सडक निर्माण गर्ने उम्मेदवारहरुको प्रतिवद्धता पत्याएनन् नागुवासीले

0
18

दार्चुला, फागुन ५ गते ।
दल्लेख–नागु सडक निर्माणको प्रमुख मागसहित चुनाव वहिस्कार घोषणा गरेका नागुक्षेत्रका वासिन्दाले उम्मेदवारहरुको प्रतिवद्धता पत्याएका छैनन् । फागुन ४ गते बेलुकी भएको भर्चुअल बैठकमा स्थानीय संघर्ष समितिका प्रतिनिधिहरुले उम्मेदवारहरुको प्रस्ताव र प्रतिवद्धता अस्वीकार गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रतिनिधिसभाका उम्मेदवारहरु र सरोकारवालाहरुबीच बैठक गरिएको थियो । एक घण्टासम्म चलेको छलफलमा सबैजसो उम्मेदवारहरुले नागु सडक निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।
नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले उम्मेदवारहरुको प्रतिवद्धतामाथि विश्वास नगरेको संघर्ष समितिका संयोजक करन सिंह डडालले बताउनुभयो । ‘यस्ता आश्वासन र प्रतिवद्धताहरु धेरैपटक पाइसकेकोले अहिलेका प्रतिवद्धताहरुमाथि विश्वास गर्न सकिएन’ उहाँले भन्नुभयो ।
भर्चुअल बैठकमा सबैजसो उम्मेदवाहरुले आफुले चुनाव जिते पनि वा हारे पनि नागुको सडक निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरेका थिए । दार्चुलाको चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारहरुलाई बैठकमा जोड्ने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । ‘दुईजना बाहेक सबैजसो उम्मेदवार छलफलमा सहभागी हुनुभयो तर स्थानीयवासी चुनावमा सहभागी हुन सहमत भएनन्’ प्रजिअ पौडेलले भन्नुभयो ।
स्थानीय प्रशासनले सरोकारवालाबीच समन्वय र छलफल गराउने कार्य गरेको प्रजिअ पौडेलको भनाई छ । ‘सम्बन्धित पक्षहरुबीच संवाद र छलफल गराउने हाम्रो कर्तव्य हो, हामीले प्रयास गर्यौं तर सहमति निर्माण भइसकेको छैन’ उहाँले भन्नुभयो ।
नागुक्षेत्र जोड्ने सडक निर्माणलाई चुनाव जित्ने र नजित्ने सबै उम्मेदवारहरुले महत्वका साथ प्राथमिकता दिने प्रस्ताव गरिएको थियो । भर्चुअल बैठकमा बोल्ने सबैजसो उम्मेदवारहरुले सडक निर्माणमा आफ्नोतर्फबाट अधिकतम सक्रियता र योगदान गर्ने बताएका थिए ।
बैठकमा सहभागी संघर्ष समितिका संयोजक डडाल र प्रतिनिधि नरेन्द्रवहादुर बमले सडक निर्माण नहुँदासम्म यस्ता प्रतिवद्धताहरुमा विश्वास गर्न नसकिने बताएका थिए । स्थानीयवासीको निर्णयअनुसार आगामी चुनाव वहिस्कार गर्ने अडानमा संघर्ष समितिका संयोजक र प्रतिनिधि प्रस्तुत भएका छन् ।
नौगाड गाउँपालिकाको दल्लेखदेखि सुण्डमुण्ड हुँदै नागुक्षेत्र जोड्ने सडक हालसम्म साढे ९ किलोमिटर मात्रै निर्माण भएको छ । सुण्डमुण्ड नजिकको पारिमेला गाउँभन्दा अगाडिको क्षेत्रमा सडक निर्माण अलपत्र परेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय बैतडीमार्फत निर्माण गरिरहेको यो सडकमा चालु आर्थिक वर्षमा भने बजेट राखिएको छैन ।
निर्माणाधिन सडकमा बजेट नराखिएको र सडक निर्माण अलपत्र परेको भन्दै नागुक्षेत्रका स्थानीय आक्रोसित भएका छन् । गत माघ १ र १७ गते गाउँमा भेला गर्दै स्थानीयवासीले आसन्न प्रतिनिधिसभा निर्वाचन वहिस्कारको घोषणा गरेका छन् ।
नागुक्षेत्रका स्थानीयले चुनाव वहिस्कारको घोषणा गरेपछि माघ २४ गते प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली नागुक्षेत्र पुगेको थियो । प्रजिअ नेतृत्वको टोलीले दुइ दिनसम्म संवाद र छलफलबाट स्थानीयवासीलाई चुनावमा सहभागी गराउने प्रयास गरेको थियो । उक्त प्रयास सफल नभएपछि उम्मेदवारहरुसंगको संवाद जोडिएको छ ।
फागुन ४ गतेको भर्चुअल बैठकमा मुख्य निर्वाचन अधिकृत भुवन गिरी, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी, वडा नम्बर १ का वडाअध्यक्ष हरिलाल सिंह महता र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here