साँघुर्‍याइँदै महाकाली

0
855
भारतीय पक्षले महाकाली नदी किनारमा बनाइरहेको तटबन्ध ।

सम्पादकीय । 

भारत पिथौरागढ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदीको सहायक नदी धौलीगंगा नदीमा बाँध राखेर झण्डै सोह्र वर्षपहिले निर्माण गरिएको जलविद्युत परियोजनाको निर्माणसँगै धारचुला बजार क्षेत्रको महाकाली नदी किनार क्षेत्रमा तटबन्ध निर्माण गरियो । उक्त तटबन्धले भारतीय क्षेत्र धारचुलालाई गरेको सुरक्षा र नेपाललाई गरेको क्षतिको बारेमा आठ वर्ष पहिले महाकाली नदीमा आएको बाढीलाई हेर्ने जो कोहीलाई पनि थाहा छ ।

उक्त तटबन्धले नदीमा आएको बाढीको बहावलाई खलंगाबजरातिर धकेल्यो फलस्वरुप तल्लो बाङ्गाबगड क्षेत्रमा ठूलो क्षति भयो, रिङ्न्ताल क्षेत्र पुरै महाकालीमा विलीन भयो । उक्त समयको बाढीको कारण घौलिगंगा विद्युत परियोजना नै भएको स्वयम् भारतीयहरुले स्वीकार गरेका छन् तर नेपालका भारतभक्तहरु अहिले पनि उक्त परियोजना र भारतीय तटबन्धको सम्बन्ध बाढीसँग जोड्न चाहँदैनन् । ती भारतभक्तहरु तिनै वर्ग हुन् जसले महाकाली नदी किनार क्षेत्रमा भारतले तटबन्ध बनाउँदै गर्दा ‘उसले आफ्नो सुरक्षा गर्‍याे के बिग्रियो ?’ भन्ने गर्दथे । परियोजना बन्दै गर्दा भारततिर बनेको तटबन्धले बाह्र वर्षपछि जुन क्षति गराएको थियोे सोही प्रवृत्ति भारतले अहिले दोहोर्‍याई रहेको छ र भारतभक्तहरु ‘भारतले आफूतिर तटबन्ध बनाउन पाउने’ भन्दै परोक्ष रुपले खलंगा बजारमा पर्न सक्ने सङ्कटलाई निम्त्याउँदै छन् ।

भारतले आफ्नो सुरक्षाका लागि तटबन्ध निर्माण गर्न पाउने हो यसमा कुनै दुई मत छैन तर सवाल सीमा नदीको हो, सवाल नदीको फैलावट साँघुरिन्छ भन्ने हो, सवाल साँघुरिएको महाकालीमा वर्षामा ठूलो पानी आउने हो र त्यो नेपालतिर बनेको तटबन्धभन्दा माथि आएर क्षति गर्छ भन्ने हो । भारतले उसको जमिनमै टाँसेर तटबन्ध निर्माण गर्ने हो भने विरोध आवश्यक नै छैन तर नदीको फैलावट साँघुर्‍याएर तटबन्ध निर्माण गर्ने हो भने त्यो विरोध लायक बन्छ । नदीको फैलावट कम हुँदा नदी सतहको उचाइ बढ्ने तर त्यसले क्षति गर्छ भन्ने सामान्य जानकारी नराखिएको हो वा यो तथ्यलाई अनदेखा गरिएको हो ? भारतले आफ्नो क्षेत्रमा तटबन्ध बनाउन पाउनु पर्ने तर्क आफैमा अनुचित होइन तर वर्षामा महाकालीको पानी कति बढ्छ भन्ने कुरा जानकारी हुनु पर्दछ । नेपालतिर निश्चित उचाइमा तटबन्ध बनिसकेको छ र वर्षामा सोही उचाइसम्म नदीको पानी पुग्दछ । भारतीय तटबन्धले महाकाली नदीको फैलावट कम गर्‍याे  भने नदीको सतह बढ्छ र नदी तटबन्धमाथि उक्लिन्छ । त्यसले नेपालतिर क्षति गर्दछ । भारतले कस्तो खाले, कति उचाइको, नदीलाई कति खुम्च्याएर तटबन्ध बनाउँदै छ भन्ने जानकारी स्थानीय प्रशासनलाई समेत गराएको छैन ।