व्यास पैदलबाटोको सवा करोड बजेट फिर्ता, सवा चार करोडबाट के –कति निर्माण भयो ?

0
128

दार्चुला, कार्तिक २३ गते ।
संघीय सरकारले गत आर्थिक वर्षमा व्यासको पैदलबाटो निर्माणका लागि व्यास गाउँपालिकालाई साढे ५ करोड सशर्त अनुदान उपलब्ध गराएकोमा एक चौथाइ बजेट फिर्ता भएको छ । समय अभावका कारण निर्माण कार्य न्युन भएकोले संघीय सरकारलाई १ करोड २५ लाख ४४ हजार ७ सय ७२ रुपैयाँ फिर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।
असार मसान्तभित्र खर्च गरिसक्ने गरी संघीय सरकारले निकासा दिएको बजेटमध्ये ४ करोड २४ लाख ५५ हजार २ सय २८ रुपैयाँ बाटो निर्माणमा खर्च भएको छ । खर्च भएको रकममध्ये बाटो निर्माणको ठेक्का सम्झौता गरिएको मिशन–देवहरि जेभीलाई ४ करोड १३ लाख ३३ हजार २ सय १ रुपैयाँ भुक्तानी गरिएको छ । बाँकी ११ लाख २२ हजार २७ रुपैयाँ सुचना प्रकाशन, कन्टिन्जेन्सी र अनुगमन लगायतका व्यवस्थापकीय कार्यमा गाउँपालिकाले खर्चेको छ ।
खर्च भएको रकममध्ये जेठ महिनामा ८९ लाख ४० हजार र असार महिनामा ३ करोड ३५ लाख १५ हजार २ सय २८ रुपैयाँ खर्च भएको अभिलेख छ । बाटो निर्माणका लागि गत जेठ १० गते व्यास गाउँपालिका र मिशन–देवहरि जेभीबीच ठेक्का सम्झौता गरिएको थियो ।
असार २४ गते निर्माण कम्पनीलाई सशर्त अनुदानको अन्तिम किस्ता भुक्तानी गरिएको गाउँपालिकाका लेखाप्रमुख गोपाल सिंह विष्टले बताउनुभयो । गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतले व्यहोर्नेगरी बाटो निर्माणको म्याद भने मंसिर १५ गतेसम्मका लागि थप गरेको थियो ।
थपिएको म्यादभित्र बाटो निर्माण कार्य सम्पन्न हुनेगरी अहिले पैदलबाटोमा निर्माण कार्य भइरहेको मिशन–देवहरि जेभीका प्रतिनिधि केशववहादुर पालले बताउनुभयो ।
सवा ४ करोडबाट के के काम भयो ?
संघीय सरकारको सशर्त अनुदानबाट गत असार महिनासम्म ८५ प्रतिशत भौतिक कार्य सम्पन्न गरिएको गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीबाट सम्पन्न भएका सबै कार्यहरुको अभिलेखीकरण गरिएको सव–इन्जिनियर जगतसिंह डडालले बताउनुभयो ।
ठेक्का सम्झौताअनुसार निर्धारित परिमाणका सबैजसो क्रियाकलापहरु गरिएका छन् । प्राविधिक शाखाको अभिलेखअनुसार जाली भर्ने कार्य, मेसिनरी पर्खाल निर्माण कार्य, प्लम्ब कंक्रिट कार्य र आरसिसि निर्माण कार्य शतप्रतिशत सम्पन्न गरिएका छन् । जाली भर्ने कार्य ८ सय घनमिटर, मेसिनरी पर्खाल ६ सय ३८ घनमिटर, प्लम्ब कंक्रिट ४ सय ५० घनमिटर र आरसिसि निर्माण ६५ घनमिटर गर्नुपर्ने ठेक्का सम्झौता थियो ।
माटो खन्ने कार्य १ हजार १६ घनमिटर रहेकोमा असार मसान्तसम्म ३ सय ८८ घनमिटर मात्रै सम्पन्न भएको छ । ६ सय २८ घनमिटर माटो खन्ने कार्य बाँकी छ । ढुंगा विछ्याउने कार्य ३ सय घनमिटर गर्नुपर्नेमा असारसम्म १ सय ५६ घनमिटर मात्रै सम्पन्न भएको छ ।
नरम चट्टान काट्ने कार्य १ सय ४० घनमिटर तोकिएकोमा ९८ घनमिटर सम्पन्न भएको छ । यसैगरी १ सय ९२ घनमिटर कडा चट्टान काट्ने कार्य निर्धारण गरिएकोमा असारसम्म ४८ घनमिटर मात्रै सम्पन्न गरिएको छ ।
सुख्खा ढुंगाको पर्खाल निर्माण कार्य १ हजार २२ घनमिटर निर्माण गर्नुपर्नेमा असारसम्म ५ सय ८१ घनमिटर सम्पन्न भएको छ । निर्माण कार्यमा करिब ४५ क्वीन्टल फलामे छडको प्रयोग गर्ने लक्ष्य रहेकोमा निर्धारित परिमाणमा छडको प्रयोग गरिएको सव–इन्जिनियर डडालले बताउनुभयो ।
बाटो निर्माण कार्यअन्तर्गत व्यास गाउँपालिकाको वडा नम्बर २ को थिईभीरमा भिरालो र कडा चट्टानमा बनाइएको आरसिसि कंक्रिटसहितको बाटोले चर्चा पाएको छ । पैदलबाटो निर्माण गर्ने र बाटो हेर्न तथा हिडडुल गर्ने सबैले थिइभीरको पहरामा बनाइएको बाटोको चर्चा गरेका छन् । धेरैले त्यसक्षेत्रको फोटो र जोखिमपूर्ण निर्माण कार्यको भिडियो सामाजिक सञ्जालमा शेयर पनि गरेका छन् ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुदेखि वडा नम्बर २ को दुम्लिङसम्मको ३० किलोमिटर लामो पैदलबाटो सञ्चालनमा ल्याउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारबाट बजेट उपलब्ध गराएका थिए । व्यास गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत अपिखोलामा काठेपुल निर्माण गरिएको छ भने अपिखोलाभन्दा तलतिरको चट्टानी भूभागमा पर्खाल र सिढि निर्माण गरी बाटो खुलाइएको छ । बुदी, गिरगिसे, पोला, दोपाखे, बयली र घाटिबगर क्षेत्रमा पनि बाटो निर्माण गरिएको छ ।
जेठ र असार महिनामा निर्माण गरिएको बाटो वर्षातमा भत्किएपछि हाल केही स्थानमा बाटो मर्मत कार्य भइरहेको छ । असोज तेस्रो सातादेखि ४० जना कामदारसहितको टीम बाटो निर्माणमा परिचालन गरिएको मिशन–देवहरि जेभीले जनाएको छ । दोपाखे, बयली र तम्बाकु क्षेत्रमा हाल बाटो निर्माणको कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here