दार्चुला, असार १२ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सम्पूरक अनुदानबाट प्रदेशभर आठ वटा सडक योजना निर्माण गरिरहेको छ । प्रदेशभर निर्माण भइरहेका आठ सडक योजनामध्ये दार्चुलामा एउटा मात्रै योजना छ ।
दार्चुलाको मार्मा र नौगाड गाउँपालिका जोड्ने तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडक निर्माणाधिन अवस्थामा छ । यो सडकको लम्बाई ३२ किलोमिटर रहेको छ । नयाँ बजेटमा यो सडकका लागि ५ करोड ५६ लाख रुपैयाँ संघीय सम्पूरक अनुदान विनियोजन गरिएको छ ।
बैतडीको सतबाझ–श्रीभावर–हाट–दार्चुला सडक पनि संघीय सम्पूरक अनुदानबाट निर्माण भइरहेको छ । यो सडकमा आर्थिक वर्ष २०८२÷८३ मा ३ करोड ९० लाख संघीय सम्पूरक अनुदान छुट्याइएको छ ।
नयाँ बजेटमा संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई ६० करोड २६ लाख रुपैयाँ सम्पूरक अनुदान विनियोजन गरेको छ । यो बजेटबाट ८ वटा सडक योजना र दुइटा शैक्षिक संस्थाका पूर्वाधार निर्माण हुँदैछन् ।
नयाँ बजेटमा सबैभन्दा बढी अछामको जयगढ–माझठाना–रामारोशन सडकमा १२ करोड ५० लाख र बाजुराको मार्तडी–कोल्टी–पिलिचौर सडकमा १० करोड संघीय सम्पूरक अनुदान राखिएको छ ।
बाजुराको खप्तड–मार्तडी सडकमा ७ करोड ५० लाख संघीय सम्पूरक अनुदान छ । डोटीको सहजपुर–बोगटान–दिपायल सडक, डडेल्धुराको दैजी–जोगबुढा–पोखरा–ढुंगाड सडक र अछामको चिसापानी–जंगलघाट–बडीमालिका सडकमा २ करोड ६० लाखका दरले संघीय सम्पूरक अनुदान राखिएको छ ।
कैलालीको बर्दगोरिया कलेज भवन निर्माणमा ६ करोड ५० लाख र घोडाघोडी सामुदायिक मावि भवन निर्माणमा ६ करोड ५० लाख रुपैयाँ सम्पूरक अनुदान विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को बजेटमा संघीय सरकारले सातवटै प्रदेश सरकारहरुलाई ३ अर्ब २८ करोड ६ लाख रुपैयाँ सम्पूरक अनुदान छुट्याएको छ । योमध्ये सुदूरपश्चिम प्रदेशमा ६० करोड २६ लाख रुपैयाँ रहेको छ ।