दार्चुला, वैशाख १४ गते ।
दार्चुला सदरमुकाम खलंगाको गल्फैक्षेत्रमा भारतले बलमिच्याइपूर्वक तटबन्ध निर्माण गरिरहेको विषयमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आपत्ति जनाएका छन् । वैशाख १० गते सार्वजनिक विज्ञप्तिमार्फत खनालले महाकालीमा भइरहेको सिमा अतिक्रमणलाई रोक्न माग गरेका छन् ।
दशकअघिको महाकालीको वाढीले नदीको धार परिवर्तन भएपछि ५० रोपनीभन्दा बढी नेपाली भूमि महाकाली पारि पुगेको छ । उक्त क्षेत्रमा भारतले पक्की तटबन्धको संरचना निर्माण गर्दैछ । स्थानीय प्रशासन र नेपाली पक्षको विरोधलाई वेवास्ता गर्दै तटबन्ध निर्माण भइरहेकोप्रति नेता खनालले आपत्ति जनाएका छन् ।
नेपालको स्थानीय प्रशासनले भारतीय पक्षलाई यसबारे पत्राचार र मोबाइल सम्पर्क गरे पनि तटबन्ध निर्माण रोकिएको छैन । भारतीय प्रशासनले पत्रको जवाफ नै दिएको छैन । मोबाइल सम्पर्कमा कुराकानी गरे पनि नेपाली पक्षको आग्रह बमोजिम तटबन्ध निर्माण रोकिएको छैन ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी दुबैले भारतीय प्रशासनसंग पटकपटक यसबारे सम्पर्क गरेका छन् । तर भारतीय पक्षबाट ‘उचित रिस्पोन्स’ नआएको जिल्ला प्रशासनले जनाएको छ ।
सिमाक्षेत्रको दुइ देशबीचको संयन्त्रबाट यो विषय समाधान हुने नदेखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले यसबारे केन्द्रीयस्तरमा जानकारी गराएको छ । सुरक्षा समितिको बैठकले आवश्यक निर्णय गरेर केन्द्रस्तरमा यसबारे तथ्यगत रिपोर्टिङ गरिसकेको स्रोतले बतायो ।
गृहमन्त्री, गृहसचिव र दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूलाई स्थानीय प्रशासनबाट टेलिफोनबाट मौखिक ब्रिफिङ पनि गरिएको स्रोतको भनाई छ । उच्चतहमा कुटनीतिक पहल गरी एकतर्फी तटबन्ध निर्माण कार्य तत्काल रोक्नुपर्ने जिल्लास्तरको निस्कर्ष छ ।
दुबै देशका प्रशासनिक र प्राविधिक समूहको छलफल तथा स्थलगत निरीक्षण भ्रमणबाट यस विषयमा टुंगो लगाउनुपर्ने निस्कर्ष जिल्लास्तरको छ । तटबन्ध निर्माण गर्ने कार्य तत्काल रोक्न आफुले भारतीय पक्षसंग आग्रह गरेको प्रजिअ पौडेलले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले विज्ञप्ति निकाल्नुअघि दार्चुलाका प्रजिअ पौडेललाई मोबाइल सम्पर्क गरी सिमाक्षेत्रको वास्तविकबारे जानकारी लिएका थिए । ‘उहाँले वस्तुस्थितिको बारेमा जानकारी माग्नुभो, हामीले यहाँकोे अवस्था र हामीले गरिरहेको पहलबारे जानकारी गरायौं’ प्रजिअ पौडेलले भन्नुभयो ।
खनालबाहेक अन्य कुनै पनि नेताले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् । दार्चुलाका प्रजिअ पौडेलले काग्रेस नेता एवं दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूलाई पनि वस्तुस्थितिबारे जानकारी गराएका छन् । प्रदेश, जिल्ला र पालिकास्तरका जनप्रतिनिधिहरुलाई पनि यस विषयबारे स्पष्ट जानकारी छ तर कसैले पनि यसबारे बोलेका छैनन् । राजनीतिक पार्टी, भातृ संगठनहरु र सामाजिक संघसंस्थाहरुको पनि यसबारे ध्यानाकर्षण भएको छैन । तिनवटै तहका पूर्व जनप्रतिनिधिहरु र दलका नेता–कार्यकर्ताहरु पनि यस विषयमा मौन छन् ।
महाकाली नदी किनारको अधिकांश क्षेत्रमा दुबैतर्फ तटबन्ध निर्माण गरिएको छ । नेपालतर्फको तटबन्ध निर्माणपछि भारत सरकारले आफ्नो तर्फको तटबन्ध निर्माणलाई उच्च प्राथमिकता दिदैआएको छ । धारचुला बजार क्षेत्रको ५ किलोमिटरभन्दा लामो नदी तटीय क्षेत्रमा भारतले तटबन्ध निर्माण गर्दैछ ।
नेपाल सरकारले यसअघि नै सदरमुकाम क्षेत्रको झण्डै ५ किलोमिटर लामो नदी तटीय क्षेत्रमा तटबन्ध निर्माण गरिसकेको छ । नेपालले तटबन्ध निर्माण गर्दै अन्तर्राष्ट्रिय सिमारेखा र नदीको पुरानै वहावलाई आधार बनाएको छ । नेपालतर्फ कुनै पनि विन्दुमा सिमारेखा र नदीको वहावलाई छेकेर तटबन्ध निर्माण गरिएको छैन । छिमेकी भारतले भने निर्माण गरिरहेको सबैक्षेत्रमा नदीको वहावक्षेत्रलाई प्रभावित बनाएको छ ।
दशकअघिको वाढीले महाकालीको धार नेपालतर्फ धकेलिएको स्थानमा भारतले अन्तर्राष्ट्रिय सिमा मिचेर तटबन्ध निर्माण गर्दैछ । गल्फैपारिको क्षेत्र, नमस्कार पारिको क्षेत्र, जिप्रका पारिको क्षेत्र, घाटबजार क्षेत्रको पारि र बंगाबगर क्षेत्रको पारि नदीको वहावलाई छेकेर संरचना निर्माण सम्पन्न नै भइसकेको छ । गल्फैक्षेत्रको करिब ३ सय मिटर लामो क्षेत्रमा भने हाल तटबन्ध निर्माण कार्य भइरहेको छ ।