व्यास पैदलबाटो निर्माणका लागि पाँच करोड छ लाखमा सम्झौता हुँदै

0
116

दार्चुला, वैशाख ३१ गते ।
व्यासको पैदलबाटो निर्माण सम्झौताका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको छ । व्यास गाउँपालिकाले प्राविधिक र आर्थिक प्रस्तावमा योग्य ठहर भएको मिशन–देवहरि जेभीलाई मंगलवार पत्राचार गरि आमन्त्रण गरेको हो ।
संघीय सरकारको साढे ५ करोड बजेट अनुदानबाट चालू आर्थिक वर्षमा व्यास जोड्ने पैदलबाटो निर्माण गर्न ठेक्का निकालिएको छ । टेण्डर छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुवरले बताउनुभयो ।
गाउँपालिकाले १५ दिनभित्र सम्झौता गरिसक्न निर्माण कम्पनीलाई आग्रह गरेको छ । मिशन–देवहरि जेभीले बाटो निर्माणका लागि ५ करोड ६ लाख ९ हजार ९ सय ९४ रुपैयाँ ३० पैसाको आर्थिक प्रस्ताव पेश गरेकोमा मुल्यांकन समितिबाट खरिद प्रस्ताव स्वीकृत भएको छ । यो भ्याटसहितको रकम हो ।
टेण्डर प्रक्रियामा दुइटा समूहको प्रस्ताव दर्ता भएपनि प्राविधिक मुल्यांकनमा एउटा मात्रै प्रस्ताव पास भएको व्यास गाउँपालिकाले जनाएको छ । प्राविधिक प्रस्तावमा फेल भएको नमस्कार–रिठगडे जेभीले सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिएकोमा समितिले दाबी नपुग्ने भन्दै गाउँपालिकाको पक्षमा निर्णय गरिसकेको छ ।
गाउँपालिकाले छनोट भएको कम्पनीलाई १५ दिनको अवधि दिए पनि एक–दुई दिनभित्रै सम्झौता गरिने तयारी छ । निर्माण कार्यका लागि समय अभाव भएकाले तत्कालै सम्झौता गरी निर्माण कार्य सुरु गर्ने तयारी भइरहेको मिशन–देवहरि जेभीका प्रतिनिधि केशववहादुर पालले बताउनुभयो ।
संघीय सरकारको सशर्त अनुदान भएकोले चालु आर्थिक वर्षभित्र यो बजेट खर्च गरिसक्नुपर्ने बाध्यता छ । सयौं कामदार परिचालन गरेर निर्धारित समयभित्रै बाटो निर्माण कार्य पूरा गर्ने गृहकार्य भइरहेको मिशन–देवहरि जेभीका प्रतिनिधि पालको भनाई छ ।
गाउँपालिकाले कार्यतालिका र गुणस्तर सुनिश्चितताको योजना पनि पेश गर्न भनेको छ । २२ लाख ४० हजार रुपैयाँको बैंक ग्यारेन्टीसहित ठेक्काको सम्झौता गर्न बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here