्मानन्द जोशीले ‘सिमा विवाद कुटनीतिकस्तरमा समाधान गर्न तथा सिमा क्षेत्रमा आवश्यक पूर्वाधार र सेवा विस्तार गर्न आफु सक्रिय रहने’ प्रतिवद्धता गरेका छन् । फागुन ९ गते गोकुलेश्वरमा जिल्लास्तरको प्रतिज्ञापत्र सार्वजनिक गर्दै जोशीले यसबारे उल्लेख गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश सिंह सामन्तले चुनावी प्रचारको क्रममा अभिव्यक्ति सार्वजनिक गर्दै सिमाको विषयमा आफुहरु गम्भीर रहेको बताएका छन् । सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता दिनेक्रममा पनि यी दुबै उम्मेदवारले अतिक्रमित भूमिको विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेश चन्दले सार्वजनिक गरेको जिल्ला केन्द्रीत प्रतिवद्धताहरुमा ‘अतिक्रमित क्षेत्र कुटनीतिक पहल गरी फिर्ता ल्याइने’ उल्लेख छ ।
देशको केन्द्रीय राजनीतिले महत्व दिएर सिमा अतिक्रमणको विषयमा ठोस पहल नगरे पनि दार्चुलाका उम्मेदवारहरुले भने यो विषयलाई महत्व दिएका छन् । स्थानीयस्तरमा नजिकबाट नियालिएको र बारम्बार ठोक्किने मुद्दा भएकोले कुनै पनि उम्मेदवारले सिमा अतिक्रमणको विषयलाई नजरअन्दाज गर्न नसकेको स्थानीयको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here