व्यास पैदलबाटोको ठेक्का प्रक्रिया विवादमा

0
306
जोखिमपुर्ण बाटोमा जादै जनगणना टोली ,फोटोः खगेन्द्र कार्की

दार्चुला, वैशाख १५ गते ।
संघीय सरकारको शशर्त अनुदान प्राप्त भए पनि व्यासको पैैदलबाटो निर्माणको ठेक्का विवादमा परेको छ । व्यास गाउँपालिकामार्फत बाटो निर्माणको टेण्डर खोलिएकोमा निर्माण कम्पनी छनोट प्रक्रिया विवादित बनेको हो ।
पैदलबाटो निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चाँसो राखेर संघीय सरकारबाट साढे ५ करोड रुपैयाँ बजेट निकासा गरेका थिए । गाउँपालिकाले सुरुमा उपभोक्ता समितिमार्फत बाटो निर्माण कार्य गर्न खोजेको थियो । तर सार्वजनिक खरिद ऐन, नियमावलीको प्रावधानअनुसार १ करोडभन्दा बढी लागतको निर्माण कार्य ठेक्का प्रक्रियाबाट मात्र गराउनुपर्ने भएकाले फागुन १२ गते टेण्डर निकालिएको थियो ।
गाउँपालिकाको टेण्डर प्रक्रियामा दुइटा कम्पनीले प्रतिस्पर्धा गरेका छन् । टेण्डर प्रक्रियाअन्तर्गत चैत्र तेस्रो साता प्राविधिक मुल्यांकन गरिएको थियो । प्राविधिक मूल्यांकनमा प्रतिस्पर्धामा रहेका दुइमध्ये एउटा कम्पनीको मात्रै प्रस्ताव पास भएको छ । प्राविधिक मुल्यांकनमा नमस्कार निर्माण सेवा र रिठगडे निर्माण सेवाको संयुक्त प्रस्ताव (जेभी) अयोग्य ठहरिएपछि ठेक्का प्रक्रिया विवादमा परेको छ ।
पाँचभन्दा बढी ठेक्का सम्झौतामा संलग्न रहेको देखाउदै गाउँपालिकाको ठेक्का मुल्यांकन समितिले नमस्कार र रिठगडे निर्माण सेवाको प्रस्ताव अयोग्य ठहर्याएको थियो । आफुहरुमाथि अन्याय परेको भन्दै नमस्कार निर्माण सेवा र रिठगडे निर्माण सेवाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी हालेका छन् ।
हाल आफ्नो निर्माण कम्पनीसंग ३ वटा मात्रै ठेक्का सम्झौताहरु चालू रहेको नमस्कार निर्माण सेवाका प्रोपाइटर सर्पराज बडूले बताउनुभयो । आफ्नो ठेक्का प्रस्तावलाई अयोग्य ठहर्याएकोले छानविनका लागि उजुरी गरेको उहाँको भनाई छ ।
गाउँपालिकाको ठेक्का मुल्यांकन समितिले भने अभिलेख र दस्तावेजका आधारमा नमस्कार निर्माण सेवा र रिठगडे निर्माण सेवाको संयुक्त प्रस्ताव अयोग्य ठहरिएको जनाएको छ । उक्त ठेक्का प्रक्रियामा देवहरि निर्माण सेवा र मिशन कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिको संयुक्त प्रस्ताव पास भएको छ । प्राविधिक मुल्यांकनमा एउटा मात्रै प्रस्ताव पास भएपछि आर्थिक प्रस्ताव मुल्यांकनको तयारी थियो । तर प्राविधिक मुल्यांकनबाट हटाइएको टीमले उजुरी गरेपछि आर्थिक प्रस्ताव मुल्यांकन कार्य रोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले उजुरीको छानविन गरिरहेको छ । दुई हप्ताअघि नै उजुरी गरिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियाका सबै कागजपत्र झिकाएर छानविन गरिरहेको छ । गत हप्तानै खरिद अनुगमन कार्यालयबाट ठेक्काको टुंगो लाग्ने अनुमान थियो तर आइतवारसम्म यसबारे कुनै टुंगो लागेको छैन ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियाबारे अध्ययन गरिरहेकोले उक्त कार्यालयबाट यसबारे टुंगो लागेपछि मात्रै थप कार्य अघि बढ्ने व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको निर्णयका आधारमा हामी अघि बढ्छौ, हाललाई ठेक्का प्रक्रिया अघि बढेको छैन’ उहाँले भन्नुभयो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुबै प्रस्ताव प्राविधिक मुल्यांकनका लागि योग्य ठहर्याउने वा गाउँपालिकाको मुल्यांकन समितिको निर्णयलाई सदर गर्नसक्ने दुबै विकल्प छ । त्यसका साथै ठेक्का प्रक्रिया थप कुनै कैफियत देखिएमा प्रक्रिया नै रद्द हुने सम्भावना पनि हुनसक्ने बताइन्छ ।
दु्रतगतिमा पैदलबाटो निर्माण गर्न भनेर ल्याइएको बजेटले बाटो बन्नु त टाढाको कुरा ठेक्का प्रक्रिया नै महिनौसम्म लम्बिएको छ । फागुन र चैत्र महिनामा बाटो निर्माण कार्य सम्पन्न गरेर वैशाखमा व्यासको कुञ्चा नेपालबाटै हिडाउने सोचका साथ व्यासको बाटोमा बजेट ल्याइएको थियो । तर वैशाखको मध्यतिर व्यासको कुञ्चा भारतीय बाटो भएर जाँदैछ भने बाटो निर्माणको ठेक्का विवादमा रुमल्लिएको छ ।
ठेक्का प्रक्रिया केही दिनभित्रै टुंगो लाग्नसकेमा यो आर्थिक वर्षभित्रै बाटो निर्माण कार्यमा उपलब्धि हुनसक्ने सम्भावना पनि छ । ‘हामीसंग अझै दुइ महिनाको समय छ, तत्कालै ठेक्का प्रक्रिया पूरा भएर सम्झौता हुनसकेमा बाटो निर्माणको कार्य गराउन सकिन्छ । हामीले सोचेको समयमा बाटो निर्माण हुन सकेन तर बर्खाअघि नै बाटो खुलाउन भने सकिन्छ’ व्यास गाउँपालिकाका सव इन्जिनियर जगत सिंह डडालले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here