दार्चुला, असार ११ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ मा दार्चुलाका २७ सडक योजनाहरुमा २५–२५ लाख बजेट विनियोजन गरेको छ । असार १ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमा दार्चुलाभरीका तीन दर्जन सडक योजनामा बजेट राखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय बैतडीबाट कार्यान्वयन हुने सडक योजनाहरुको संख्या ४० छ । तीनटा मोटरपुलसहितका ४० वटै योजनामा कुल २४ करोड बजेट विनियोजन गरिएको छ ।
मार्मा र नौगाड गाउँपालिका जोड्ने तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडकमा सबैभन्दा बढी बजेट राखिएको छ । यो सडकमा ८ करोड ९१ लाख ५० हजार बजेट राखिएको छ । संघीय सरकारबाट प्रदेश सरकारबाट प्राप्त हुने सम्पूरक अनुदानबाट ५ करोड ५६ लाख र प्रदेश सरकारको आन्तरिक आम्दानीबाट ३ करोड ३५ लाख ५० हजार गरी करिब ९ करोड बजेट तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडकमा राखिएको छ ।
प्रदेश गौरवको आयोजनामा राखिएको खलंगा–खार–देथला–पारिबगर–खण्डेश्वरी सडकमा २ करोड ७५ लाख ९७ हजार बजेट छुट्याइएको छ । गोकुलेश्वर–बन्तोली–पनेबाज सडकमा १ करोड ८० लाख रुपैयाँ बजेट राखिएको छ ।
खलंगा–मालुबेला–जाइझुल–बाज–झुस्कु–दल्लेख सडक स्तरोन्नतीमा १ करोड बजेट छ । बाँकी सडकहरुमा १ करोडभन्दा कम बजेट राखिएको छ । खलंगा–श्रीबगड–मलेरा–जोशीगाउँ–बारबाज–फारा–पोक्से–सुतखोला–हिकिला–सिना–सुन्सेरा–व्यास सडकमा ९० लाख बजेट छ । यो जिल्लाभरीमा धेरै वस्तीहरुको नाम समेटिएको सडक हो । पहिलोपटक प्रदेश सरकारले यो सडकमा बजेट विनियोजन गरेको छ ।
थालिगाड–निसिल–पौनेखोला–धुलिगडा सडकमा ७५ लाख, मालिकार्जुन–भगवती–थाप्ला–दत्तु सडकमा ६५ लाख, गोकुले–रातामाटा–लेकम गाउपालिका केन्द्र जोड्ने सडकमा ५० लाख र भर्तोला–जोलजिवी–सेरा सडकमा ५० लाख बजेट छुट्याइएको छ ।
शंकरपुर–जोलजिवि सडकमा ५० लाख, गोकुले–बलाँच–गन्ना सडक आवधिक मर्मत कार्यका लागि भनेर ४९ लाख बजेट राखिएको छ ।
मालिकार्जुन गाउँपालिकाअन्तर्गत मेलखेत–लेट्ठेखोला मोटरेबल पुल निर्माणमा १ करोड, शैल्यशिखर नगरपालिका–२ स्थित देथला–बिटुले खण्डको नौगाड खोला सडक पुलमा २५ लाख र पारिबगर–खण्डेश्वरी सडक खण्डको मकरीगाड सडक पुलमा २५ लाख बजेट विनियोजन गरिएको छ ।
जिल्लाभरीका बाँकी सडकहरुमा २५ लाख रुपैयाँका दरले बजेट राखिएको छ । २५÷२५ लाख बजेट विनियोजन गरिएका सडकहरु यसप्रकार छन् ।
(१) मालिकार्जुन आधारभूत अस्पताल जाने सडक निर्माण मालिकार्जुन गापा, (२) बिटुले–पारिबगर सडक निर्माण मार्मा–२, (३) श्रीपुर–पासादेउ–पन्तपाली–उकु (हंसेश्वर) सडक मालिकार्जुन गापा, (४) देथला बलाच बारिल सडक स्तरोन्नती शैल्यशिखर नपा, (५) देथला बलाँच बिटुले सडक स्तरोन्नती, (६) बल्लेक बगौरा लाली सडक, (७) ऐरीछाना टकना रिठाचौपाता सिरोडा सर्मोली धन्थला सडक, (८) मालिकार्जुन पासादेउ लिम्चि घोरेढुंगा सडक मालिकार्जुन गापा, (९) धाप निसिल बरमुडे सडक, (१०) ढडेखोला लुम्थी सौगन्ना मकरीगाड सडक, (११) सिप्टी होपरी सितोला दैभात घुसा सडक, (१२) तुसारपानी सिना सडक स्तरोन्नती, (१३) टिंकर सडकदेखि दुल्ला सुतखोला सिमार सडक दुहु गापा, (१४) छोला तौकी सडक शैल्यशिखर नपा २, (१५) चौकीबगर मज्जे सितोला होपरी सडक, (१६) धामीगाडा सेलिचामा मौपानी ज्युनाडा खुना सडक, (१७) बारबाज फारा सडक स्तरोन्नती, (१८) लटिनाथ बजानी सडक मार्मा गापा, (१९) फड्के सुत्तने सडक मालिकार्जुन गापा, (२०) पारिबगर गुल्जर सडक स्तरोन्नती, (२१) कुर्जानी गरडा बाकु सडक मालिकार्जुन ६, (२२) गोकुलेश्वर धानाखेती सिम्पाडी सडक शैल्यशिखर नपा, (२३) तपोवन बार्कु सडक मार्मा गापा, (२४) लटिनाथ रिल सार्सी बजानी बैतडी सडक, (२५) देथला नौगाड खार खलंगा सडक ।
(२६) घोरेटो बजारबाट हुती गाउँ ब्रह्ममन्दिर पनखाल हुँदै चन्नकोट जाने सडक व्यास गापामा १२ लाख ५० हजार बजेट राखिएको छ ।